Comments Add Comment

अझै पनि लोग्नेको गोडा धोएर पानी खानुपर्छ र भन्या ?

हालसालै गायिका सोफिया थापाको गीत ‘अबको तीज नो ब्रत प्लिज’ले बजारमा नयाँ तरंग ल्याएको छ ।

महिलाले केही पनि नखाई श्रीमानको लामो आयुका लागि व्रत बस्ने र श्रीमानको गोडाको पानी खाने जस्ता प्रवृत्ति विरुद्ध खरो उत्रिएको यस गीतलाई हटाउन विभिन्न दबाब आइसकेपछि युट्युब च्यानल हाइलाइट्स नेपालले गीतलाई ‘प्राइभेट’मा राखेको छ ।

साउन महिनाको सोमबारभरि नै अझ विशेषतः तीज पर्वमा विवाहित महिलाले पतिको दीर्घायुका लागि र अविवाहित महिलाले राम्रो वर पाउनका लागि व्रत बस्ने चलन छ । भगवान् शिवको पूजा आराधना गर्दै साउनमा हरियो रंगको विशेष महत्व भएकाले हरियो चुरा, सारी, पोते र मेहेन्दी लगाउने चलन पनि छ । विवाहित महिलाहरु अझै पनि लोग्नेको गोडाको पानी खाएमा ब्रत फलदायी हुने मान्यता पनि राख्दछन् ।

विशेषत: विवाह गर्दाखेरि ज्वाइँ र छोरीको गोडा धोएर पानी खानुपर्ने चलन छ । करुवाले पानी खन्याएर अलिकति जे छ चलन चल्ती त्यसैलाई रीत पुर्‍याउने मात्र नभएर हातैले गोडा धोएर पानी खाने चलन देख्दा म अचम्मित हुन्छु ।

अनेकथरीका मिथ एवं किंवदन्तीहरु फरक फरक हुन सक्छन् । तर, लोग्नेको सु-स्वास्थ्यका लागि श्रीमतीले भोकै ब्रत पनि बस्नुपर्ने, त्यसमाथि गोडाको पानीसमेत खुवाउन लगाउनु वा आफू खुशी श्रीमतीहरुले खान राजी हुनुले नारीहरु अझै सहेर बस्न चहान्छन् भन्ने कुरा स्पष्ट देखाउँछ ।

हाम्रा चालचलनहरु बद्लिदो समय अनुसार कति व्यवहारिक कति वैज्ञानिक छन् भन्ने कुरा पनि हेरिनुपर्छ । देश, काल, परिस्थिति हेरेर निर्णय गर्न आजका नारीहरु सक्षम छन् । तर, स्वेच्छाले अझै पनि व्रतहरुमा लोग्नेको गोडाको पानी खाने चलनलाई यथावत राखिराख्दा नारी अधिकारको आधार स्तम्भ नै गर्ल्यामगुर्लुम ढल्न सक्छ ।

नि:सन्तान हुँदा, महिनावारी हुँदा, विधवा हुँदा, गर्भवती हुँदा भोग्ने गरेका तमाम सामाजिक भेदभावहरुलाई नारीले अझै सहन गर्न सक्छन् र ? शिक्षित र सभ्य हुँदै गरेका नारी जातीहरु नै स्वयं संस्कृति एवं रीतिरिवाजको फेरो समाएर कहिलेसम्म हेपिन तयार भइराख्ने ? यी प्रश्नहरु मनन हुनुपर्छ ।

छोरीको जात भनेकै काम गर्नका लागि जन्म भएको हुन्छ भन्ने निकृष्ट सोचाइमा आम समाज व्याप्त छ । ‘पढेर के नाप्छेस् ?’ भन्दै गाईभैंसी चराउन, घाँस काट्न, जूठा भाँडा माझ्न मात्र लगाएर छोरीहरुलाई पढाई लेखाइबाट बञ्चित बनाउन गाउँघरका महिलाहरु नै तल्लीन छन् ।

‘बिहे गरेर जाने जातले पढ्न लेख्न होइन,घर गरेर खान सिक्न पर्छ’ भन्दै भेदभावको रीति बसाल्न उनीहरु नै ज्यादा रुचाउँछन् । लोग्ने मानिससरह छोराहरुलाई चाहिँ खाएको थालमा चुठेपछि फुर्सद मिल्ने तर छोरीको जातलाई काम धन्दाबाट फुर्सदै नमिल्ने बढो अचम्मको छ समाज ।

महिलाहरु नै स्वयं छोरीलाई आफूजस्तै पीडाहरु सहन सक्ने बनाउन खोज्नुले र ज्ञानगुनका कुरा सिक्न भन्दा बढी घरायसी कार्यमा अभ्यस्त राख्न खोज्नुले पनि गम्भीर प्रश्न खडा गर्दछ । छोरी मान्छेले नै सबै सहनुपर्छ भन्ने आदतको विकासक्रम पितृसत्तात्मक सोच र समाजको अक्सर बनोटबाट सञ्चालित छ । तर विडम्बना यसलाई छोरी भएर जन्मिनु परेको दुखी किस्मत वा अभागी पुर्पुरोसँग जोडेर नारीहरु नै स्वयं हेपिनका लागि तयार भइराख्नु र दासत्व समान पितृसत्तामाथि समर्पण भइराख्नुले पनि गतिलो सन्देश भने दिँदैन ।

श्रीमानको गोडा धोएर होइन, गोडाको चालमा सँगै चाल मिलाएर चल्न सिक्नुपर्छ । अब व्रत आफ्नै सु-स्वास्थ्यका लागिसमेत बस्न थाल्नुपर्छ ।

केही समय अगाडि तापसी पनु र पावेल गुलाटीको मुख्य भूमिका रहेको हिन्दी फिल्म ‘थप्पड’ले बहुत चर्चा बटुल्यो ।निर्देशक अनुभव सिन्हाद्वारा घरेलु हिंसाको विषयलाई लिएर बनाइएको उक्त फिल्मले अभिमान युक्त लोग्नेमानिसको जग नै मज्जाले हल्लाइदियो ।

फिल्ममा पतिले पत्नीलाई एक थप्पड हानेपछिको आधारलाई खडा गराएर पत्नीले सम्बन्धबिच्छेदको लागि निवेदन दिएसम्मको यात्रालाई बढो रुचिकर ढंगले चित्रण गरिएको छ । नारीको छुट्टै आयामलाई महत्वपूर्ण स्थान दिएर हिरो समान भूमिकामा राखिएको यो फिल्मले नेपाली परिवेश पनि ठ्याक्कै उतार्न सकेको छ ।

सबै कुराहरु ठिकठाक चलिरहेको हुन्छ घर परिवार,आचरण, व्यवहार र कमाई धन्दा । तर, एउटा पारिवारिक जमघटमा बिना कुनै कारण झगडा छुट्याउने निहुँमा तापसीले पावेलको हातबाट थप्पड खाएपछि फरक मोड लिन्छ चलचित्रले ।

यो अवस्थाको मानसिकताबाट गुज्रिँदासमेत उनका पिताबाहेक अरु सबै नातेदारले पति-पत्नीको झगडालाई ठूलो रुप बनाउन नहुने र नारीले सहनु नै पर्छ भन्ने सान्त्वना प्रकट गरिरहँदा समेत थाहा हुन्छ नारीको अवस्था कति धर्मराउँदो छ भनेर । घटनाभन्दा अगाडि तापसीले घर गृहस्थी बसाउन गरेका त्याग, तपस्या र समर्पणलाई उनको प्रेम भन्दा बढी कमजोरीका रुपमा पावेलले बुझेको भान उनलाई त्यस घटनापछि हुन्छ ।

उनको पहिले कुनै इच्छा थिएन, नजर, स्पर्श र चाहानाहरु थिएन, थिए त केवल सबै पावेल अर्थात पतिकै इच्छाका आधारहरुमा समर्पित थिए । जब हिंसारुपी थप्पड तापसीले बेहोर्छिन् । तब पावेलसँग प्रेम गरिरहन सक्दिनन् वा भनुँ माइतैमा सानैदेखि नारी सहनशील हुनुपर्छ भनेर उनलाई पढाइएको पाठमा ठूलो ठेस लाग्छ । र यो क्रमलाई तत्काल ब्रेक गर्न र चेतनाको स्तर बढाउन तापसीले जरुरी ठान्दछिन् । चाहे घर टुटोस् वा सम्बन्ध बिग्रियोस् वा समाजले नै कुरा काटोस्, तापसीले पत्नीको भूमिकामा रहेर देखाएको यो आँटबाट भने धेरै शिक्षा लिन सकिन्छ ।

समाजमा अक्सर उपन्यासको पात्र जस्तै सम्भावनाको कहानी भोग्दै बस्छन् छोरी मान्छेहरु । ‘नारीका सपनाहरु केही होइनन् । उस्ले खान, पिउन, मोज गर्न पाउनुहुँदैन । उ सधैं पुरुषको अधिनस्त हुनु पर्छ, जतिसुकै आत्मसम्मानमा ठेस लागेपनि सहनुपर्छ। महत्वपूर्ण जमघटहरुमा नारीको उपस्थिति नभएपनि हुन्छ । नारीले ठूलो काम गर्दैमा त्यसका लागि नाक फुलाउने अधिकार उसमा रहदैन । नारीहरु पुरुष भन्दा बुद्धिमान हुदैनन् । भावनात्मक हुन्छन् अनि पिन्चे हुन्छन् ।घ रको शासनसत्ता हातमा लिन सक्दैनन् । सोझा हुन्छन् । दुःख सहन सक्छन् । पीडा झेल्न सक्छन् । सागरजस्तै हृदयमा भरिन सक्छन् । क्षणभरमै पोखिन सक्छन् । नारीहरु फूल जस्तै हुन्छन्-अरु कै ईसारामा फक्रिन्छन्-ओइलिन्छन् ।’

यस्तै यस्तै पुरुषवादी सोच र आत्मप्रदर्शनका महात्म्यले गर्दा नारीहरु सहनकारी साधन भन्दा केही होइनन् भन्ने झल्को पितृसत्ताको मानसिकतामा पसेको छ ।यो पक्ष केलाउदा,नारी सधै पुरुष कै छातीमा हमेशा लम्पसार पर्नुपर्छ र एकचोटी विवाह भइसकेपछि दुनियाँको मुख टाल्नसमेत भए पनि सुख दुःख जे जे सहेर भए पनि घर गरेरै खानु पर्छ भन्नेमा छोरी जन्माउने आमाहरु नै एक ढिक्का छन् ।

छोरीको घर बिग्रिएको र छरछिमेकले कुरा काटेको सहन नसक्ने आमाहरु दिनहुँ छोरीमाथी भएको घरेलु हिंसालाई भने ‘यस्तै त हो नि’ भन्दै व्यर्थैको सहानुभूति र आफ्ना पुराना उदाहरणहरु पस्किन्छन् । अनन्तः वेदना र पीडाबाट पार लगाउने भन्दा पनि सहानुभूतिका चाङ लाएर नारीजातीको लेखिएको भनिएको दुःख पाउने कर्मलाई नै दोष दिएर उम्कन चाहन्छन् ।

हाम्रै समाजका कतिपय प्रथाहरु जस्तै दाइजो प्रथा, छाउपढी प्रथा, सती प्रथा, देउकी प्रथा, बादी प्रथा, तिलक प्रथा, कुमारी प्रथाहरु हेर्दासमेत नारीलाई किनबेच र उपयोग गर्ने साधनका रुपमा मात्र हेरिएको छ । समाजको सदियौं देखिको अभिप्राय नै पुरुषलाई हमेशा बचाउने र नारीलाई दोष लगाएर आफ्नो सत्ता स्थापना गरिराख्नेमा केन्द्रित छ । जुन कुकृत्य दण्ड दिएर वा उपदेश सुनाएर मात्र सुल्झाउन सकिदैन । जुन अनन्त कालबाट यो चलन चल्ती व्यवहारमा लागु भयो, त्यही कालदेखि आजसम्मको अवधिलाई हेर्ने हो भने नारी आफैले जागरण ल्याएर र खोसेर आफ्नो अधिकार स्थापित नगर्ने हो भने यो स्थितिको संक्रमण अझै भयावह हुने देखिन्छ ।

शिक्षित भनिएका र अशिक्षित वर्ग दुवैमा परिवेश अनुकूलका नारीमाथिको ज्यादती र दलन कायम छन् । गाउँघरमा भकारो सोहोर्न लाउनु, ढिकी जाँतो पिँध्न लाउनु, पटुका कसेर पँधेरोबाट पानी ओसार्न लाउनुदेखि तल्लो स्तरका भनिएका कार्यहरु नारीमाथि थोपर्नु र आफू वेद पुराण पढेर बस्नुलाई मात्र भेदभाव मान्न सकिन्न । अब त शहरमा पति सोफामा बसेर पत्रिका पढिरहदा पत्नीले पसिना चुहाएर घरका कुना काप्चामा कुचो लगाएको दृश्यलाई समेत भेदभाव जन्य मान्न सकिन्छ ।

सधैं शंकाको दृष्टिले पुरुषमाथि नै दोषारोपण गरिराख्नु पनि त्यति जायज नहोला । तर, मूर्तिजस्तै सहनशील भएर नारीजातिले आफ्नो चलिआएको पहिचान व्यक्त गरिरहनुपर्छ भन्ने तर्कबाट भने आजैबाट मुक्त हुनुपर्छ ।

देशले महिला राष्ट्रपति पायो भनेर गर्व गर्दैमा हुँदैन । समानताको आवाज बुलन्द पार्नु पर्नेबेलामा लोग्नेको गोडा धोएर नारीहरुले आफ्नो मनोकामना पूरा हुने चाहना राख्नु भनेको मानवीय मूल्यहरुलाई नै खिल्ली उडाउनु हो ।

छोरीको फस्ट डिभिजनमा नाक खुम्च्याउने र छोराको तेस्रो डिभिजनमा ‘वाहवाह’ गर्ने पद्धति समाजमा रहुन्जेल सम्म समेत छोरीमान्छेलाई पखेटा उमार्ने जोस आउँदैन । घिस्रिएरै बाच्ने, सहरै बस्ने, निमुखो भएरै बस्ने आदतको सिकार सानैबाट बनाइन्छ ।

तर, एउटा चरणमा पुगिसकेपछि यो पद्धति विरुद्धको संघर्ष नारीले आफैले थाल्नुपर्छ र आफ्ना पुस्ताहरुमा सहेर होइन लडेर त्यो पनि नभए खोसेर अधिकारसम्पन्न भएर बाच्न सिकाउनुपर्छ ।

श्रीमानको गोडा धोएर होइन, गोडाको चालमा सँगै चाल मिलाएर चल्न सिक्नुपर्छ । अब व्रत आफ्नै सु-स्वास्थ्यका लागिसमेत बस्न थाल्नुपर्छ । गायिका सोफियाले गीतमा अलि तीतो नै बोलिन् होला, तर एकचोटि सबै नारीले आत्मसमीक्षा गरौं न ।  धर्मको अस्तित्व संकटमा नपारौं । तर, महादेव पति पाउन पार्वतीले उ बेलामा गरेका अनवरत व्रत र तपस्याहरु आजको युगमा आवश्यक छ त ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment