Comments Add Comment

जनैपूर्णे अर्थात ‘गुन्ही ला पुन्ही’

नेवार समुदायमा गथामुंगः चर्‍हेबाट (चाडपर्व सुरू हुने बिन्दु) गुन्हीपुन्ही एक महत्त्वपूर्ण पर्व हो । यस दिन चार दिन अघिदेखि भिजाइएको ९ थरिका गेडागुडीको झोल खाने गरिन्छ । जसलाई ‘क्वाँटी’ खाने दिन भनिन्छ । यसलाई नेपाल भाषामा भने ‘क्वाती’ भनिन्छ ।

जसमा ‘क्वा’ को अर्थ तातो र ‘ती’ को अर्थ झोल भन्ने हुन्छ । क्वाँटी ९ थरिका गेडागुडीको मिश्रण हो । मास, भटमास, मस्याङ, हरियो र सेतो केराउ, सानो केराउ, कालो चना, सेतो चना, सिमी, बोडी, बकुल्ला, मुंगुलगायत गेडागुडीको मिश्रण नै क्वाँटी हो ।

नेवार समुदायमा क्वाँटी खाने गरिन्छ भने तागाधारी समुदायमा जनै फेर्ने र हातमा डोरो बाँध्ने गरिन्छ । त्यसकारण यस दिनलाई ‘जनै पूणिर्मा’ तथा ‘जनै पूर्णे’ पनि भनिन्छ ।
यस श्रावण शुक्ल पूणिर्माको दिन ऋषिलाई पानी तर्पण गरेमा मृत्युपश्चात पुनः मानव जन्म लिन सकिन्छ भन्ने विश्वासका साथ ऋषिलाई पानी तर्पण गरिन्छ । त्यसकारण यस दिनलाई ऋषि तर्पणि पनि भनिन्छ ।

यस दिन नेवार समुदायमा खेतको भ्यागुतोलाई खाना खुवाइन्छ । जसलाई नेपाल भाषामा ‘ब्याँ जा नकेगु’ भनिन्छ । भ्यागुतोले वर्खाको समयमा पानी पार्न मद्दत गर्ने हुँदा यसलाई धन्यवादस्वरूप खाना खुवाइएको मानिन्छ । त्यस्तै अर्को किंवदन्तीअनुसार भ्यागुतोलाई पृथ्वीको दूतको रूपमा मानिन्छ । वर्खाको समयमा नागले पानी पार्ने विश्वास छ । नागको आहारा भनेको नै भ्यागुतो हो । त्यसकारण पानी पार्ने नागको आहाराको रूपमा आएकोमा भ्यागुतालाई पूजा गर्ने चलन छ ।

जनै पूणिर्मा कहिलेबाट सुरू भयो भन्ने यर्थाथ प्रमाण छैनन् । सम्भवतः यो चाड सृष्टिसँग जोडिएको हुँदा सृष्टिको सुरूवातपछि जब मानिसहरू विचार गर्न र बुझ्न सक्ने समयदेखि नै सुरू भएको हुन भन्ने विश्वास गरिन्छ । मानिस जन्मने र मर्ने शाश्वत सत्य हो । जब शरीर काम नलाग्ने हुन्छ तब यसले साथ छोडी अर्को चोला लिन्छ । मानिसले मानिसको चोला बाट पुनः मानिसको चोला लिन ८४ लाख जुनी काट्नुपर्छ भन्ने भनाइ रहेको छ ।

तर नेवार समुदायमा भने वर्षभरिको चाडपर्व नियमित र विधिपूर्वक मनाएमा ८४ लाख जुनी घुम्नु पर्दैन भन्ने विश्वास रहेको छ । यसरी ‘गथामुगः चर्‍हे’बाट सुरू भएको यो चाड ‘सिथि नखः’ सम्म विधिपूर्वक मनाउँदै जानुपर्छ भनेर आज पनि भन्ने गरिन्छ ।

किन ९ थरिकै गेडागुडी ?

हामीलाई थाहा भएअनुसार क्वाँटीमा ९ थरिका वा सोभन्दा धेरै गेडागुडी हुने गर्दछ । किन ९ थरिका गेडागुडी खाइन्छ भन्ने कुरा अहिलेका पुस्तालाई चासोको विषय रहेन पनिन पुरातत्त्व विभागका पूर्वप्रमुख पुरातत्त्व अधिकृत श्यामसुन्दर राजवंशी बताउँछन् ।

राजवंशीका अनुसार ‘मानव शरिर पञ्चतत्त्व र एक मनले बनेको हुन्छ । तर पञ्चतत्त्वको मृत्युपश्चात कुनै अवशेष रहँदैन । तर ‘एक मन’ भने कहिले पनि मर्दैन । त्यसैगरि गथामुंगः चर्‍हेको दिन तीनवटा खुट्टा भएको राक्षस राखेर जलाइन्छ, किनकि त्यस तीन खुट्टाको अर्थ त्रिगुण हुन्छ । जुन मानवले गथामंग चर्‍हेको दिन प्राप्त गर्दछ । पञ्चतत्व, एक मन र त्रिगुण -सत्व, रज र तम) गरि ९ वटा तत्त्व श्रावण शुक्ल पूणिर्माको दिन पुरा भई मानव शरिरमा सक्रिय हुन्छ । त्यसकारण यस ९ थरिका गेडागुडीलाई ती ९ तत्वको रूपमा लिएर खाने गरेको हो ।’

यसरी ९ थरिका गेडागुडी खाने हुँदा यसलाई ‘गुन्हीला पुन्ही’ भनिएको हो भने अहिले गुन्हीपुन्ही पनि भनिन्छ । । यसरी यस दिन ९ वटा गेडागुडीको झोल खानुको अर्थ मानव शरिरमा ९ वटा तत्त्व सक्रिय गराउनु हो ।

जनै किन फेर्ने ?

ब्राहृमनलाई ब्रहृमाको मुखबाट उत्पति भएको हुँदा शुद्ध हुन्छ भन्ने मानिन्छ । यो दिन तागाधारीहरूको लागि विशेष हुने गर्दछ । तागाधारीहरूमा जनै तीन महिनामा फेर्नु पर्ने हो तर अहिले वर्षदिनमा एकपटक मात्र फेरिन्छ भनी इतिहासविद तथा अनुसन्धानकर्ता पुरूषोत्तम लोचन श्रेष्ठ बताउँछन् ।

श्रेष्ठका अनुसार जनै फेर्नुको कारण सामान्यतः पुरानो भएपछि फेर्ने हो । त्यो दिनको विशेषता भनेको जनै फेर्दा एउटा विशेष मन्त्र हुन्छ । उक्त मन्त्र स्मरण गर्ने दिनको रूपमा पनि यस दिनलाई लिन सकिन्छ । त्यसैगरि जनै फेर्नुको अर्को महत्त्वपूर्ण पक्ष भनेको त्यो दिनमा र गाईजात्राको दिनमा ईश्वरको ढोका खुल्छ भन्ने आस्था र विश्वास रहेको छ । मोक्ष प्राप्ति नै मानिसको अन्तिम लक्ष्य हो । त्यसकारण मोक्ष प्राप्तिको एउटा प्रतीक अर्थमा यस जनैपूणिर्मालाई लिन सकिन्छ ।

 

क्वाँटीमा ९ थरिका गेडागुडीको मिश्रणसँगै त्यसमा झान्नको लागि जिरा, ज्वाँनो र धनियाँ पनि हालिन्छ । जहाँ जिरा लामखुट्टेको प्रतीक, ज्वानो उपियाँको र धनियाँ उडुसको प्रतीक मानिन्छ ।

किन मनाइन्छ यो चाड ?

असार मासमा किसानहरू सिन ज्याँ अर्थात मरीमरी काम गर्ने हुँदा शरिरमा पौष्टिक आहारको कमी हुन्छ । यस्तै पानीमा काम गर्दा उनीहरूको शरिरमा चिसो पसेको हुन्छ । तर, क्वाँटीको झोल खाँदा शरिरलाई पौष्टिक आहार प्राप्त हुन्छ । साथै शरिरभित्रको चिसो पनि सबै जान्छ भन्ने विश्वास गरिन्छ ।

अझै पनि बुढापाकाहरू क्वाँटीको झोल खाँदा पसिना निकल्ने गरेर खानुपर्छ है नत्र शरिरको चिसो जादैन, बिरामी होइन्छ भन्ने विश्वास गर्दछन् । यसरी पसिना निकालीनिकाली क्वाँटी खाने प्रचलन मध्यकालदेखि नै चलेको मानिन्छ ।

त्यसैगरी क्वाँटीमा ९ थरिका गेडागुडीको मिश्रणसँगै त्यसमा झान्नको लागि जिरा, ज्वानो र धनियाँ पनि हालिन्छ । जहाँ जिरा लामखुट्टेको प्रतीक, ज्वानो उपियाँको प्रतीक र धनियाँ उडुसको प्रतीक मानिन्छ ।

किनभने यो समय बर्खाको समय हो र यस समयमा लामखुट्टे, उपियाँ र उडुसले पनि दुःख दिने गर्दछन् । यसरी उनीहरूले धेरै दुःख नदिउन भन्नका निमित्त तिनीहरूको प्रतीक मान्दै यी तीन मसला झानेर परिकार पकाइन्छ । त्यसकारण क्वाँटीमा झानेको केहि पनि नफाल्नु, जति सकिन्छ चपाएर खानु भन्ने जनश्रुति छ । त्यसरी विधिपूर्वक झान्दा उपियाँ, उडुस र लामखुट्टेले अब दुःख दिन्नन् भन्ने विश्वास गरिन्छ ।

जनै पूणिर्मा अर्थात श्रावण शुक्ल पूणिर्माको दिनमा गोसाईकुण्ड, पाँच पोखरी लगायत देशैभरीका शिव मन्दिरमा मेला लाग्ने गर्दछ । साथै कमलको फुल फक्रिएर स्वयम्भु उत्पति भएको मानिने हुँदा यस दिन स्वयम्भु दर्शन गर्न जाने चलन रहेको छ ।

असार महिना सकिएसँगै हिन्दु परम्परामा चाडपर्व सुरू हुन थाल्दछन् । यसमध्ये जनै पूणिर्मा विशेष र पवित्र दिनको रुपमा सुरू हुन्छ र तिहारसम्म चाडपर्व मनाउने क्रम चल्छ । यसलाई तागाधारी -जनै लगाउने) र हिन्दु-नेवार परम्परामा आआˆनै आस्था र रीतअनुसार मनाइन्छ ।

(श्रेष्ठ त्रिभुवन विश्वविद्यालयमा संस्कृति तथा इतिहासमा स्नातकोत्तर अध्ययनरत छिन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment