+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
139/9 (20)
VS
Sudurpaschim royals won by 45 runs
कर्णाली याक्स 2025
94/10 (19.2)
Shares

भिरको बाटोले मुख्यमन्त्री पौडेल विवादमा, सत्तापक्ष र प्रतिपक्षले बनाए मोर्चा

इन्द्र बानियाँ भन्छन्– सरकारले नबनाए निजी खर्चमा बाटो बनाउँछु

राजन दाहाल राजन दाहाल
२०७७ साउन १५ गते ९:५२

१५ साउन, हेटौंडा । पश्चिम मकवानपुरको मनहरी र धादिङ जोड्ने सडक निर्माणको तयारी चलिरहँदा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेल विवादमा तानिएका छन् । डीपीआरसमेत तयार भइसकेको उक्त सडक बन्दैन भन्ने अभिव्यक्ति दिएपछि पौडेलविरुद्ध सत्ता पक्ष र प्रतिपक्ष दलले संयुक्त मोर्चाबन्दी गरेका छन् ।

साउन ७ गते मकवानपुरको कैलाश गाउँपालिकामा बनेको दुबो खोला पुल उद्घाटनको क्रममा मुख्यमन्त्री पौडेलले मनहरी र राक्सिराङ गाउँपालिका क्षेत्रमा पर्ने परेवा भिरको बाटो बन्दैन भनेका थिए । मुख्यमन्त्री पौडेलले भनेका थिए, ‘सरकारले धेरै काम गरेको छ, त्यसको उपेक्षा गर्दै खाली एउटै विषय परेवा भिर भएको छ, त्यहाँबाट बाटो बन्दैन, त्यसको दायाँ–वायाँबाट बन्ने छ ।’

जनअपेक्षाविपरीत अभिव्यक्ति दिएपछि मुख्यमन्त्री पौडेलविरुद्ध सत्तापक्षीय संघीय सांसद विरोध खतिवडा र वागमती प्रदेशका प्रतिपक्ष दलका सांसद इन्द्र बहादुर बानियाँ काउन्टरमा उत्रिएका छन् । उनीहरुले सरकारले नबनाए व्यक्तिगत खर्चमा उक्त सडक बनाउने घोषणासमेत गरेका छन् ।

नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बानियाँले मुख्यमन्त्रीले बजेट नदिए आफ्नै खर्चमा सडक निर्माण गर्ने उदघोष गरेका छन्

परेवा भिर नजिक मनहरी खोलाको छेउबाटै जाने सडक निर्माणको लागि राक्सिराङ गाउँपालिकाले डिपीआर बनाएर काम थालिसकेको छ । डिपीआर अनुसार मनहरी–धादिङ सडकखण्डमा परेवा भिर चार सय मिटर पर्दछ, परेवा भिरलाई छिचोल्न करिब चार करोड खर्च हुने अनुमान गरिएको छ ।

सडक निर्माण गर्न राक्सिराङ गाउँपालिकाले तत्कालका लागि दुई करोड रुपैयाँ विनियोजन गरिसकेको छ । डिपीआरमा ठूला रड र कंक्रिट पर्खाल बनाएर चार मिटर फराकिलो र बलियो बाटो निर्माण गर्न सकिने उल्लेख छ ।

सो सडक मकवानपुरको मनहरीबाट धादिङको मलेखु जोडियो भने ५२ किलोमिटर लामो हुने छ । यदि धादिङकै आदामघाट जोडियो भने ६० किलोमिटर लामो सडक बन्ने छ । सो सडक धादिङ हुँदै मकवानपुरको कालिकाटार हुँदै भार्ता, रतुवा र परेवा भिर हुँदै चैनपुर र मनहरीसम्म आउने छ ।

तर, प्रदेशका मुख्यमन्त्रीले बाटो बन्दैन भनेपछि उनीविरुद्ध सांसदद्वय खतिवडा र बानियाँ उत्रिएका छन् । उनीहरुले प्रदेश सरकारले ध्यान नदिए पनि आफ्नै खर्चमा सडक निर्माण गर्ने बताएका छन् । ‘सडक बन्छ’, प्रतिनिधिसभामा नेकपाका सांसद खतिवडाले भने, ‘जनभावना अनुसार निर्वाचित जनप्रतिनिधिले काम गर्ने हो, अहिलेको जनभावना परेवा भिरबाट सडक निर्माण गर्नुपर्छ भन्ने पश्चिम मकवानपुरका जनताको भनाइ छ, त्यहीअनुसार सडक निर्माण हुन्छ ।’

यता बागमती प्रदेशका प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बानियाँले मुख्यमन्त्रीले बजेट नदिए आफ्नै खर्चमा सडक निर्माण गर्ने उदघोष गरेका छन् । ‘परेवा भिरमा कुनै पनि हालतमा बाटो बन्छ,’ हेटौंडामा पत्रकार सम्मेलन गरेर बानियाँले भने, ‘प्रदेश सरकारले बाटो नबनाए निजी खर्चमा बनाउछु ।’ बिवाद आएको निर्वाचन क्षेत्र खतिवडा र बानियाँको पर्छ ।

मुख्यमन्त्रीविरुद्ध बन्यो मोर्चा

यही विवादका कारण बागमती प्रदेशमा मुख्यमन्त्री पौडेलविरुद्ध मोर्चाबन्दी भएको छ । संघीय सांसद खतिवडाको संयोजनमा बागमती प्रदेश सभामा प्रतिनिधित्व गर्ने सांसदहरु, मनहरी, राक्सिराङ र कैलाश गाउँपालिकाका जनप्रतिनिधिहरु सहितको मोर्चा बनेको छ । मोर्चाले हाल मनहरीबाट परेवा भिर हुँदै राक्सिराङ तर्फबाट मलेखु जोड्ने र कैलाश तर्फबाट आदमघाट जोड्ने सडक निर्माण गर्दा बीचमा पर्ने परेवा भिर खण्ड निर्माणको विकल्प नरहेको निष्कर्ष निकालेको छ ।

सांसद खतिवडा, संविधानसभा सदस्य राजाराम स्याङ्तान, बागमती प्रदेश सभा सदस्य ओमबहादुर ग्लान र सन्तबहादुर चेपाङ, कैलाश गाउँपालिका अध्यक्ष टंकबहादुर मोक्तान, राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ल, मनहरी गाउँपालिका उपाध्यक्ष मनिला विष्ट, मनहरी गाउँपालिका ८ अध्यक्ष दिलबहादुर स्याङ्तान, राक्सिराङ गाउँपालिका ४ का वडाध्यक्ष सञ्जय कोइरालासहितको मोर्चालाई प्रतिपक्षी कांग्रेसले पनि समर्थन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?