Comments Add Comment

व्यवसायमा घाटा लागेपछि लागूऔषध कारोबार

१४ साउन, विराटनगर । मोरङ प्रहरीले आधा केजी लागूऔषध एन्फाटामाइनसहित पक्राउ परेका व्यक्ती व्यापारमा घाटा भोगेपछि लागूऔषध कारोबारमा संलग्न भएको खुलेको छ ।

मंगलबार ५३० ग्राम मेथाएन्फाटामाइन (आइस) लागूऔषधसहित पक्राउ परेका मोरङको सुन्दरहरैचा नगरपालिका– ८ सलकपुरका ४२ वर्षीय रामप्रसाद पोखरेल व्यापारमा घाटा व्योहोरेपछि छिटो कमाई गर्न लागूऔषध करोबारमा लागेको खुलेको हो ।

मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काका अनुसार २०६१ सालमा वैदेशिक रोजगारीका लागि इराक पुगेका पोखरेल २०६७ सालमा नेपाल फर्किएका थिए ।

सलकपुर चोकमा दुई तलो घर बनाएका पोखरेलले घरमै सुन पसल राखेर व्यवसाय सुरु गरे । तर सुन पसल गर्दा उनको व्यापार राम्रोसँग चलेन । सुन पसल छाडेपछि उनले मोरङको बुढीगंगा गाउँपालिका– ३ मा फाइवरको ढोका र जस्तापाता बनाउने उद्योग खोले । तर उद्योगले पनि राम्रो मुनाफा दिएन । दुई वटा व्यावसाय नचलेपछि उनले आर्थिक नोक्सानी भोगे ।

प्रारम्भिक अनुसन्धानका क्रममा दुवै व्यावसायमा भोगेको आर्थिक क्षति छाेटो बाटोबाट असुल गर्न लागूऔषको कारोबारमा लागेको खुलेको प्रहरी उपरीक्षक खड्काले बताए ।

फाइबर उद्योगमा काम सुरु गर्दा पोखरेलको सम्पर्क भारतीयसँग भएको थियो । व्यापारमा घाटा भएपछि छोटो बाटोबाट पूर्ती गर्ने बाटो खोज्दै जाँदा लागूऔषध एन्फाटामाइन(आइस) को कारोबारीसँग जोडिए ।

कारोबारकै सिलसिलामा विराटनगर आएका पोखरेल विराटनगर बरगाछी चौकबाट २२२ ग्राम मेथाएन्फाटामाइनसहित पक्राउ परे । अनुसन्धानका क्रममा घरमा ३०८ ग्राम घरमा बरामद भएको थियो ।

सो लागूऔषधको बजार मूल्य प्रतिग्राम ८० अमेरिकी डलर छ । ठाउँ अनुसार मुल्य फरक पर्ने बरामद लागूऔषधको नेपाली मूल्य एक करोड हाराहारी रहेको खड्काले बताए ।

हाइप्रोफाइल ड्रग्सको नामले परिचित यो लागूऔषध प्रयोग गर्न सामान्य मानिसको हैसियत पुग्दैन । प्रहरीका अनुसार पोखरेलले करिब ९ महिना अघिदेखि कारोबार सुरु गरेका हुन् । अनुसन्धानका क्रममा उनी आफैं डिलर भएर विभिन्न स्थानमा सप्लाई गरेको देखिएको प्रहरी उपरीक्षक खड्काले बताए । पूर्व क्षेत्रमा पहिलो पटक मेथाएन्फाटामाइनसहित पक्राउ परेका पोखरेललाई लागूऔषध नियन्त्रण ऐन २०३३ अनुसार मुद्दा चलाइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment