
१९ साउन, कैलाली । कैलालीमा कोरोना संक्रमणक रिपोर्ट नआउँदै घर पुगेका ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार कैलालीमा ४५ जनामा कोरोना संक्रमण देखिएकामा १ जना अस्पतालमा उपचाररत व्यक्ति हुन् भने बाँकी सबै रिपोर्ट नआउँदै घर पुगेकाहरु हुन् ।
जिल्ला स्वास्थ्य कार्यालय कैलालीका अनुसार सोमबार गोदावरी नगरपालिकाका ४२, गौरीगंगा नगरपालिकाका २ र टीकापुर नगरपालिकाका १ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।
टीकापुरका एक जनाबाहेक अन्य स्थानीय तहका संक्रमितलाई साउन ११ गते स्वाब संकलन गरेर क्वारेन्टिनबाट घर पठाएको पाइएको स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले बताए । ‘टीकापुरका १ जना अस्पतालको आइसोलेसनमा छन्,’ उनले भने, ‘अरू भने घर गइसकेका छन् ।’
गोदावरी नगरपालिकाका स्वास्थ्यष शाखा प्रमुख वीरबहादुर कुँवरले स्वाब संकलन गरेर सुरक्षित रुपमा घर बस्न पठाएको बताए । ‘११ गते स्वाब संकलन गरेर हामीले घर सुरक्षित बस्न भनेर पठाएका हौं, उहाँहरू अहिले पनि हाम्रो सम्पर्कमा हुनुहुन्छ’ उनले भने ।
उनका अनुसार गोदावारी नगरपालिका-११ मा ३४ जना, वडा नम्बर १२ र ३ मा ४/४ जना संक्रमित भेटिएका छन् । संक्रमितहरु १४ दिन क्वारेन्टिन बसेपछि स्वाब दिएर घर गएका हुन् । उनीहरु घर गएको पनि एक साता भइसकेको छ ।
‘विद्यालयमा बनाइएका क्वारेन्टिनहरु राम्रो नभएपछि उहाँहरूलाई घर पठाएका हौं,’ उनले भने, ‘११ र १२ नम्बर वडामा सर्पदंशको पनि खतरा थियो ।’
सोमबार संक्रमण पुष्टि भएका ४२ जनाको परिवारका सदस्यहरुको पनि पीसीआर परीक्षण गरिने उनले बताए ।
कैलालीमा अहिलेसम्म १ हजार १९७ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।
प्रतिक्रिया 4