Comments Add Comment

भरतपुर अस्पतालको शव गृह सुधार गरियो

७ साउन, चितवन । भरतपुर अस्पतालको अति दुर्गन्धित बनेको शव गृहलाई व्यवस्थित बनाइएको छ । दुई-तीन सय मिटरसम्म दुर्गन्ध फैलिन थालेपछि शव गृहलाई व्यवस्थित गरिएको अस्पतालका पोस्टमार्टम चिकित्सक डा. सुजन अधिकारीले जानकारी दिए ।

शव गृहका बिग्रिएका तीनवटा फ्रिजको मर्मत गरी चलाउन थालिएको डा. अधिकारीले बताए ।

‘पहिला फ्रिज पनि चल्दैनथे, बेवारिसे ३/४ वटा शव कुँहिएर हड्डी मात्रै थिए, त्यसले पनि दुर्गन्ध फैलाएको थियो, पोस्टमार्टम गर्ने सामान पनि पाइदैनथ्यो,’ डा. अधिकारीले भने ।

डा.अधिकारीका अनुसार अहिले सबै फि्रज चलेका छन् । सरसफाइ र रंगरोगन गरेर चिटिक्क पारिएको छ । १० वर्षदेखि राखिएका र कुँहिएका भिसेरासमेत नस्ट गरिएको छ ।

शव गृह मर्मतका लागि दुई लाख ५० हजार खर्च भएको डा. अधिकारीको भनाइ छ ।

वर्षौंसम्म बेवारिसे लाश राख्दा समस्या हुँदै आएको डा. अधिकारीले बताए । ‘पटकपटकको गुनासो र संर्घषपछि शव गृहको व्यवस्थापनमा सुधार गर्न सक्यौं,’ डा. अधिकारीले भने ।

बेवारिसे लासको व्यवस्थापनको जिम्मा भरतपुर महानगरपालिकाले गर्दै आएको छ । अहिले पनि तीनवटा बेवारिसे लास शव गृहमा छन् । एक महिनामा पाँचदेखि सातवटासम्म बेवारिसे शव आउने गरेको छ ।

शव घरको ३ वटा फ्रिजमा १५ वटासम्म शव राख्न मिल्छ । सवारी दुर्घटनासमेत धेरै हुने तथा विभिन्न अस्पतालमा मृत्यु भएका बिरामीहरुको समेत शव ल्याउने गर्दा चाप निकै बढ्ने गरेको डा. अधिकारीले बताए ।

अस्पतालले चौविस घण्टासम्म राखेको शवको रकम लिदैँन । त्यसपछि भने दैनिक ६ सय रुपैयाँ लिने गरिएको छ ।

अहिले अस्पतालमा दैनिक ३ वटासम्म शवको पोस्टमार्टम हुने गरेको छ । डा. अधिकारीसहित अर्का एक चिकित्सक सरोज धरेलले पनि पोस्टमार्टम गर्दै आएका छन् ।

अस्पतालमा फरेन्सिक विज्ञको दरबन्दी खाली छ । तर, सरकारले कसैलाई पनि पठाएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment