Comments Add Comment

लुम्बिनीको सभा तथा ध्यान हल निर्माण अन्तिम चरणमा

असोज मसान्तसम्म म्याद थप

८ साउन, बुटवल । बुद्ध जन्मस्थल लुम्बिनीमा ‘अन्तर्राष्ट्रिय बुद्धिस्ट सभा तथा ध्यान हल’ निर्माण अन्तिम चरणमा पुगेको छ ।

२०७६ असारसम्म सक्ने लक्ष्य राखिएको सभाहलको काम निर्धारित समयमा नसकिएपछि ठेक्काको अवधि २०७७ असोजसम्म थप गरिएको छ ।

यो सभाहल लुम्बिनी गुरुयोजनामा थिएन । तर प्रधानमन्त्री केपी शर्मा ओलीको घोषणा अनुसार पाँच हजार जना क्षमताको सभा हल निर्माणको योजना बनेको थियो ।

२५६२ औं बुद्ध जयन्तीको अवसरमा २०७५ वैशाख १८ गते राष्ट्रपति विद्यादेवी भण्डारीले शिलान्यास गरेकी थिइन् । सभा हलसहितका संरचनाहरु बनाउन अनक–अर्घाखाँची–बाबुल जेभी सिद्धार्थनगरले ३१ करोड ७९ लाख रुपैयाँमा ठेक्का पाएको थियो ।

यहाँ सभाहल मात्रै ३८६.८८ वर्गमिटरको बन्दैछ । पहिलो चरणमा सभा हल, दुई वटा शौचालय र कन्ट्रोल रुम बन्ने छन् । पहिलो चरणको काम अझै १० प्रतिशत बाँकी रहेकाले ठेक्काको म्याद असोज मसान्तसम्म थप गरिएको लुम्बिनी विकास कोषले जनाएको छ ।

लकडाउनको अवधिमा पनि ५० भन्दा बढी मजदुरमार्फत काम भएको कोषका कायम मुकायम सदस्य सचिव ज्ञानिन राईले बताए । उनका अनुसार हालसम्म सभा हलको भुईदेखि छानोसम्मको काम सकिएको छ भने फल्स सिलिङ र अन्य फिनिसिङका काम बाँकी छ ।

‘विभागीय मन्त्रीको विशेष चासो अनुसार लकडाउन अवधिमा पनि काम भएको छ’ राईले भने, ‘अब केही निर्माण सामग्री चीनबाट ल्याएपछि असोज मसान्तसम्म पहिलो चरणको काम सम्पन्न हुन्छ ।’

३८ हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको सभाहलको छानो ५० एमएमको ईपीएस स्याण्डवीच प्यानलको ट्रसबाट बनेको छ । सभाहलको उचाई १२.३३ मिटरदेखि २०.४९ मिटरसम्म छ ।

भुई र पिल्लरहरुमा ढलानपछि मोजाइक प्रयोग गरिएको छ । ‘यो सभा हलको विशेषता नौलो डिजाइन र आवश्यकताअनुसार अटोमेटिक पार्टेसन गर्न सकिने प्रविधि हो’ कोषका वरिष्ठ इन्जिनियर सरोज भट्टराईले भने, ‘हललाई आवश्यकता अनुसार सानो–ठूलो बनाउन सकिन्छ ।’

दक्षिण एशियाकै नमूना र फरक शैलीमा स्टिल र फलामको प्रयोगबाट सभा हल डिजाइन गरिएको कोषले बताएको छ ।

कोरियन गुम्बा शैलीको गोलाकार छानो र छानोको बाहिर केन्द्र भागमा बुद्धका दुईवटा आँखा (स्वयम्भूका दुई आँखा) को आकृति बनाउने गरी डिजाइन गरिएको छ ।

२०७३ सालको २५६० औं बुद्ध जयन्ती समारोह हावाहुरी र वर्षाले बिथोलिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले समारोहमै लुम्बिनीमा ५ हजार क्षमताको सभाहल निर्माण गर्न लुम्बिनी विकास कोषलाई निर्देशन दिएका थिए ।

त्यसपछि सभाहल निर्माणका लागि परामर्शदाता छनोट, डिजाइन, लागत अनुमान र ठेक्का प्रक्रिया गर्दा प्रधानमन्त्रीको निर्देशनको दुई वर्षपछि शिलान्यास भएको थियो । पहिलो चरणमा सभाहल बन्नेछ ।

दोस्रो चरणमा विशिष्ट पाहुनाका लागि प्रतीक्षा कक्ष, कम्पाउण्ड वाल, ल्याण्ड स्केप, पार्किङ, विद्युतीकरण, बुद्ध मुर्तिसहितको आकर्षक वाटर फाउन्टेन, सौन्दर्यीकरण, दुई शौचालय भवन, लगायतका जनरल सिभिल वर्कका काम गर्ने योजना छ । आउँदो बुद्ध जयन्तीअघि सम्पन्न गर्ने लक्ष्य रहेको यो कामका लागि झण्डै ४० करोड रुपैयाँ लाग्ने अनुमान छ ।

सभाहल तथा ध्यान केन्द्र निर्माणसँगै यो स्थल विश्वभरका बौद्धमार्गीका लागि मात्र नभएर अनुसन्धानकर्ताका लागि पनि आकर्षक गन्तव्य बन्ने कोषका उपाध्यक्ष भिक्षु अवधेश त्रिपाठीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment