Comments Add Comment

धार्मिकस्थलको जग्गा अतिक्रमण यकिन गर्न निर्देशन

फाइल तस्वीर

८ साउन, काठमाडौं । प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले देशभरका धार्मिक स्थलहरुको जग्गा अतिक्रमण यकिन गर्न सरकारलाई निर्देशन दिएको छ ।

बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई र पुरातत्व विभागका अधिकारीसँग छलफल गरी समितिले पशुपतिनाथ, चाँगुनारायण, लुम्बिनी, जानकी मन्दिर लगायतका धार्मिक स्थलको जग्गा अतिक्रमण भएको वा नभएको यकिन गर्न निर्देशन दिएको हो ।

अतिक्रमण भएको पाइए सम्बन्धित निकायको जिम्मा लगाउने काम गर्न पनि निर्देशन दिइएको छ ।

समितिले पुरातात्विक महत्वका सम्पदाहरुको संरक्षणसम्बन्धी गुरुयोजना बनाएर काम गर्न पनि निर्देशन दिएको छ ।

पर्यटनमन्त्री भट्टराई र पुरातत्व विभागका प्रतिनिधिहरुसंग छलफल गरी समितिले पुरातात्विक महत्वका सम्पदा, प्राचीन स्मारक र अभिलेखहरुको संरक्षणमा खोज–अनुसन्धान गरी गुरुयोजना निर्माण गर्न पनि निर्देशन दिएको छ ।

त्यस्तो गुरुयोजना निर्माणमा पुरातत्व विभागको संलग्नता अनिवार्य गर्दै संयुक्त राष्ट्रसंघीय शैक्षिक, सांस्कृतिक तथा वैज्ञानिक केन्द्र (युनेस्को)को मापदण्डभित्र रही काम गर्न भनिएको छ ।

परम्परागत सीप र कलालाई नयाँ पुस्तामा हस्तान्तरण गर्न विद्यालय र विश्वविद्यालयको पाठ्यक्रम विकास गर्दै कालीगढ र कलाकार उत्पादन कार्य योजना बनाउन पनि समतिले निर्देश गरेको छ ।

पशुपति क्षेत्रको गुरुयोजनाका सम्बन्धमा सरोकारवालाहरुसँग आवश्यक छलफल गरी राष्ट्रिय हित हुने गरी निर्णय गर्न पनि समितिले निर्देशन दिइएको छ ।

बैठकमा संस्कृति पर्यटनमन्त्री योगेश भट्टराईले पशुपति क्षेत्रको गुरुयोजना मन्त्रपरिषदमा पुगेको जानकारी दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment