Comments Add Comment

सामान्य विवादमा ढुंगाले हानेर वृद्धाको हत्या, किशोर पक्राउ

१२ साउन, गोरखा । जिल्लाको शहीद लखन गाउँपालिका–३ मनकामनामा एक किशोरले ढुंगाले हिर्काउँदा वृद्धाको मृत्यु भएको छ ।

खेतमा पानी लगाएर फर्किएकी ७२ वर्षीया कृष्णकुमारी आलेलाई गत बिहीबार सामान्य विवादमा स्थानीय एक १७ वर्षका किशोरले ढुंगाले टाउकोमा हिर्काउँदा मृत्यु भएको प्रहरीले जनाएको छ । किशोरलाई आइतबार गाउँलेको सहयोगमा मनकामनाको वनौतीबाट पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख एसपी सुरेन्द्रबहादुर गुरुङले बताए ।

पक्राउ परेका किशोरको प्रहरीले नाम खुलाएको छैन । उनीविरुद्ध ज्यानसम्बन्धी मुद्धामा अनुसन्धान गर्न जिल्ला अदालतबाट ५ दिनको म्याद लिएको छ ।

बिहीबार खेतमा पानी लगाएर घरतर्फ फर्केकी वृद्धा विहान ११ बजेतिर नजिकैको धारामा हात खुट्टा धुन जाँदै थिइन् । किशोर पाडो चराउन त्यहीँ आएका थिए । धारा नजिकै वृद्धा लड्न पुगिन्, र किशोर बेस्सरी हाँस्न थाले । वृद्धाले ‘बुढी मान्छे लडेको बेला हाँस्ने’ भन्दै गाली गलौच गरिन् र उठेर हातखुट्टा धुन थालिन् ।

त्यही बेला भनाभन भयो र किशोरले ढुङ्गाले वृद्धाको टाउकोमा हिर्काएको एसपी गुरुङले बताए ।

ढुङ्गा प्रहारबाट वृद्धा भुइँमा ढलिन् । त्यसपछि पनि किशोरले दुई पटक वृद्धाको टाउकोमा ढुङ्गा प्रहार गरेको प्रहरीले बताएको छ । किशोरले धारादेखि १ मिटर पर स्याउलाले शव छोपेर घरतर्फ भागेको र पछि घरबाट आँबुखैरेनी बजारतर्फ भागेको प्रहरीले जनाएको छ ।

कोदो रोपेर फर्केकी वृद्धाकी बुहारीले धारामा रगतका केही दाग देखे पनि कुनै पशुचौपायाको होला भनेर वास्ता गरिनन् । तर साँझ पर्दासम्म सासु घरमा नआएपछि गाउँलेसमेत भएर खोजी गर्दा धारा नजिकै शव भेटियो ।

वृद्धाको परिवारले किशोरविरुद्ध हत्या आरोपमा किटानी जाहेरी दिएका छन् । प्रहरीका अनुसार किशोरले पनि हत्या गरेको स्वीकार गरेको छ । ‘प्रारम्भिक अनुसन्धानबाट कर्तव्य गरेरै मारेको देखिन्छ’ एसपी गुरुङले भने, ‘अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment