Comments Add Comment

महासचिवकै आरोप : बक्सिङ संघ एकलौटी, स्वेच्छाचारी र तानाशाही

१८ साउन, काठमाडौं । बक्सिङ मुक्केबाजहरुको खेल हो । रिङमा खेलाडीबीच मुक्का हानाहानबाटै हारजित छुट्याइन्छ । तर बक्सिङ खेलमा मात्र होइन बक्सिङ संघमा पनि मुक्का हानाहानकै स्थिति देखापर्‍यो ।

संघका महासचिव सविन भट्टाचार्यले आफूलाई कार्यसमितिको बैठकमा दुर्व्यवहार भएको बताएका छन् । उनले विज्ञप्ति निकालेर संघमा भएको आर्थिक अनियमिततालगायतका विषयमा साउन १५ र १६ गते भएको बैठकको निर्णय पुस्तिकामा नै असहमति राख्न खोज्दा दुर्व्यवहार भएको बताए ।

भट्टाचार्यले लामो समयदेखि बक्सिङ संघ एकलौटी, स्वेच्छाचारी र तानाशाही ढंगले चल्दै आएको बताएका छन् । उनले ठकमा आफूले संघमा भएको आर्थिक अपचलनका विषयमा असहमति जनाउँदा बैठक छाडेर जान बाध्य पारी नयाँ माइन्युट खडा गरेको बताएका छन् ।

‘बक्सिङ संघको वर्तमान नेतृत्व आफ्ना पदाधिकारीको राय सुझावको नजर अन्दाज गर्दै फरक मत राख्नेलाई पेलेर जाने मानसिकताबाट ग्रसित रहेको छ । जुन नेपाली बक्सिङका लागि प्रत्युत्पादक मात्रै हुने देखिन्छ’  भट्टाचार्यले भनेका छन् ।

संघले चार वर्षको कार्यकाल पूरा गरिसक्दा साधारणसभा नगरेको र आर्थिक अनियमितता समेत भएको उनले आरोप लगाएका छन् ।

भट्टचार्यले बक्सिङ संघका सदस्य दीपक महर्जन राष्ट्रिय खेलकुद परिषद्का सहायक प्रशिक्षक भएकाले नयाँ खेलकुद ऐन अनुसार संघबाट वा सहायक प्रशिक्षकबाट राजीनामा दिनुपर्ने बताएका छन् ।

महासचिव भट्टाचार्यले संघको कोषमा जम्मा भएको रकममा अनियमितता भएको पनि बताएका छन् । ‘विगत लामो समयदेखि नै संघमा आर्थिक अनियमितता हुँदै आएको छ ।

निर्वाचित कोषाध्यक्षबाट कोष परिचालन नगरी मनोमानी ढंगले विधानको मर्मविपरीत कोष सञ्चालन हुँदै आएको पनि यस विज्ञप्तिमार्फत जानकारी गराउँछु’ भट्टाचार्यले विज्ञप्तिमा भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment