Comments Add Comment

प्रचण्डलाई माधव नेपाल समूहको प्रस्ताव : महाधिवेशनसम्म सहकार्य गरौं

७ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को माधवकुमार नेपाल पक्षले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दीर्घकालीन सहकार्यको प्रस्ताव राखेको छ ।

आगामी मंसिरमा महाधिवेशन गरेर एकल अध्यक्ष बनाउने प्रधाननमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली ओलीको प्रस्तावको काउन्टरमा नेपाल पक्षले दीर्घकालीन सहकार्यको प्रस्ताव अघि सारेको हो । ओलीसँग सहमति गर्दै प्रचण्ड महाधिवेशनबाट अध्यक्ष बनिहाल्छन् भन्ने नभएको समेत उसले बताएको छ ।

ओलीलाई रोजेर एक पद लिन दिऊँ

नेकपामा ओलीमाथि प्रधानमन्त्री पद छाड्नुपर्ने दबाब छ । तर ओली अध्यक्ष र प्रधानमन्त्री दुबै पद नछाड्ने अडानमा छन् । बरु आगामी मंसिरमा महाधिवेशन गरेर अध्यक्ष बनाउने प्रस्तावमा प्रचण्डलाई मनाउने ओलीको प्रयास छ ।

तर माधव नेपाल समूहका नेताहरुले भने प्रधानमन्त्री ओलीले आफूमाथि परेको संकट टार्न मात्र मंसिरमा महाधिवेशनको प्रस्ताव अघि सारेको बताएका छन् । महाधिवेशनको मिति तोक्ने अधिकार केन्द्रीय कमिटीलाई मात्र भएको र गत माघमा बसेको केन्द्रीय कमिटी बैठकले २०७७ चैतमा गर्ने निर्णय गरेको भन्दै एक नेताले भने, ‘चैतमा त महाधिवेशन गर्न गाह्रो हुने अवस्थामा मंसिरको प्रस्ताव आफूमाथि आएको संकट टार्ने थापेको बल्छी मात्र हो । त्यसमा प्रचण्ड कमरेड र सचिवालयका कोको पर्नुहुन्छ थाहा छैन ।’

तर मंसिरमा महाधिवेशन गर्न सम्भव नभएको नेपाल समूहका नेताहरुले बताएका छन् ।

त्यसैले ओलीले अध्यक्ष वा प्रधानमन्त्री मध्ये एक पद छाड्नुको विकल्प नभएको बताएका छन् । ‘हामी कसैलाई पेलेर तेल निकाल्ने र कसैलाई थाप्लोमा राख्ने पक्षमा छैनौं’ एक नेता भन्छन्, ‘त्यसैले केपी कमरेडलाई रोजेर एक पद छान्न दिऊँ । प्रधानमन्त्री रोज्नुभयो भने अर्को अध्यक्षले पार्टी चलाउनुस्, अध्यक्ष रोज्नुभयो भने अर्को अध्यक्ष (प्रचण्ड)ले सरकार चलाउनुस् ।’

बल प्रचण्डको कोर्टमा छ

एक पद छाड्न ओली सहमत नभए पार्टी स्थायी कमिटीले निकास दिनुपर्ने माधव नेपाल पक्षका नेताहरु बताउँछन् ।

उनीहरुको आसय ओली सहमतिमा नआए बहुमतका आधारमा भए पनि निर्णय गर्नुपर्ने एक नेताले बताए । ‘अरु अल्पमतमा पर्दा चाहिँ बहुमतको निर्णय मान्नुपर्ने, अनि अमुक नेता पर्दा चाहिँ पार्टी फुट्ने हुन्छ ?’ नेपाल समूहका एक नेताले भने, ‘पार्टीलाई विद्धि र पद्धतिमा चलाउनुपर्छ । र, यसो गर्न तयार हुनुभयो भने प्रचण्डलाई महाधिवेशन र त्यसपछि पनि हाम्रो साथ रहन्छ ।’

त्यसो भएमा आगामी महाधिवेशनमा पनि सहमतिका आधारमा जान नेताहरुले बताए । तपाईहरु प्रचण्डलाई महाधिवेशनबाट अध्यक्ष बनाउन पनि तयार हुनु भएको हो भन्ने प्रश्नमा नेपाल निकट एक नेताले भने, ‘यसबारे अहिले केही भनेका छैनौं । बेला आएपछि यस विषयमा छलफल गरौंला ।’ त्यसबेला प्रधानमन्त्री, पार्टी अध्यक्ष लगायतको पदहरु बाँडफाँट हुनसक्ने उनले बताए ।

यसरी अगाडि बढ्ने नबन्ने बल प्रचण्डको कोर्टमा रहेको माधव नेपाल समूहले बताएको छ ।

एकता महाधिवेशन सहमतिकै आधारमा गर्ने भनिएको छ । यदि प्रचण्ड आफूसँग अलग भएर ओलीतिर मिल्न गए के हुन्छ भन्ने प्रश्नमा नेपाल निकट एक नेताले भने, ‘महाधिवेशन सहमतिमा पनि हुनसन्छ, प्रतिस्पर्धा पनि हुनसक्छ ।’

यसको संकेत ओली र प्रचण्ड मिलेर महाधिवेशनमा गए माधव समूह प्रतिस्पर्धामा उत्रन सक्छ भन्ने हो । तर नेताहरुले यसबारे केही बताउन चाहेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment