Comments Add Comment

‘अब फ्रेस स्टार्ट गरेर रिजल्ट देखाउन सकुँ’

९ साउन काठमाडौं । लकडाउन अन्त्य भएसँगै नेपाली खेलकुद क्षेत्र चलायमान हुने प्रयासमा छ । सरकारले भदौ १ गतेदेखि अन्तराष्ट्रिय खेलका प्रशिक्षण र प्रारम्भीक चरणका खेल गर्न अनुमति दिएको छ ।

केही खेलाडीले भने अहिले पनि व्यक्तिगत रुपमा अभ्यास गर्दै आएका छन् । राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्ल, पारस खड्का, युवा स्टार सन्दीप लामिछाने लगायतका क्रिकेटरले त्रिवि क्रिकेट मैदान, कीर्तिपुरस्थित इण्डोर हलमा प्रशिक्षण गर्दै आएका छन् ।

अलराउण्डर खड्काले अब कसरी प्रशिक्षण सुरु गर्ने भन्ने नेपाल क्रिकेट संघ क्यानले निर्णय गर्ने बताउँछन् । ‘क्यान आइसकेको छ । आईसीसीसँग क्यानले कसरी सहकार्य गर्छ, म्याचहरु हुन्छ कि हुँदैन भन्ने हेर्नुपर्छ’ खड्काले भने, ‘सायद भदौ १ बाट प्रशिक्षण हुन्छ होला ।’

यद्यपि सबैभन्दा महत्वपूर्ण खेलाडीहरुको स्वास्थ्य सुरक्षा भएकाले सुरक्षित भएर प्रशिक्षण गर्नुपर्ने उनले बताए ।

पूर्वकप्तान समेत रहेका खड्काले नेपाली क्रिकेट र खेलाडीहरु सामू नयाँ ढंगले अगाडि बढ्ने अवसर समेत हुनसक्ने बताउँछन् । ‘कहिलेकाहीँ फ्रेस स्टार्ट गर्न पाउँदा अझै राम्रो हुनसक्छ’ उनले भने, ‘जसरी होस्, नयाँ ढंगबाट प्रशिक्षण सुरु गर्ने गरी अघि बढ्नुपर्छ । केही राम्रो होला भन्ने सोचका साथ अघि बढ्नुपर्छ ।’

नेपाल क्रिकेट संघ (क्यान) का एक पदाधिकारीकाअनुसार भदौ १ देखि बन्द प्रशिक्षण सुरु गर्न सम्भव छैन । तर राजधानी बाहिर रहेका खेलाडीहरुलाई ल्याएर कोरोना परीक्षण गर्ने र इण्डोर अभ्यास थाल्ने तयारी छ ।

अलराउण्डर पारस पनि तत्काल बन्द प्रशिक्षण सुरु गरिहाल्न गाह्रो हुने स्वीकार गर्छन् ।

तर भर्खरै इंग्ल्याण्ड र वेष्ट इन्डिजबीच टेष्ट सिरिज भएको स्मरण गर्दै उनले आईसीसीले एसोसिएट राष्ट्रका लागि कस्तो निर्णय गर्छ त्यसमा भर पर्ने बताए । ‘आईसीसीले एसोसिएट राष्ट्रहरुलाई के भन्छ, कस्तो गाइडलाइन्स बनाउँछ । सरकारले कस्तो गाइडलाइन्स ल्याउँछ, त्यो पनि हेर्नुपर्छ’ उनले भने, ‘प्रशिक्षण थाल्दा सबै ध्यान दिनुपर्छ ।’

झण्डै डेढ दशकदेखि निरन्तर क्रिकेट खेलिरहेका पारसले पहिलो पटक यसरी बसेको बताए । ‘यति लामो ब्रेक त अहिलेसम्म गर्नुपरेको थिएन’ पारसले भने ‘सुरुवाती दिनमा केही गाह्रो भयो । तर समय बित्दै जाँदा ठीकै भयो । आगामी दिनमा कसरी अघि बढ्ने भनेर गेमबारे सोच्ने टाइम भयो । सायद अरुले पनि त्यसरी नै सोचेका होलान् ।’

उनले अघि भने, ‘अब फ्रेस स्टार्ट गरेर फिल्डमा रिजल्ट देखाउन सकुँ भन्ने छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment