१४ साउन, काठमाडौं । नेपाली कांग्रेसमा प्रवेश गर्ने क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वमहामन्त्री सुनीलबहादुर थापाले भने, ‘२०१० सालताका मेरो बुबा सूर्यबहादुर थापा मोरङ कांग्रेसको कोषाध्यक्ष र त्यसपछि धनकुटाको जिल्ला सभापति हुनुहुन्थ्यो । ६६-६७ वर्षपछि कांग्रेससँग पुनः नाता जोड्न पाउनु मेरो सौभाग्य हो । लामो समय टुटेको साइनो राम्रोसँग जोडिन्छ भन्ने विश्वास लिएको छु ।’
चार-चार पटक प्रधानमन्त्री बनेका महापञ्च सूर्यबहादुर थापा (सूबथा)का छोरा सुनीललाई काग्रेससँगको बिर्सिइसकेको साइनो जोड्न केले उत्प्रेरित गर्यो त ? ‘कांग्रेसलाई धनकुटामा नेता चाहिएको थियो, सुनीलजीलाई बलियो पार्टीको ओत,’ विश्लेषक पुरञ्चन आचार्य भन्छन्, ‘पार्टी प्रवेश गर्ने र गराउने दुवैका लागि यो वीन-वीनको अवस्था हो ।’
कांग्रेसले अहिलेसम्म धनकुटा-१ बाट निर्वाचन जित्न सकेको छैन । कहिल्यै निर्वाचन जित्न नसकेको क्षेत्र नवप्रवेशी नेतालाई दिन केही अफ्ठ्यारो नभएको कांग्रेसका एक नेता बताउँछन् ।
त्यसो त २०७४ को निर्वाचनमा पनि कांग्रेसले थापालाई नै सघाएको थियो । प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपाका राजेन्द्रकुमार राईसँग पराजित भएका उनले २६ हजार ८७४ मत पाएका थिए । यो राप्रपाको मात्रै भोट थिएन, कांग्रेस समर्थकले पनि उनलाई मत दिएका थिए ।
चुनावमा पराजित भएपछि भएको एउटा भेटमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ‘तपाईं जस्तो डेमोक्रयाट कांग्रेसमा आउनुपर्छ’ भन्दा सुनील थापा तरंगित भएका थिए । निर्णय लिन भने सकेका थिएनन् ।
संघीय लोकतान्त्रिक गणतन्त्रको नारा लिएर २०७० को संविधानसभामा १३ सिट जितेको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपालसँग एकीकरण गर्दा पुनः राजतन्त्रमा फर्कियो । पार्टीभित्र निरन्तर किचलो त छँदै थियो । ‘पार्टीको हरेकजसो बैठकमा नेताहरूले एक स्वरमा यो गणतन्त्रको विषयमा छलफल गर्ने मञ्च होइन भन्दा उहाँको अनुहार मलिन हुन्थ्यो,’ थापासँगै कांग्रेस प्रवेश गरेका राप्रपाका एक नेता भन्छन्, ‘गणतन्त्र बोल्नसमेत बर्जित भएपछि हामीले विकल्प खोजेका हौं ।’
यस्तै कारणहरुले राप्रपा छाड्ने सोच बनाएका थापाका लागि कांग्रेस सबभन्दा राम्रो विकल्प थियो । यसका अरु पनि कारणहरु छन् । झण्डै डेढ दशक संयुक्त राष्ट्रसंघमा काम गरेका थापाको झुकाव नै ‘कम्प्युनिष्ट’ बन्ने खाले भएन । अन्तर्राष्ट्रिय ‘एक्सपोजर’ पाएका र राजनीतिक पश्चगमन नरुचाउने ‘स्कुलिङ’का कारण पनि उनलाई राप्रपामा उकुसमुकुस हुनु स्वाभाविकै थियो ।
सूबथाको राजनीतिक लाइन पनि कम्युनिष्टभन्दा कांग्रेससँगै नजिक मानिथ्यो । विश्लेषक आचार्य पार्टी संरचनाका हिसाबले पनि नवप्रवेशीलाई अगाडि बढ्न कम्युनिष्टभन्दा कांग्रेसमै सहज हुने बताउँछन् । ‘त्यो कारणले गर्दा राजनीतिक भविष्य पनि कांग्रेसमै देखेको हुनसक्छ’, उनी भन्छन्, ‘सूबथाको विरासत कांग्रेस बिसाउन खोजेको देखियो ।’
तस्वीरले दुखाएको मन
राप्रपा अध्यक्ष कमल थापा भने सुनील थापाको कांग्रेस प्रवेशले सूबथाको राजनीतिक विरासत समाप्त भएको ठान्छन् ।
उनले टि्वटरमा लेखका छन्, ‘कमेन्ट नगरौं भन्दाभन्दै सूर्यबहादुर थापाप्रतिको मेरो अगाध स्नेह र सम्मानको कारण यतिचाहिँ भन्न चाहन्छु कि सुनिल थापाको यस निर्णयले सूर्यबहादुर थापाको राजनीतिक विरासत समाप्त हुनेछ । कांग्रेसले सुबथालाई बोक्दैन ।’
यद्यपि कमल थापालगायत राप्रपा शीर्ष नेतृत्वले सूबथालाई ‘अपमान’ गर्दा सुनीलहरु बाहिरिएको ठान्नेहरु पनि धेरै छन् । ‘सुनीलजी संस्थापक अध्यक्ष सूबथालाई पार्टीले बेवास्ता गर्यो भनिरहनुहुन्थ्यो’, राप्रपाका एक नेता भन्छन्, ‘यसमा उहाँको ठूलो चित्त दुखाइ थियो ।’
सूबथाको सम्झनामा राप्रपाले एक पटक पनि श्रद्धाञ्जली सभा नगरेको र पार्टी कार्यालयमा तस्वीर पनि नराखिएको राप्रपा नेताहरू बताउँछन् । उनीहरुका अनुसार, विराटनगरको एउटा कार्यक्रममा त सूबथाको राखिसकेको तस्वीर हटाइएको थियो ।
धनकुटा केन्द्रित प्रभाव
सिन्धुपाल्चोकका विष्णुविक्रम थापा, भोजपुरका बाबुराम बस्नेत, बाराका बृजलाल यादव, धनकुटाकै पदमबहादुर बस्नेत, झापाका दिलीप राई र चतुरमान विश्वकर्मा, कैलालीका आशाराम चौधरी, धनुषाका वीरेन्द्रलाल कर्ण, नुवाकोटकी राज्यलक्ष्मी श्रेष्ठसहित ३० जना सुनीलबहादुर थापाको नेतृत्वमा कांग्रेस प्रवेश गरेका छन् ।
यसको राजनीतिक धेरै प्रभाव भने धनकुटामै सीमित हुने कांग्रेसका एक नेता बताउँछन् । ‘यो राष्ट्रिय वा क्षेत्रीय राजनीतिमा प्रभाव पार्ने समीकरण होइन’, उनी भन्छन्, ‘धनकुटामा भने निर्वाचन परिणाममा नै प्रभाव पार्न सक्छ ।’
सुनील थापालाई भित्र्याउन धनकुटा जिल्लाका कांग्रेस नेताहरू नै लागेकाले चुनावमा अन्तरघातको सम्भावना न्यून रहेको ती नेता बताउँछन् । थापाले प्रत्यक्षमा जितेपछि अरुले समानुपातिकमा अवसर पाउने उनको भनाइ छ ।
राजनीतिमा होमिएकै वर्ष २०७० सालको संविधानसभा निर्वाचनमा थापा धनकुटा-१ बाट निर्वाचित भएका थिए । त्यसपछि सुशील कोइराला नेतृत्वको सरकारमा वाणिज्य मन्त्री बनेका थिए ।
राप्रपालाई मनोवैज्ञानिक क्षति
२८ फागुन २०७६ मा पार्टी एकीकरण गर्ने बेलामा राप्रपा अध्यक्षत्रय कमल थापा, पशुपति शमशेर राणा र प्रकाशचन्द्र लोहनीले गीता छोएर पार्टी नफुटाउने कसम खाएका थिए । अहिलेसम्म कुनै अध्यक्षले मनमुटावपूर्ण गतिविधि गरेका पनि छैनन् ।
तर महामन्त्री थापासँगै १४ जना केन्द्रीय सदस्यलाई पार्टी छोड्नबाट रोक्न पनि सकेनन् । सुनीलबहादुर थापाको बहिर्गमनले राप्रपामा मनोवैज्ञानिक क्षति पुग्ने विश्लेषकहरू बताउँछन् ।
पार्टीको संस्थापक अध्यक्षकै छोरा बाहिरिदा स्वतः मनोवैज्ञानिक असर पर्ने उनीहरूको भनाइ छ । राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठ पनि यसलाई अस्विकार गर्दैनन् । उनी भन्छन्, ‘संस्थापक पार्टी अध्यक्षको छोरा भएकाले मनोवैज्ञानिक असर पर्नसक्छ तर सांगठिक रुपमा हाम्रो पार्टीलाई ठूलो असर पर्दैन ।’
परिवर्तन मोह कि चुनावी गठजोड ?
२०६५ सालमा संविधानसभामा मतदान हुँदा राप्रपा नेपालका चार सांसद बाहेक सबैले राजतन्त्र अन्त्यको पक्षमा मतदान गरे । सूबथाको नेतृत्वमा रहेको राष्ट्रिय जनशक्ति पार्टीले पनि गणतन्त्रकै पक्षमा मत दियो ।
राजाको विश्वासपात्र हुँदा पनि सुधारिएको पञ्चायतको वकालत गरेका सूबथा सुरुदेखि नै परिवर्तनको पक्षमा रहेको छोरा सुनील थापा बताउँछन् । भन्छन्, ‘बुबा सुरुदेखि नै जनमतको कदर गर्नुपर्छ भन्ने पक्षमा हुनुहुन्थ्यो, मैले पनि त्यसैलाई निरन्तरता दिन खोजेको हुँ ।’
विश्लेषक आचार्य मूलधार पछ्याउने राजनीतिलाई अवसरवादसमेत भन्न मिल्ने बताउँछन् । आचार्य भन्छन्, ‘जहिल्यै नयाँ व्यवस्थाको पक्षमा लाग्नु एक हिसाबले अवसरको खोजी हो ।’
तर थापा भने अहिलेको संविधानले अंगिकार गरेको गणतन्त्र, संघीयता, समावेशीता जस्ता कुरालाई आत्मसात् गरेर भोट मागेकाले आफूले त्योभन्दा फरक बाटो लिन नसकेको बताउँछन् । ‘सिद्धान्त पनि मिल्ने र बुबाको विरासत पनि जोगिने भएकाले नै कांग्रेस रोजेको हुँ,’ उनले अनलाइनखबरसँग भनेका छन् ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4