Comments Add Comment

न मास्क लगाउन जान्यौं, न सेनिटाइजर प्रयोग गर्न

कोरोना भाइरसको संभावित जोखिमबाट बच्न के गर्ने ? अहिले यसको लागि तीन वटा सुरक्षात्मक उपाय छ । एक, शारीरिक दुरी कायम राख्ने । दुई, मास्क लगाउने । तीन, सेनिटाइजर प्रयोग गर्ने ।

कोरोनाको संक्रमण भइसकेपछिको अवस्थामा कुनै निश्चित उपचार विधी पहिल्याइएको छैन । खोप छैन, औषधि छैन । त्यही कारण कोरोनाको जोखिमबाट बच्ने उपाय हो, संक्रमित व्यक्तिको सम्पर्कमा नपुग्नु । संक्रमित व्यक्ति जो कोही हुनसक्छन् ।

बिहान–बेलुकी सागसब्जी किन्ने पसलमा हुनसक्छन्, चोकमा हुनसक्छन्, गाडीमा हुनसक्छन्, रेष्टुरेन्टमा हुन सक्छन्, सभा–समारोहमा हुनसक्छन् । यदि एक जनालाई कोरोना भाइरसको संक्रमण भएमा अर्को व्यक्तिमा फैलन सक्छ । त्यसैले त एक व्यक्तिबाट अर्को व्यक्तिबीच दुरी कायम राख्नुपर्छ भनिएको छ ।

कोरोनाको संभावित जोखिमबाट बच्नका लागि जे–जस्ता सुरक्षात्मक विधी अपनाउनुपर्छ भनिएको छ, त्यसको विधीपूर्वक र पूर्ण पालना गरिएको छैन । यसमा कतिले लापरवाही गरेका छन्, कतिमा भने चेतनाको अभाव देखिन्छ ।

चिउडोमा मास्क

अरुको कुरै छाडौं, हाम्रा नेता–मन्त्रीहरु समेत चिउडोमा मास्क लगाएर मस्त गफ गरिरहेका देखिन्छन् । मास्कको उपयोगिताबारे सामान्य ज्ञान वा हेक्का नहुनु आफैमा उदेगलाग्दो छ । सर्वसाधरणले पनि मास्क त लगाएका छन्, तर धेरैजसोले चिउडोमा ।

संक्रमित व्यक्तिको सासको माध्यामबाट कोरोना भाइरस अर्को व्यक्तिको शरीरमा प्रवेश गर्न सक्छ । भाइरसको प्रवेशद्वार हो, नाक र मुख । त्यसैले नाक र मुखलाई मास्कले ढाकेपछि धेरै हैदसम्म भाइरस प्रवेश गर्न सक्दैन । यही कारण मास्क लगाउन सुझाइएको हो । यो सामान्य ज्ञान अधिकांशमा छ । यद्यपि ज्ञान हुँदाहुँदै पनि उनीहरु मास्क चिउडोमा लगाएर हिँड्छन् । कुराकानी गर्दा मास्क खोल्छन् । भनिन्छ नि, लापरवाहीको औषधि हुन्न । यस्तो लाग्छ, मानौं शरीरको कुनैपनि भागमा मास्क लगाउँदा कोरोना भाग्छ ।

त्यसैगरी मास्कको पनि निश्चित आयु हुन्छ । केही पटक प्रयोग गरेपछि यसको प्रभावकारिता कम हुन्छ । तर, धेरैले एउटै मास्क पटक–पटक प्रयोग गरिरहेका छन् । कतिपयले धोएर समेत काम चलाएका छन् । मास्कलाई सही रुपमा प्रयोग गरिरहेका छैनन् ।

सेनिटाइजरको भर

कोरोना भाइरसको संक्रमणयता नै सेनिटाइजरको प्रयोग ह्वात्तै बढेको हो । त्यसअघि हाम्रो घर–कार्यलयमा कमै मात्र सेनिटाइजर प्रयोग गरिन्थ्यो । अहिले हरेकको घरको दैलोदेखि सार्वजनिक यातायातसम्ममा सेनिटाइजर छ ।

खासगरी हातको माध्यामबाट नाक वा मुखमा कोरोनाको भाइरस सर्न सक्छ भनेर सेनिटाइजर प्रयोग गरिन्छ, ताकि हातमा रहेको भाइरस नष्ट होस् । चिकित्सकहरुका अनुसार ६० प्रतिशत अल्कोहल भएको सेनिटाइजर प्रयोग गर्दा कोरोना भाइरस नष्ट हुन्छ । तर, सेनिटाइजरको प्रयोगमा पनि लापरवाही देखिन्छ ।

अधिकांशले सेनिटाइजरलाई पानीको विकल्पको रुपमा समेत लिएको देखिन्छ । अर्थात पानीले हात धुनुपर्ने ठाउँमा समेत सेनिटाइजरले काम चलाउन थालेका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार सेनिटाइजरलाई साबुन पानीको विकल्पको रुपमा अपनाउनु गलत हो । धेरैले के पनि गरिरहेका छन् भने सेनिटाइजर हातमा लिएर हत्केलामा दल्ने गरेका छन् । जबकी हातको सम्पूर्ण हिस्सामा सेनिटाइजर लगाउनुपर्छ । औंलाका चेप, हातको खाली भाग सबैतिर समान रुपमा सेनिटाइजर लगाउनुपर्छ ।

अर्को कुरा, सेनिटाइजरले नै पुरा सुरक्षा गर्छ भन्ने भ्रम देखिन्छ । यो एक सुरक्षात्मक विकल्प मात्र हो । त्यसैले सेनिटाइजर प्रयोग गर्नसाथ कोरोना भाइरस पूर्णत निर्मूल हुन्छ भन्ने होइन । त्यसमाथि अहिले बजारमा उपलब्ध सबै सेनिटाइजर असली छ भनेर विश्वास गर्न सकिने स्थिति पनि छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment