Comments Add Comment

सञ्जेललाई कुटपिट गर्ने कर्मचारी बर्खास्त, अभद्र व्यवहार मुद्दामा म्याद थप

१८ साउन, विराटनगर । श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेलले आफूलाई कार्यकक्षमा कुटपिट गर्ने कर्मचारीलाई कामबाट निकालेका छन् ।

उपसचिव सञ्जेलमाथि शनिबार कार्यकक्षमा करारका दुई महिला कर्मचारीले कुटपिट गरेका थिए । विहान करिब ११ बजे कार्यकक्षमा प्रवेश गरेका कर्मचारी नेत्र भट्टराई निरौला र मेनुका सापकोटा कोइरालाले सञ्जेलमाथि कुटपिट गरेका थिए । कुटपिटबाट सञ्जेलको अनुहार र हातमा चोट लागेको छ ।

कुटपिटमा संलग्नलाई मोरङ प्रहरीले पक्राउ गरी अभद्र व्यवहार मुद्दामा ५ दिन म्याद थप गरेर अनुसन्धान सुरु गरेको छ । सञ्जेलले भने कार्यकक्षमा आफूलाई कुटपिट गर्ने दुई करारका कर्मचारीलाई बर्खास्त गर्ने निर्णय गरेका छन् ।

घटना भएपछि प्रहरीले दुबै पक्षसँग छलफल गरेको थियो र मिलापत्र गराउन चाहेको थियो । तर सञ्जेलले बदनाम गराउछौं भन्दै कुटपिट गरेको भन्दै सहमति गर्न मानेनन् । आफूमाथि कुटपिट गर्नेहरुमाथि ज्यान मार्ने उद्योगमा जाहेरी दिए । प्रहरीले लिन नमाने । त्यसपछि सञ्जेलले अभद्र व्यवहारमा जाहेरी दर्ता गराएको र आइतबार म्याद थप गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिए ।

पक्राउ परेकाहरुले भने उपसचिव सञ्जेलले आफूमाथि यौन हिंसा गरेको आरोप लगाएका छन् । तर महिलाको आरोप प्रमाणित हुने आधार नभएको प्रहरी स्रोत बताउँछ ।

दुबैले ओरेक नेपाल नामक संस्थामा आफूहरुलाई सञ्जेलले यौन दुर्व्यवहार गरेको गुनासो गरेका थिए । शनिबार सञ्जेलमाथि कुटपिट गरेपछि दुई महिलाको तर्फबाट यौन दुर्व्यवहारको जाहेरी दर्ता गराउन ओरेकले पहल गरेको थियो ।

तर प्रहरीले आरोप प्रमाणित हुने आधार नहुने बताउँदै जाहेरी दर्ता गरेन । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्का कार्यालय प्रमुखलाई कुटपिट गरेपछि महिलाले दुर्व्यवहारको आरोप लगाएको बताउँछन् । ‘दुर्व्यवहार भएको भए कारवाहीका लागि कानुन थियो’ उनले भने, ‘कार्यालय प्रमुखलाई कार्यकक्षमा कुटपिट गरेपछि आरोप लगाएको देखियो ।’

सञ्जेलले शुक्रबार करारमा कार्यरत नायव सुब्बा निर्मलकुमार दाहाललाई कामबाट निकालिलेका थिए । दाहाल कुटपिटमा संलग्नमध्ये नेत्र भट्टराई (निरौला)का बहिनी ज्वाई हुन् । त्यही कारण आफूमाथि योजनावद्ध रुपमा आक्रमण भएको बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment