+
+
Shares

कमल गाउँलेको गाईजात्रा : अब त टाउको चाइनाको, छाती भारतको !

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन १९ गते १३:३६

काठमाडौं । कलाकार कमल गाउँलेले यस वर्ष पनि गाईजात्राको भिडियो सार्वजनिक गरेका छन् । कमलले यस वर्ष ‘के–के हुने हो ?’ सार्वजनिक गरेका हुन् ।

यो उनको लगातार बीसौं गाईजात्रा प्रस्तुती हो । गत वर्ष उनले ‘गाउँ–गाउँमा सिंहदरबार’मार्फत राजनीतिक तथा सामाजिक विकृतिमा व्यंग्य प्रहार गरेका थिए । यस वर्ष पनि उनले राजनीतिलाई केन्द्रमा राखेर व्यंग्य प्रहार गरेका छन् ।

नेकपाभित्र जारी शक्ति संघर्षको सन्दर्भमा उनले भनेका छन्, ‘फलाम गल्ला, इँटा ढुंगा गल्ला, लेखेर राख्नुस् कुकरमा हालेर सय सिटी लगाउँदा पनि केपी ओली गल्नेवाला छैनन्, ढल्नेवाला छैनन् ।’

उनले नेपालको नयाँ नक्सा जारी गरेकोमा ओलीलाई धन्यवाद दिएका छन् । तर भारत सामू नेताहरु निरीह बनेकोमा भने उनले आक्रोश पोखेका छन् । भारतले सीमा मिच्दा र भ्रष्टाचार अचाक्ली बढ्दा पनि नेतृत्व तहमा रहेकाहरुले आँखा चिम्लिएकोतर्फ व्यंग्य गर्दै कमलले भनेका छन्–

भारतले सीमा मिच्यो, यता ह्वीस्की बियर घिच्यो

महँगी र भ्रष्टाचारले गरिबको घाँटी थिच्यो…।’

उनले अमेरिकी सहयोग नियोग एमसीसीको विरोध गरेका छन् । एमसीसी पास गरिए नेपाल नरहने चिन्ता व्यक्त गर्दै कमल भन्छन्, ‘भारतले खाएर बच्या देश एमसीसी आएपछि जाने भो ।’

उनी अगाडि भन्छन्, ‘अब त टाउको चाइनाको, छाती भारतको, पुच्छर नेपालको भो । मेरो देशको सिमाना कहाँसम्म हो भनेर कल्लाई सोध्न जाने हो ? कोही नेता चाइनाको, कोही नेता भारतको, कोही नेता अमेरिकाको भो । यही भएर एमसीसी आको हो ।’

आफ्नै युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको गाईजात्रे प्रस्तुतीमा कमल गाउँलेले कोरोना कहरको बेला औषधि उपकरण खरिदमा भएको भ्रष्टाचारको विषयलाई पनि समेटेका छन् ।

दाङ मसिना घर भएका कमल गाउँलेले सयौं नेपाली गीत, हास्य टेलिसिरियल र चलचित्रमा अभिनय गरिसकेका छन् । उनले अभिनय गरेको ‘गर्नु गर्‍यौ बलराम भैंसी पालेर’ बोलको गीत निकै चर्चित थियो ।

लगातार २० वर्षदेखि गाईजात्रा लेखेर र अभिनय गरेर सदाबहार गाईजात्रे कलाकार बन्ने प्रयासमा रहेका कमल भन्छन्, ‘गाईजात्रा हाम्रो पर्व हो, यसमा गरिएको व्यंग्यबाट सम्बन्धित व्यक्ति वा निकायले पाठ सिकेर सुध्रिउन् भन्ने उद्देश्यले म निरन्तर लागिरहेको छु ।’

उनी मादल र सारंगी बादनमा पनि पोख्त छन् । दुई वर्षअघि भएको पहिलो राष्ट्रिय मादल प्रतियोगितामा उनी उत्कृष्ट भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?