Comments Add Comment

पहिरोले पहाड खसेपछि बुटवलको लक्ष्मीनगर जोखिममा

१५ साउन, बुटवल । बुटवलको लक्ष्मीनगर पहिरोको उच्च जोखिममा परेको छ । केही दिनदेखिको अविरल वर्षाका कारण बुटवल–४ लक्ष्मीनगरमाथिको चुरे पहाड खसेपछि बस्ती जोखिममा परेको हो ।

तीनतिरबाट झरेका पहिरोले दर्जनौं रुख र ठूला–ठूला ढुंगाहरु बगाएर ल्याउंदा सुखौरा खोलाको धार नै परिवर्तन गरेको छ । पहिरोले खोला नै थुनिने र बस्तीतिर आउने खतरा बढेको स्थानीय अगुवा टेकराज पन्थीले बताए ।

दुई सय भन्दा बढी घर, सरकारी र निजी विद्यालय समेत रहेको लक्ष्मीनगरको बस्ती जोखिममा परेपछि स्थानीयले रातभर खोलामा अड्किएका रुख काटेर नदीको धारलाई पुरानै वहाव क्षेत्रमा फर्काउने प्रयास गरेका छन् ।

तर ठूला–ठूला ढुंगा हटाउन नसकिएको र भारी वर्षा हुँदा जुनसुकै बेला खोला थुनिएर बस्तीतर्फ आउने खतरा रहेको पन्थीले बताए । स्थानीयले पहिरोले ल्याएका ढुंगा हटाउन र खोलालाई पुरानै वहाव क्षेत्रबाट बग्ने बनाउन सरकारी सहयोग मागेका छन् ।

बुटवल उपमहानगरपालिकाकी उपप्रमुख गोमादेवी आचार्य, वडा अध्यक्ष टंक पराजुली र स्थानीय सुरक्षा निकायका प्रमुखहरुले बिहीबार बिहान पहिरो र जोखिम क्षेत्रको स्थलगत निरीक्षण गरेका छन् ।

तत्काल पहिरो नियन्त्रण र खोलाको धार पुरानै वहाव क्षेत्रमा जाने बनाउन जिल्ला विपद व्यवस्थापन समितिलाई अनुरोध गरिएको उपप्रमुख आचार्यले बताइन् ।

बुटवलको लक्ष्मीनगर र ज्योतिनगर पहिरोको उच्च जोखिम क्षेत्रमा पर्दछन् । एक दशकअघि लक्ष्मीनगरसंगै जोडिएको ज्योतिनगरमा पहिरो जाँदा ठूलो भौतिक क्षति पुर्‍याएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment