Comments Add Comment

चक्रपथको दोस्रोखण्ड विस्तारको काम थाल्न ढिलाइ

१२ साउन, काठमाडौं । चक्रपथको कलंकी-महाराजगञ्ज-धोवीखोला खण्ड विस्तारको काम थाल्न ढिलाइ भएको छ । यो खण्डलाई ८ लेनमा  विस्तार चीन सरकारले आफ्नै खर्चमा गर्दैछ ।

कोभिड-१९को महामारीका कारण प्राविधिक तयारीका काम सकाउन चिनियाँ टोली नेपाल आउन पाएको छैन । विभागले पनि सडक विस्तारका लागि गर्नुपर्ने पूर्वतयारी सकाएको छैन ।

सरकारले यो खण्डको सडक सीमा ३१/३१ मिटर कायम गर्न आवश्यक पर्ने जग्गा अधिग्रहणका लागि स्वीकृति प्रदान गरेपनि ‘साइट क्लियर’ पनि भईसकेको छैन । सडक विभागका महानिर्देशक केशवकुमार शर्माका अनुसार कलंकीदेखि गोंगबुसम्मको खण्डमा पर्ने रुख पोल र संरचनाहरु हटाउने काम लगभग सकिएको छ ।

‘एउटा चैत्य र प्राधिकरणका दुई वटा टावरहरु हटाउन बाँकी छ,’ उनले भने,’महानगरपालिका र नेपाल विद्युत प्राधिकरणसँग त्यसलाई हटाउन पहल गरेका छौं, उहाँहरुले बाँकी काम हुन्छ भनिसक्नुभएको छ ।’

गोंगबुको आकाशे पुल पनि हटाउने तयारी गरिएको छ । यी काम सकिएपछि चिनियाँ अधिकारीलाई काम अघि बढाउन औपचारिक आग्रह गर्ने योजना रहेको महानिर्देशक शर्माले बताए । ‘गोंगबुसम्मको साइट खाली भएपछि चीनले काम थाल्छ भन्ने अपेक्षा गरेका छौं, नियमित फ्लाइट सुरु भएपछि चिनियाँ टोली आउँछ र निर्माणको कमा थाल्न सकिन्छ ,’ उनी भन्छन् ।

महाराजगञ्ज अधिग्रहण नै बाँकी

यो सडकखण्ड विस्तारको तयारी हुँदै गर्दा सडक विभागलाई अहिले महाराजगञ्ज चोकका सडक सीमाभित्र पर्ने घर तथा संरचनाहरुहरु पनि हटाउनुपर्ने छ । सडक विस्तारका लागि यहाँ करिब ५० वटा निजी आवासीय तथा ब्यापारिक भवनहरु भत्काउनुपर्ने अवस्था छ । त्यसका लागि मूल्यांकन प्रक्रिया अघि बढेको शर्माले बताए । यसमा करिब २ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।सर्वोच्च अदालतले २०७४ को असोजमा आवासको हकको ब्याख्या गर्दै सडक सीमाभित्र रहेका सर्वसाधारणको सम्पत्तिमा यत्तिकै डोजर चलाउन नमिल्ने फैसला गरेको थियो ।

फैसलाअनुसार सरकारले सडक विस्तार गर्न चाहे पहिले मुआब्जा बाँड्नुपर्छ । नागरिकलाई अर्को स्थानमा आवासको ग्यारेन्टी गर्नुपर्छ । फैसलाअनुसार सरकारले सडक विस्तारका लागि नापजाँच गर्न फिल्डमा जानुअघि नै मुआब्जा तोकिसक्नुपर्छ ।

फैसलामा सार्वजनिक सडक ऐनअनुसार ‘जग्गा प्राप्त गरेपछि मात्र सडक सीमा तोक्न’ भनिएको छ । सरोकारवालासँग वार्ता गरेर मुआब्जा विवाद मिलाउन सर्वोच्चले भनेको छ ।

डिजाइन फाइनल हुन बाँकी

यो खण्डको डिजाइन चीनले गरिरहेको छ । तर, फाइनल डिजाइन बनाएर विभागसँग छलफल सुरु भएको छैन । चीनले दिएको डिजाइन स्वीकृत भएपछि चिनियाँ ठेकदार कम्पनी फिल्डमा आउनेछ ।

यो परियोजनामा चीनले नै कम्पनी छनोट गरेर नेपाल पठाउनेछ । हालसम्म चक्रपथको डिजाइन पनि नआईसकेको र आएपछि उपयुक्त परिमार्जनसहित पारित गरेर काम अघि बढाइने महानिर्देशक शर्माले बताए । यसअघि कलंकी-कोटेश्वर खण्डमा डिजाइनमा भएको त्रुटि यसमा नदोहोराउने विभागले बताउँदै आएको छ ।

अहिले चीन सरकारले कलंकीदेखि महाराजगञ्जसम्म मात्रै सडक विस्तारको प्रस्ताव गरेको छ । तर, नेपालले भने त्यसलाई गोपीकृष्णको धोबीखोलासम्म लम्याउन अनुरोध गरेको छ । यसबारे चीनले के गर्ने भन्ने औपचारिक जानकारी गराएको छैन । धोबीखोलासम्म काम भए दोस्रो चरणमा चक्रपथको ११.६ किलोमिटर खण्ड विस्तार हुनेछ ।

विभागले तिलगंगादेखि धोबीखोलासम्मको धार्मिक तथा पुरातात्विक पशुपति क्षेत्रभित्र पर्ने चक्रपथको खण्ड कसरी विस्तार गर्ने भन्ने योजना बनाइसकेको छैन । तिलगंगादेखि कोटेश्वरसम्म विभाग आफैंले विस्तारको काम गर्न लागेको छ ।

सरकारले तिलगंगादेखि तीनकुनेसम्मको खण्ड आफैंले विस्तार गर्न योजना बनाएको छ । त्यसका लागि विभाग आफैंले डिजाइन गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment