Comments Add Comment

भारतबाट आएका २० मध्ये १५ कामदारमा कोरोना पुष्टि

१६ साउन, काठमाडौं । ओखलढुंगामा गत साउन १ गते एकैदिन १५ जनामा कोरोना संक्रमण पुष्टि भयो । संक्रमण पुष्टि हुने सबै जना भारतीय नागरिक थिए ।

सोलु करिडोर १३२ केभी प्रशारण लाइनमा काम गर्न काँकडभिट्टा नाका हुँदै उनीहरु असार २७ गते ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका आइपुगेका थिए ।

आयोजनाले ठेकेदारमार्फत भारतीय नागरिक ल्याएको थाहा पाएपछि उनीहरुको २८ गते कोरोना संक्रमण परीक्षणका लागि स्वाब संकलन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी मनिता कार्कीले बताइन् ।

‘आयोजनाले २० जना भारतीय कामदार ल्याएको रहेछ । हामीले ओखलढुंगा आइपुगेपछि मात्रै थाहा पायौं,’ उनले भनिन्, ‘पीसीआर परीक्षण नगरी काममा पठाउँदा जोखिम बढ्ने खतरा रहेका कारण उनीहरुको स्वाब लिने काम भयो । रिपोर्ट नआउन्जेल उनीहरुलाई मानेभञ्ज्याङकै क्वारेन्टिनमा बस्ने व्यवस्था मिलायौं ।’

साउन १ गते कोरोना परीक्षण रिपोर्ट आउँदा ती २० जनामध्ये १५ जनामा कोरोना संक्रमण पुष्टि भयो ।

संक्रमण पुष्टि भएका १५ जनालाई मोरङको गोठगाउँ अस्पतालको आइसोलेसनमा पठाइयो । आयोजनाले भारतीय कामदार ल्याउँदा समन्वय नगर्दा जिल्ला भित्रिसकेपछि कोरोना देखिएको सहायक प्रजिअ कार्कीले बताइन् ।

‘स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरेको भने देखिएन । नाकाबाटै परीक्षण गराएर ल्याएको भए राम्रो हुने थियो । रिपोर्ट नेगेटिभ आएका पाँच जनालाई पनि भारत नै फिर्ता पठाएका छौं ।’

संक्रमित भएका १५ जना अहिले मोरङको गोठगाउँस्थित आइसोलेसनमै छन् ।

सोलु करिडोरका आयोजना प्रमुख जनार्दन शर्माले भने स्थानीय प्रशासनसँग समन्वय गरेरै कामदार ल्याएको दाबी गरे ।

उनले भने, ‘नाकामै परीक्षण गरेर ल्याउँदा बाटोमै पनि संक्रमण हुन सक्छ नि । त्यसैले जिल्लाभित्रै ल्याएर परीक्षण गराउने योजना बनाएर उनीहरुलाई पश्चिम बंगालबाट ल्याएका थियौं । प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरेरै मानेभञ्ज्याङमा उनीहरुको परीक्षणको व्यवस्था मिलाएका हौं ।’

ती कामदार प्रशारण लाइनको तार तान्ने तथा डिरेक्सनको कामका लागि ल्याइएका थिए । यो विषयमा दक्षता भएका नेपाली कामदार नभएकै कारण भारतबाट ल्याउनुपर्ने बाध्यता रहेको शर्मा बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment