Comments Add Comment
संस्मरण :

कहिल्यै नलुटिएको भर्सेलिज दरबार

६ अक्टोबर २०१९, बिहान साढे नौ बजे हाम्रो बस भर्सेलिज प्यालेस अगाडिको बस स्टेन्डमा रोकियो । बाहिर सिमसिम पानी परिरहेको थियो । पानीका कारण भर्सेलिजको घुमाइ प्रभावित हुन्छ कि भन्ने भयले मन थोरै चाउरिएको थियो । छाता निकालेर सबै ओर्लियौं ।

बिहानै स्टेन्डमा बसहरू खचाखच भइसकेको थियो । गेटबाहिर मान्छेहरू छाता र एफिल टावरका सोभेनियर बेच्न छाता ओढेर बसेका थिए । छाता नहुने साथीहरूले छाता किनेर पानी छेक्ने काम गरे ।

गेटबाट छिर्नासाथ हाम्रो पाइला भर्सेलिजको विशाल प्राङ्गणमा पर्यो । हामीभन्दा पहिला नै सयौं मान्छे लाइनमा बसिसकेका रहेछन् । मान्छेहरूको चाप हेर्दा टिकट काट्नै दुई तीन घण्टा लाग्ने छाँटकाँट देखियो । तैपनि भर्सेलिज हेर्ने भोकले जित्यो ।

ढुङ्गा छापिएको विशाल प्रांगणमा एउटै छाता ओढेर श्रीमती अञ्जुलीसँग धेरैबेर भर्सेलिजकै बारेमा कुराकानी भइरह्यो । मैले बुझेको भर्सेलिजको इतिहास बताएँ, उनी दंग परिन् ।

नेपाली साथीहरू पानीका कारण फोटो खिच्न नपाएकोमा खिन्न देखिन्थे । हामी केही जोडी भने पानीमा रुझ्दै भए पनि दुईचार स्न्याप दबाउदै थियौं । मौसम हेर्दा दिनभर उघ्रेलाजस्तो नलागेकोले म पनि थोरै चिन्तित थिएँ ।

‘सोझाका साथी दैव हुन्छ’ भनेझै हाम्रो पीडा इन्द्रले सुनेछन् क्यार, लाइन बसेको केही घण्टामा भर्सेलिजको आकाश उघ्रियो । दरबारमा प्रवेश पाउनुपूर्व नै आकाश खुलेर घमाइलो बनेपछि हाम्रो मन पनि आकाशजस्तै खुल्यो । प्रांगणबाटै दरबार आउने गरी फोटो खिच्ने सिलसिला सुरु भयो ।

सधैं जवान बन्ने हो भने धेरैभन्दा धेरै फोटो खिच्नु भन्ने उक्तिलाई सम्झँदै बढीभन्दा बढी फोटो खिच्न सबैलाई उक्साएँ । बुढो नहुने भनेको फोटोमा नै त हो । फोटैमा त रहिरहन्छ सधैंभरि जस्ताको त्यस्तै जवानी ।

प्राङ्गणबाट विशाल भर्सेलिज दरबार हेर्दै लुई चौधौंदेखि नेपोलियन बोनापार्टसम्मलाई सम्झेँ । प्रथम विश्वयुद्धपछि जर्मनीलाई अपाङ्ग बनाउने गरी गरिएको सन् १९१९ को भर्सेलिजको सन्धिलाई सम्झेँ । युरोपको इतिहासको एउटा भौतिक साक्षीको अगाडि उभिन पाउँदा मन उडेर इतिहासको कुना–कुनामा पुग्यो ।

वास्तवमा यही दरबारमा भएको थियो प्रथम विश्वयुद्धको इतिश्री । यही दरबारमा गरेका थिए बेलायत, अमेरिका, फ्रान्स, रुसलगायतका विजेता राष्ट्रहरूले पराजित जर्मनीको सर्वस्वहरण । यही दरबारको सन्धिले खोसेको थियो जर्मनीसँग उसको भूभाग । सबै मिलेर तोकेको थियो जर्मनीको ढाड भाँच्ने एकतर्फी जरिवाना, खुम्च्याइएको थियो जर्मन सेनाको आकार । कतै आक्रमण गर्न नपाउने गरी लंगडो बनाइदिएको थियो जर्मन सेनालाई । यही दरबारमा बसेर धुरी राष्ट्रहरूले गरेको जर्मनीको अपमानले नै उदय भएको थियो हिटलरजस्तो तानाशाहको । जसले त्यही भर्सेलिजको अपमानको बदला लिन दोश्रो विश्वयुद्धको आगो सल्काए र करोडौं मानिसलाई डढाए । यी घटनाहरूलाई सम्झँदा मन तरंगित भयो ।

धेरैबेरको लाइन यात्रापछि टिकट मिल्यो । हामी दरबारको मूल गेटबाट छिर्यौं । भित्र भर्सेलिजको विशाल र विराट स्वरूप देखेर मन अत्तालियो । एक दिनमा घुमेर, हेरेर सक्ने ठाउँ थिएन भर्सेलिज । भ्याएसम्मका ठाउँहरू हेर्ने हतारोमा छिर्यौं दरबारभित्र ।

आँगन, चोक, कोठा, भर्याङ जताततै मान्छेहरूको घुइँचो थियो । शैक्षिक भ्रमणमा आउने युरोपियन विद्यार्थीको भिड देखिन्थ्यो । मूल ढोकाबाट भित्र पसेदेखि भित्ता, सिलिङ, भर्याङ, कोठा जे हेर्यो त्यही कलात्मक थियो । केको मात्र बयान गर्नु, के–के पो उल्लेख गर्नु, के–के मात्र फोटो खिच्नु । जे देख्यो त्यही खिचुँखिचुँ लाग्ने, जे देख्यो त्यही हेरुँहेरुँ लाग्ने ।बाहिरबाट हेर्दा नै दरबारको कलात्मकता अतुलनीय देखिन्थ्यो ।

भित्र र बाहिरको भव्यताले तत्कालीन फ्रान्सेली राजाहरूको विलासिताको बयान गरिरहेको थियो । शासनका मामलामा जतिसुकै निरंकुश रहे पनि कला–संस्कृति जोगाउने सवालमा ती राजाहरूको उदार स्वभावलाई सलाम नगरिरहन सकिएन । जसले यस्ता अनुपम दरबारहरू निर्माण गरेर नयाँ पुस्तालाई सुम्पिए । जसलाई हेर्न संसारभरबाट मान्छेका हुल ओइरिरहन्छन् ।

हरेक वर्ष ८० लाख मान्छेले भर्सेलिज दरबार भ्रमण गर्दा रहेछन् । सुन्दै पनि अत्यासलाग्दो सत्य, देशैभरि वर्षमा दश लाख पर्यटक आउँदा एकदमै धेरै ठान्ने नेपाली मानसिकताका लागि यो संख्या एउटा आश्चर्य नै थियो ।

दरबार घुम्ने क्रममा जब ‘हल अफ मिरर’मा प्रवेश गरियो, आँखाहरू तिर्मिराए । एकैछिनका लागि ढुकढुकी रोकियो । दुई सय फिटभन्दा लामो अत्यन्त वैभवशाली यो कक्षको सजावट आश्चर्यजनक लाग्थ्यो । सिलिङमा बहुमूल्य क्रिष्टलका विशाल झुमरहरू झुण्डिरहेका थिए । भित्तामा कलात्मक ऐना र मूर्तिहरूको सजावटले हलको सौन्दर्य अतुलनीय देखिन्थ्यो ।

सिलिङमा तत्कालीन फ्रान्सको चित्रकलाको अनुपम नमुना देख्न सकिन्थ्यो । यही हल अफ मिररमा फ्रान्सेली राजाहरू आफ्ना राजकीय पाहुनाहरूलाई स्वागत गर्थे । हामी तत्कालीन फ्रेन्च राजाहरूको सम्पन्नता र विलासिताको सजीव प्रमाण हल अफ मिररभित्र उभिएका थियौं । यसको ऐतिहासिकताले राजा लुई चौधौंको सम्झना गराइरहेको थियो ।

युरोपको इतिहासमा सबैभन्दा बढी समय अर्थात् ७२ वर्ष राज्य गर्ने राजा लुई चौधौंको निरंकुशताका बारेमा पढिएकै हो । उनले ‘आई एम द स्टेट’ भनेर विश्वलाई चकित पारेका थिए । निरंकुश शासन भए पनि यिनले आफ्नो शासनकालमा फ्रान्सलाई युरोपको महान् शक्तिको रूपमा खडा गरिदिएका थिए ।

आफ्नो हित नै राष्ट्रको हित ठान्ने यी शक्तिशाली राजाले राजनीतिक रूपले मात्र होइन कला, साहित्य र संस्कृतिको जगेर्नामा पनि अभूतपूर्व योगदान पुर्याएको प्रमाणहरू फ्रान्सको इतिहासमा प्रशस्तै भेटिन्छ । यसैको एउटा ज्वलन्त उदाहरण थियो– भर्सेलिज दरबार ।

यता हेर्यो उता छुट्ने, उता हेर्दा यता छुट्ने । एक दिनमा भर्सेलिज दरबार पूरा घुम्नु भनेको दिवास्वप्नजस्तै रहेछ

यिनकै सोचको उपज थियो– भर्सेलिज दरबार । यिनकै परिकल्पना रहेछ ‘हल अफ मिरर’ । सन् १६२३ मा आफ्ना पिता लुई तेह्रौंले दुई तले हन्टिङ लजको रूपमा निर्माण सुरु गरेको स्थानमा यिनले यति विशाल, कलात्मक र भव्य दरबार बनाएर राजपरिवारलाई पेरिसबाट भर्सेलिज सारेका रहेछन् ।

भर्सेलिज निर्माणले मात्र यिनको चित्त बुझेन । भर्सेलिजलाई संसारकै सुन्दर र अद्भूत बनाउने सुरमा यिनले महान् फ्रेन्च आर्टिस्ट चाल्र्र्सले ब्रुनलाई हल अफ मिररको सिलिङमा आर्ट गर्ने जिम्मा दिए । उनले आफ्नो बीस वर्षे शासनकालमा फ्रान्सले प्राप्त गरेका सफलताहरूलाई चित्रमा उतार्न लगाएका थिए । भर्सेलिज डुलिरहँदा लुई चौधौं जतिसुकै निरंकुश र क्रूर भए पनि उनले देखाएको साहित्य, कला र संस्कृति प्रेमप्रति नतमस्तक नभई रहन सकिएन ।

दरबारको पश्चिमतर्फको आठ सय हेक्टर जग्गामा लुई चौधौंले बनाएको गार्डेन अफ भर्सेलिजको विशालता र सुन्दरताको कुरा गरिसाध्यै छैन । यस्तो गार्डेनको परिकल्पना गरेर लुई चौधौं सदासदाका लागि अमर बन्न पुगे ।

यस आलेखमा गार्डेन अफ भर्सेलिजको सविस्तार वर्णन गर्नु सम्भव छैन । कहाँबाट सुरु गर्ने ? के–के मात्र उल्लेख गर्ने ? गार्डेनको बीच भागमा पन्ध्र सय मिटर लामो त ग्रेण्ड केनल नै छ । ४० वर्ष त यो गार्डेन बनाउनै लागेको थियो । गार्डेनमा चार सयभन्दा बढी प्रसिद्ध मूर्तिकारहरूबाट निर्मित मूर्तिहरू नै छन् ।

फ्रान्सका विभिन्न भागबाट ल्याइएका अनेकथरीका बोटबिरुवा र फलफूलका बोटहरू फरक–फरक ठाउँमा लगाइएको छ । ठाउँठाउँमा बनेको मनमोहक वाटर फल, गोलाकार फाउन्टेन र फाउन्टेनका बीचबीचमा निर्मित अद्भूत मूर्तिहरू गार्डेनको शोभा बनेका छन् ।

गार्डेन अफ भर्सेलिजलाई चामत्कारिक बनाउने यस्ता धेरै चिज छन् । यहाँ आइपुग्दा जो कसैले आफूलाई भाग्यमानी ठान्छन् । धरतीमा एक टुक्रा स्वर्गको अनुभव गर्छन् । भर्सेलिज दरबार र गार्डेन अफ भर्सेलिज निर्माण गरी फ्रान्सको कला, संस्कृति र इतिहासलाई संसारभर चिनाउन लुई चौधौंले लगाएको गुण सायद फ्रान्सेली जनताले युगौंयुगसम्म सम्झिरहनेछन् ।

एक छेउमा गार्डेन हेरेर धित मर्ने कुरा थिएन, समय कम थियो । यता हेर्यो उता छुट्ने, उता हेर्दा यता छुट्ने । एक दिनमा भर्सेलिज दरबार पूरा घुम्नु भनेको दिवास्वप्नजस्तै रहेछ ।

२३०० भन्दा बढी आश्चर्यजनक कोठा, ६००० भन्दा बढी पेन्टिङ, ३०० भन्दा बढी मूर्ति, चित्रकला र मूर्तिकलाको असाधारण संग्रहालय भर्सेलिज दरबारलाई सम्पूर्ण रूपमा अवलोकन गर्न हप्ता÷दश दिनमा पनि गाह्रो रहेछ । हामीलाई भने पाँच÷छ घण्टामा सबै हेर्नु थियो । त्यसैले हामी बाख्रा चरेजस्तो जता जे देख्यो त्यतैत्यतै कुदिरहेका थियौं । मूर्ति देखे मूर्ति हेथ्र्यौं, चित्र देखे चित्र ।

म केहीबेर अडिएको भनेको नेपोलियन र लुई चौधौंको मूर्ति अगाडि मात्र हो । किनकिन यी दुईका अगाडि बसेर फोटो खिच्न मन लाग्यो र एक÷दुई क्लिक पार्न लगाएँ । अन्यमा डाँडाबाट फाँटको बाली हेरेजस्तै सरसर्ती हेरेरै धित मारियो ।

हेर्दै जाँदा अन्य केही ठाउँमा नरोकिई धरै पाइएन । वार रुमभित्र छिर्दा अर्कै संसारमा पुगे जस्तो भयो । अत्यन्त विशाल त्यो कक्षको दायाँ बायाँ भित्तामा भित्ता भरिभरिको ठूलाठूला आकर्षक चित्रकलाहरूले सजिएको थियो । दि ग्यालेरी अफ ग्रेट ब्याटल्स नाम दिइएको सो कक्ष भर्सेलिज दरबारको सबैभन्दा ठूलो कक्ष रहेछ । भित्ता, सिलिङ, जताततै मनमोहक चित्रहरू कोरिएका थिए । प्रत्येक चित्रले फ्रान्सेली वीरताको इतिहास बताइरहेको थियो साथमा फ्रान्सले जितेका युद्दहरूको चित्रात्मक अभिलेख पनि ।

सन् १८३३ देखि १८३७ सम्म चार वर्ष लगाएर राजा फिलिपेले निर्माण गर्न लगाएको वार रुमले फ्रान्सेली चित्रकलाको अनुपम नमुना प्रस्तुत गरिरहेको थियो । मैले यति विशाल चित्रकला जीवनमा कहिल्यै देखेको थिइन । त्यसैले चित्रकलाको त्यो महासागरमा केहिबेर डुबेँ र फ्रान्सको इतिहासलाई नजिकबाट महसुस गरेँ ।

हामी भर्सेलिज दरबारमा डुलिरहँदा यसको इतिहाससँग पनि जानकार हुँदै थियौं । ठूलै संघर्ष र उतारचढावको विगत बोकेर बसेको यो दरबारसँग पनि घामछायाको जस्तै इतिहास रहेछ । कहिले राजदरबारको शोख र सफाइ त कहिले सुनसान खण्डहरको नियति । लुई चौधौंको शासनकालसम्म राजदरबारको शान बाँचेको यो दरबारले राजतन्त्रको पतनपछि केही वर्ष बन्द नै रहनुपर्यो । राजनीतिक पण्डितहरूले अब भर्सेलिजमा कहिल्यै राजतन्त्र फर्किने छैन भनेर भविष्यवाणी गरे । भर्सेलिजको राजनीतिक तमकझमक सकिएजस्तै भयो ।

१७९३ मा एउटा सानो आर्ट स्कुल र फ्रेन्च चित्रकलाको म्युजियमको रूपमा पर्यटकहरूका लागि बन्द भर्सेलिज खुला गरियो । तर फ्रान्सको राजनीतिमा नेपोलियनको उदय भएपछि उनले भर्सेलिजलाई समर रेसिडेन्टको रूपमा उपयोग गर्न थाले । नेपोलियनको आगमनले भर्सेलिजको आँगनमा फेरि फुल्न थाले फुलहरू । आफ्नो समयभरी नेपोलियनले भर्सेलिजलाई निवास बनाए ।

यसरी शक्तिले लुकामारी खेलिरहने भर्सेलिज दरबारलाई राजा लुई फिलिपेले सत्तामा आएपछि सदासदाका लागि शक्ति केन्द्रको साटो सम्मान केन्द्रमा परिणत गरिदिए । उनले भर्सेलिजलाई कहिल्यै राजदरबार नरहनेगरी फ्रान्सेली इतिहास र कलाको संग्रहालयमा रुपान्तरण गरिदिए । फ्रान्सका लागि योगदान दिने सबै महान् विभूतिहरूको सम्झना कोरिएको राष्ट्रिय म्युजियम बनाइदिए । उनकै योगदानका कारण आज भर्सेलिज फ्रान्सको महत्वपूर्ण ऐतिहासिक सम्पदाको रूपमा जीवित छ ।

युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत यो दरबार विश्वकै रोजाइको गन्तव्य बनेको छ । जहाँ हामी एसियाको कमजोर देशका नागरिकहरू पनि यसको सुन्दरता र ऐतिहासिकताको परख गर्न आइपुगेका छौंं ।

भर्सेलिज दरबार घुमिरहँदा मनमा उठेका धेरै जिज्ञासाहरू मनमै रहे । केही भित्तामा पढेर र केही सोधेर पनि जानकारी लिइयो । दरबारका कोठाहरूको सजावटले तत्कालीन फ्रान्सेली कला प्रदर्शन गरिरहेको थियो भने फ्रान्सेली राजतन्त्रको विलासी गीत पनि गाइरहेको थियो । जति हेरे पनि नअघाउने भएपछि धेरै घुम्नुको मजा पनि हराउँदो रहेछ । घुमाइको अन्त्यतिर यति पुराना चित्रकला र मूर्तिकलालाई सुरक्षित राखेर हामीलाई हेर्ने अवसर मिलाइदिएकोमा सबै फ्रान्सेलीप्रति आभार प्रकट गर्न मन लाग्यो ।

मूल ढोका नजिकै भेटिएका एक वृद्धलाई अभिवादन गरेँ, धन्यवाद दिएँ । मेरो धन्यवादबाट उनी खुसी देखिए अनि नजिकै आएर भर्सेलिजको गुह्य खोले– ‘तपाईंलाई थाहा छ महाशय ! हाम्रो देशमा पटक–पटक ठूला क्रान्तिहरू भए । राजा फालियो, फेरि राजा आए । तर कुनै पनि आन्दोलन र संकटमा यो भर्सेलिज दरबार लुटिएन । यहाँका चित्रहरू च्यातिएन । यहाँका मूर्तिहरू फोरिएन । हाम्रा सबै फ्रान्सेली पुर्खाहरूले भर्सेलिजलाई माया गरे । देशको इतिहास बचाए । त्यसैले आज तपाईं–हामी सबै भर्सेलिजमा छौं ।”

बुढाका कुराले म खुत्रुक्कै भएँ । राष्ट्रनिर्माता पृथ्वी नारायण शाहलाई सामन्ती घोषणा गरी उनका मूर्तिहरू फोर्दै क्रान्ति गर्ने महानायकहरूको देशबाट गएको म बबुरोको दिमागमा ठूलै हलचल मच्चियो । आफ्नो देशका क्रान्तिकारी भनाउँदाहरूको इतिहास मेटाउने दुस्साहसप्रति मनमा घृणा उम्लेर आयो । फ्रान्सेलीहरू देशको इतिहास बचाउन लागेछन्, हामी मेटाउन ।

यात्रामा देशको कुरा सम्झेर आफैँलाई दुःखी बनाउनु पनि उचित थिएन । देशको स्थितिलाई चटक्क बिर्सेर फेरि भर्सेलिजलाई अन्तिम पटक नियालेँ र बस चढेँ । बसले भर्सेलिज छोडे पनि ती बुढाको आवाज कानमा गुन्जिरह्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment