Comments Add Comment

गण्डक अस्पताल थप तीन महिना कोभिड विशेष

१२ साउन, वीरगञ्ज । वीरगञ्जको गण्डक अस्पतालमा थप ३ महिना अस्थायी कोभिड अस्पताल सञ्चालन हुने भएको छ । सञ्चालक रहबर अन्सारीले थप तीन महिनाका लागि अस्पताल स्थानीय सरकारलाई सुम्पने घोषणा गरेका हुन् ।

यसअघि गण्डकमा अस्थायी कोभिड विशेष अस्पताल स्थापनाका लागि महानगरपालिकासँग गरेको सम्झौता साउन १८ गते सकिँदैछ । म्याद सकिनै लाग्दा सञ्चालक रहबर अन्सारीले पुनः तीन महिना अस्थायी कोभिड अस्पतालको रुपमा प्रयोग गर्न दिने घोषणा गरेका हुन् ।

‘३ महिना अगाडि पर्सा, बारा लगायत समग्र प्रदेश २ मै सन्त्रासको अवस्था सुरु भयो । समाज र जनताका निमित्त अधिकतम सहयोग र सद्भाव देखाउने क्रममा गण्डक हस्पिटल स्थानीय सरकारलाई सुम्पियौ । अनेक अड्चन, आलोचना र अधिकतम राजनीति बेहोर्नुपर्‍यो । कत्ति पनि बिचलित भएनौं’ अन्सारीले फेसबुकमा लेखेका छन् ‘सम्बन्धित सरोकारवाला निकायसँग न्युनतम जिम्मेवारी बोधसमेत नभएको देखियो । पुनः ३ महिनाका लागि गण्डक अस्पताल स्थानीय सरकारलाई हस्तान्तरण गर्ने निर्णयमा पुगेका छौं ।’

आफूले कुनै स्वार्थ नराखी नितान्त देश, समाज र जनताको हितको लागि सहयोग गरेको उनको दावी छ ।

गण्डकमा २ वटा भेन्टिलेटर, १० बेड आईसीयू र ५० बेड आइसोलेसन सञ्चालनमा छ । नारायणी अस्पतालको प्राविधिक रेखदेखमा सञ्चालित अस्थायी कोभिड अस्पतालमा ५७ जना उपचाररत छन् ।

यहाँ लक्षण देखिएका संक्रमितको संख्या बढी छ । जसमध्ये ४ जना आईसीयूमा छन् । स्थान अभावका कारण अझै ४२ जना संक्रमित आइसोलेसन बाहिर रहेको जनस्वास्थ्य कार्यालय पर्साले जनाएको छ ।

सिद्धार्थमा ३२ बेडको सेमी आइसोलेसन तयार

कोरोना संक्रमितलाई राख्ने ठाउँको अभाव भएपछि वीरगञ्जकै सिद्धार्थ माविमा ३२ बेडको सेमी आइसोललेसन तयार गरिएको छ । क्वारेन्टिन सञ्चालन हुँदै आएको सिद्धार्थको एउटा भवनलाई सेमी आइसोलेसन बनाइएको हो ।

स्कुलको भवन प्रयोग गरिएका कारण संक्रमितले हात धुने ठाउँ र शौचालय भने सीमित हुने छ । अक्सिजनलगायत अस्पतालमा हुने जस्तो सुविधाको प्रबन्ध पनि गरिएको छैन ।

वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले लक्षण नभएका संक्रमितलाई यहाँ राखिने बताए ।

८ वटा कोठामा ४/४ वटाका दरले बेड राखिएको छ । महानगरपालिकाको सफाइ कर्मचारीले विद्यालय परिसरमा झार काट्नुका साथै सरसफाइ गरेका छन् ।

महानगरपालिकाका नाइके नाजिर हुसैन मन्सुरीले बेड व्यवस्थापन र सरसफाइको काम सकिएको बताए ।

सिद्धार्थ मावि क्वारेन्टिनको व्यवस्थापन नेपाली सेनाले गर्दै आएको छ । स्वास्थ्यकर्मी र एम्बुलेन्स चालकलाई बस्ने ठाउँको व्यवस्थापन पछि लक्षण नभएका संक्रमितलाई राख्न सकिने चण्डीप्रसाद गणका गणपति कर्णेल मदनजंग राणाले जानकारी दिए ।

सिद्धार्थ क्वारेन्टिनमा ४८ जना शंकास्पद संक्रमित राखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment