Comments Add Comment

विराट नर्सिङ होमका ३ डाक्टर र ५ नर्सलाई कोरोना

१३ साउन, विराटनगर । विराटनगरको विराट नर्सिङ होम (विराटनगर अस्पताल) मा कार्यरत ३ स्वास्थ्यकर्मीसहित ७ जनामा मंगलबार कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमित हुनेमा २ जना चिकित्सक, एक जना नर्स, २ जना कर्मचारी, १ जना कामदार र १ जना अस्पताल सञ्चालकको घरमा काम गर्ने व्यक्ति रहेका विराटनगर महानगरपालिकाको स्वास्थ्य महाशाखाले जानकारी दिएको छ ।

एक हप्ताबीचमा यो अस्पतालमा कार्यरत १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि नै अस्पताल सञ्चालकसमेत रहेका चिकित्सक र ४ जना नर्समा कोरोना संक्रमण पुष्टि भएको थियो । विराटनमा अहिलेसम्म ३ जना चिकित्सक, ५ नर्स र अरु कर्मचारी गरी १२ जना संक्रमित भइसकेका छन् ।

यो अस्पतालमा पहिलो पटक गत बुधबार अस्पताल सञ्चालकसमेत रहेका एक चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएको थियो । स्वाब दिँदा सही नाम, ठेगाना र सम्पर्क नम्बर नदिएका उनको पहिचान प्रयोगशाला रिपोर्ट आएको ३८ घण्टापछि मात्र खुलेको थियो ।

त्यसपछि अस्पतालमा उनीसँग सम्पर्कमा आएकाहरुको परीक्षण गर्दा आइतबार ४ जना नर्समा संक्रमण पुष्टि भएको थियो ।

मंगलबारसम्म विराटनगर महानगरपालिकामा कोरोना संक्रमितको संख्या ८६ पुगेको छ । तीमध्ये ५६ जना पछिल्लो एक सातामा संक्रमण पुष्टि भएकाहरु रहेको महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment