Comments Add Comment

युभेन्ट्स लगातार नवौं पटक च्याम्पियन

१२ साउन, काठमाडौं । युभेन्ट्सले लगातार नवौं पटक इटालियन सिरी एको उपाधि जितेको छ । जारी सिजनअन्तर्गत गएराराति भएको खेलमा साम्पडोरियालाई २-० ले पराजित गर्दै युभेन्टसले दुई खेल अगावै उपाधि पक्का गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा युभेन्टसका लागि क्रिस्टियानो रोनाल्डो र फेडेरिको बर्नार्डसीले एक-एक गोल गरे । पहिलो हाफको इन्जुरी टाइममा रोनाल्डोले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए । ६७औं मिनेटमा बर्नाडेसीले गोल गर्दै युभेन्टसको अग्रता दोब्बर पारे ।

७७औं मिनेटमा मोर्टेन तोर्सबीले रातो कार्ड पाएपछि साम्पडोरिया दश खेलाडीमा झरेको थियो । ८९औं मिनेटमा युभेन्ट्सले पेनाल्टीको अवसर पाएको थियो तर रोनाल्डो गोल गर्न चुके । उनको प्रहार क्रसबारमा लागेर फर्किएको थियो ।

जितपछि ३६ खेलबाट ८३ अंक जोडेको युभेन्टसले दुई खेल अगावै लिग उपाधि पक्का गरेको हो । समान खेलबाट ७६ अंक जोडेको इन्टर दोस्रो स्थानमा छ ।

इम्मोबाइलको ह्याट्रिकमा लाजियोको सहज जित

सिरो इम्मोबाइलले ह्याट्रिक गरेपछि लाजियोले भेरोनालाई ५-१ ले पराजित गरेको छ । एक गोलले पछि परेको स्थिति उल्टाउँदै लाजियोले जित हात पारेको हो । इम्मोबाइलले दुई गोल पेनाल्टीमा गरेका थिए ।

खेलको ३८औं मिनेटमा सोप्यान अमराबातले पेनाल्टीमा गोल गर्दै भेरोनालाई अग्रता दिलाएका थिए । पहिलो हाफको अन्तिममा इम्मोबाइलले पेनाल्टीमा गोल गर्दै खेल बराबरी गरे । दोस्रो हाफमा लाजियोले ४ गोल थप्यो ।

५६औं मिनेटमा सर्जेई मिलिनकोभिच साभिचले गोल गर्दै लजियोलाई २-१ को अग्रता दिलाए । ६३औं जाक्विन कोरेअले लाजियोको तेस्रो गोल गरे । ८४औं मिनेटमा इम्मोबाइलले व्यक्तिगत दोस्रो गोल गरेपछि लाजियोले ४-१ को अग्रता लियो ।  इन्जुरी टाइममा पराप्त पेनाल्टीमा गोल गर्दै इम्मोबाइलले ह्याट्रिक पूरा गरे ।

ह्याट्रिकपछि इम्मोबाइल सिरी ए मा सर्वाधिक गोल गर्नेमा अघि छन् । उनले ३४ गोल गरेका छन् । युभेन्टसका रोनाल्डोले ३१ गोल गरेका छन् ।

युरोपियन गोल्डेन बुटको होडमा रहेको इम्मोबाइलले वायर्न म्युनिखका रोवर्टो लेवान्डवस्कीसँग पनि गोल बराबरी गरेका छन् । लाजियोले अझै सिरी ए मा दुई खेल खेल्न बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment