Comments Add Comment

डोटीका स्थानीय तह निमित्तको भरमा

१४ साउन, डोटी । डोटीका नौ वटै स्थानीय तह लामो समयदेखि निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा चलेका छन् ।

जिल्लाका दुवै नगरपालिका निमित्तकै भरमा छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार गरेको स्थानीय तहको संगठनात्मक ढाँचा तथा दरवन्दी तेरिज अनुसार राजपत्रांकित द्वितीय श्रेणी (उपसचिव) १० औं तहको कर्मचारी प्रमुख प्रशासकीय अधिकृत रहने व्यवस्था रहेको छ ।

२०७५ वैशाखमै उक्त दरवन्दी तेरिज सार्वजनिक गरिएको भएपनि हालसम्म दरवन्दी अनुसारका प्रमुख प्रशासकीय अधिकृत डोटीमा आएका छैनन् । दिपायल सिलगढी नगरपालिकामा राजपत्रांकित तृतीय श्रेणी (सातौं तह) का अधिकृत प्रमुख प्रशासकीय अधिकृत छन् । यस्तै शिखर नगरपालिकामा राजपत्रांकित तृतीय श्रेणी (छैंटौं तह) का अधिकृतले प्रमुख प्रशासकीय अधिकृतको कामकाज गरिरहेका छन् ।

सात गाउँपालिकामध्ये कुनैमा पनि दरवन्दी अनुसारका प्रमुख प्रशासकीय अधिकृत छैनन् । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८४ मा ‘कानून अनुसार प्रमुख प्रशासकीय अधिकृतको नियुक्ति नभएसम्मको लागि नेपाल सरकारले निजामति सेवाको कुनै अधिकृत कर्मचारीलाई प्रमुख प्रशाकसीय अधिकृतको रुपमा काम गर्न खटाउनेछ’ भन्ने व्यवस्था छ ।

तर, पूर्वीचौकी गाउँपालिका र बडीकेदार गाउँपालिकामा साविकको स्थानीय निकायले स्थायी गरेका कर्मचारी निमित्त प्रमुख प्रशासकीय अधिकृत तोकिएका छन् । पूर्वीचौकीमा साविकको जिल्ला विकास समितिका कार्यक्रम अधिकृत निमित्त छन् । उनी निजामती सेवाका कर्मचारी होइनन् । पूर्वीचौकीमा आठौं तहको दरवन्दी छ ।

यस्तै आठौं तहको प्रमुख प्रशासकीय अधिृकतको दरवन्दी रहेको बडीकेदार गाउँपालिकामा निजामतिको सट्टा विकासे सेवाका नासुले निमित्त प्रमुख प्रशासकीय अधिकृत भएर काम गरिरहेका छन् । उनलाई पनि साविकको जिल्ला विकास समितिले स्थायी गरेको थियो ।

आठौं तहकै कर्मचारी प्रमुख प्रशासकीय अधिकृत हुनुपर्ने सायल गाउँपालिकामा निजामती सेवाको छैटौं तहका कर्मचारी निमित्त छन् । यस्तै केआई सिंह गाउँपालिका र आदर्श गाउँपालिकामा पनि आठौं तहको दरबन्दी रहेको छ । तर सातौं तहका कर्मचारीहरुले प्रमुख प्रशासकीय अधिकृत भएर काम गरिरहेका छन् ।

बोगटान फुडसिल र जोरायल गाउँपालिकामा पनि निमित्त प्रमुख प्रशासकीय अधिकृत रहेका छन् । दुवै गाउँपालिकामा विद्यालय निरीक्षकहरुले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाएका छन् ।

जिल्लानै निमित्तको भरमा

स्थानीय तहमात्रै होइन, जिल्लाका अधिकांश कार्यालय निमित्तको भरमा चलेका छन् । सहसचिवको दरवन्दी रहेको प्रमुख जिल्ला अधिकारी पदमा उपसविचले कामु भएर काम गर्दैछन् । जिल्ला प्रशासन कार्यालयमा सहायक प्रमुख जिल्ला अधिकारीको पद रिक्त छ । एक जना मात्रै अधिकृत छन् उनी पनि सरुवा भएका छन्, रमाना लिन मात्रै बाँकी छ ।

यस्तै जिल्ला समन्वय समिति, कृषि ज्ञान केन्द्र, भेटनरी अस्पताल तथा पशु बिज्ञ केन्द्र, बाल सुधार गृह र नापी कार्यालय पनि निमित्तकै भरमा सञ्चालित छन् । सरकारी वकिल कार्यालय, गुणस्तर तथा नापतौल कार्यालय, जिल्ला निर्वाचन कार्यालय, इलाका हुलाक कार्यालय, शिक्षा विकास तथा समन्वय ईकाई पनि निमित्तकै भरमा चलेका छन् ।

प्रदेश सरकार मातहत रहेका अधिकांश कार्यालयहरुमा पनि यस्तै अवस्था रहेको छ ।

त्यसो त डोटीका लागि निमित्तका भरमा कार्यालय सञ्चालन हुनु नौलो कुरा होइन । अधिकांश कार्यालयमा तोकिएको भन्दा एक तह मुनिकै कार्यालय प्रमुख रहने परिपाटी चल्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment