Comments Add Comment

एकान्तवासका अनुभूति किताबमा

चितवन । चितवनका पत्रकार विनोदबाबु रिजालले कोरोना भाइरसका कारण गरिएको लकडाउनका अनुभूति संगालेर ‘एकान्तवास’ नामक पुस्तक प्रकाशनमा ल्याएका छन् । पुस्तकको एक कार्यक्रमका बीच नारायणगढमा वरिष्ठ साहित्यकार गोविन्दराज विनोदीसँगै लेखककी आमा पदमकुमारी रिजाल, सासूआमा गौरीदेवी बस्ताकोटी र पत्नी कल्पना बस्ताकोटीले लोकार्पण गरे ।

यो विनोदबाबुको पहिलो कृति हो । पुस्तक कोरोना भाइरस (कोभिड–१९) को महामारी नियन्त्रण गर्न गरिएको लकडाउनको सेरोफेरोमा लेखिएको हो । साहित्यकार विनोदीले लकडाउनलाई विनोदबाबुले सदुपयोग गरेको बताए । ‘असहज परिस्थितिलाई सदुपयोग गर्नुभएको छ, यो कृति पठनीय छ’, उनले भने, ‘न्युज, भ्युजको समिश्रण छ ।’

कृतिको समीक्षा गर्दै साहित्यकार बालकृष्ण थपलियाले चैत ८ देखि असार १ गतेसम्मका मुख्य घटनाक्रम, तथ्यांक र अनुभूतिलाई रोचक ढंगले समावेश गरिएको बताए । सधैँ समाचार लेखिरहने पत्रकारले हरेक दिनका मुख्य घटनाकै प्रभाव समेटेको चर्चा थपलियाले गरे । ‘कोरोना नियन्त्रण र रोकथामका लागि  भएका पहल पनि समेटिएका छन्’, उनले थप भने, ‘समाचार मात्रै होइन, अनुभव पनि पोखेका छन्, यो कृति भावी पुस्ताका लागि दस्ताबेज पनि हो ।’

साहित्यकार एलबी क्षेत्रीले एकान्तवासको असह्य पीडा भोगे पनि मिठो कृति ल्याएकोमा खुसी व्यक्त गरे । साहित्यकार केदार खनालले समाजका लागि एकान्तवास कृति दस्ताबेजका रुपमा रहने बताए ।

समीक्षक उदय अधिकारीले लकडाउनलाई भावी पुस्ताले सहजै बुझ्ने भाषामा उतारेको चित्रण गरे । नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडाले कृति सबैखाले पाठकका लागि पठनीय बन्नेमा विश्वास व्यक्त गरे ।

लेखक रिजालले अविष्मरणीय लकडाउनको सम्झनाको संगालो भएको बताए । उनले भने, ‘गहिरो कल्पनामा डुबेर लेखिएको किताब होइन, कोरोना त्रास र लकडाउनको कालो दिनलाई सम्झने प्रयास गरेको हुँ ।’ लकडाउन अवधिमा अर्थतन्त्र र सामाजिक जीवनमा पारेका प्रभावलाई एकीकृत गरी पुस्तकको आकार दिएको उनले बताए । कृतिमा लकडाउन अवधिमा भएका राजनीतिक उतारचढाव, प्रधानमन्त्रीका अभिव्यक्तिहरु, नयाँ नक्सा जारी, संक्रमितको बढ्दो प्रभावलगायतका घटना समेटिएका छन् ।

कृति युरेका पब्लिकेसनले प्रकाशन गरेको हो । रिजालले डायरीलाई ७८ मूल शीर्षकमा लेखेका छन् । २ सय ७६ पृष्ठ रहेको पुस्तकको मूल्य ३७५ रुपैयाँ राखिएको छ । कृतिमा ३ लामा कविता पनि छन् । पत्रकार रिजाल कायाकैरन दैनिकका सम्पादक हुन् । उनी १६ वर्षदेखि चितवन जिल्लामा रहेर पत्रकारितामा क्रियाशील उनले व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका छन् । धादिङको वेनिघाट रोराङ–१० का रिजाल हाल भरतपुर–१० मा बस्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment