
News Summary
Generated by OK AI. Editorially reviewed.- कैलाली कारागारमा झडप हुँदा एकजना कैदीको मृत्यु र ४९ जना घाइते भएका छन्।
- यो अवस्थामा सिर्जना हुनुमा कारागारभित्र आफ्नो प्रभुत्व कसले जमाउने भन्ने विषयसँग जोडिएको घटनालाई नजिकबाट नियालेका एक सुरक्षा अधिकारी बताउँछन् ।
- ५९० कैदीबन्दीले कारागारको असुरक्षा विषयमा मानव अधिकार आयोगमा निवेदन दिएका थिए।
- कारागारभित्र बेथिति र असुरक्षा बढेको पूर्व जानकारी हुँदासमेत प्रशासन निरीह देखिएको छ।
२५ साउन, काठमाडौं । गत बिहीबार कारागार प्रशासन कैलालीले तीन जना कैदीबन्दीलाई भीमफेदी कारागार मकवानपुर सरुवा गर्यो । अदालतमा पेसीका लागि लैजाने भनेर तीन जनालाई सुटुक्क अन्यत्र कारागार सरुवा गरिएको आरोप कैदीबन्दीले लगाए ।
कैदीबन्दीले भनेजस्तै भुपेन्द्र बडुवाल हत्या आरोपितहरूको पेसी २२ साउनमा थियो । त्यसका लागि प्रहरीले १४ जनालाई अदालत उपस्थित गराएको थियो । न्यायाधीश दण्डपाणि लामिछानेको इजलासमा बयान र बकपत्र तोकिएको थियो । त्यो काम सकिएपछि जयन्द्र शाह समूहका व्यक्ति भनिएका कपिल श्रेष्ठसहित तीनजनालाई कैलाली कारागारबाट सरुवा गर्दै भीमफेदी लगियो । स्रोतका अनुसार बाँकी ११ जनालाई भने प्रहरीले हिरासतमा राख्यो ।
एउटा समूहलाई यो कारागार सरुवा मन परेको थिएन । यसअघि पनि कारागार प्रशासनले पटक–पटक नन्दु सरकार (नन्दु स्वाइड) समूहका व्यक्तिहरूको कारागार सरुवा गर्दै आएको थियो ।
कैलाली क्षेत्रमा गुण्डागर्दी गर्दै आएको आरोप लागेका नन्दु सरकारका मुख्य नवीन रावल समेतलाई यसअघि कैलाली कारागारबाट सरुवा गरिएको थियो । पटक–पटक आफ्नो समूहका व्यक्तिलाई सरुवा गरेको भन्दै यो समूहले चिढियो ।
पेसीका लागि लगिएको भनिएका व्यक्ति फर्किनन् । अनि शुक्रबार दिउँसोबाटै कारागारमा आतंक सिर्जना भयो । प्रहरी उच्च स्रोतका अनुसार हिरासतमा लगिएका केही व्यक्तिसँग सोधपुछ गरेपछि प्रहरीले कारागार लग्यो ।
कैलाली कारागारमा तीनवटा ब्लक छन् । ए र बी ब्लकमा पुरुष कैदीबन्दी र सी ब्लकमा महिला कैदीबन्दी बस्दै आएका छन् । अहिले भएको झडप ए र बी ब्लकका कैन्दीबन्दीहरूको हो । बी ब्लकका कैदीबन्दीको सरुवा र केहीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएपछि खचाखच भरिएको कारागार केही खुकुलो भयो ।
बी ब्लकका कैदीबन्दी घटेको भन्दै ए ब्लका केही कैदीबन्दीलाई बी ब्लकमा सारियो । ‘हाम्रो समूहका व्यक्ति सरुवा गर्ने । अनि ए ब्लकका कैदीबन्दी हाम्रोमा सार्ने’ भनेर बी ब्लकका कैदीबन्दी चिढिए ।
२८ असारमा मात्रै बी ब्लकका कैदीले ए ब्लकका कैदीलाई आक्रमण गरेको आरोप थियो । पहिलाको तुष कायमै रहेको अवस्थामा कैदीबन्दीको सरुवा भएपछि शुक्रबार दिउँसो १२ बजेतिरबाट सुरु भएको तनावको यो श्रृंखला मध्यरातमा पुग्दा रणमैदानमा परिणत भयो । ए ब्लकका कैदीले बी ब्लकमा आक्रमण गर्ने र बी ब्लकका कैदीले एक ब्लकमा आक्रमण गर्ने श्रृंखला चल्यो । पर्खाल समेत फोडेर ढुंगा हानाहान भयो ।

यो बीचमा प्रशासन भने रमिते बन्यो । कारागारमा सुरक्षार्थ खटिएको प्रहरीदेखि कारागार प्रशासन हेर्ने जिम्मेवारी पाएको कारागार कार्यालयको भूमिका सक्रिय देखिएन ।
परिणाम एकजना कैदीको (भरत चौधरी) ज्यान गयो, ४९ जना घाइते भए । दुईजनाको अवस्था चिन्ताजनक छ । सुरक्षाकर्मीको नियन्त्रणबाहिर रहेको कैलाली कारागारको अवस्था विस्तारै सुधारोन्मुख रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी तथा प्रवक्ता राजुकमार सिंहले बताए । ‘अवस्था अहिले नर्मल हुँदै गएको छ । प्रारम्भिक अवस्था बुझ्ने कामहरू भइरहेका छन्,’ डीएसपी सिंहले अनलाइनखबरसँग भने ।
यो अवस्थामा सिर्जना हुनुमा कारागारभित्र आफ्नो प्रभुत्व कसले जमाउने भन्ने विषयसँग जोडिएको घटनालाई नजिकबाट नियालेका एक सुरक्षा अधिकारी बताउँछन् ।
‘कैलाली क्षेत्रमा हुने गरेका गुण्डागर्दी र त्यसमा आबद्ध व्यक्ति कारागार चलान हुनु र कारागारभित्रै विभिन्न ग्याङ बनाएर प्रभुत्व जमाउन खोज्दा यो अवस्था निम्तिएको हो,’ एक अधिकृत भन्छन्, ‘हिजो बाहिर रहेका समूहहरू प्रहरीको कारबाहीपछि कारागार पुगे र अहिले उनीहरूले कारागारभित्र पनि त्यस्तै प्रभुत्व जमाउन खोज्दा यो अवस्था आएको हो ।’
ती अधिकृतले भनेजस्तो कैलालीमा पछिल्लो समय चारवटा समूहका नाममा गुण्डागर्दी हुँदै आएको छ । जसमा जयन्द्र शाह समूह, नन्दु सरकार (नन्दु स्वाइड), कोब्रा सरकार र इगल समूह सक्रिय छन् । तीमध्ये अहिले नन्दु सरकारका धेरै मान्छेहरू भुपेन्द्र बडुवाल हत्याकाण्डमा जोडिएर कारागार चलान भएका छन् ।
जयन्द्र शाह समूहका पनि केही व्यक्ति कारागार छन् । सानो रूपमा देखिएका कोब्रा सरकारले नन्दु सरकारलाई सहयोग गर्दै आएको छ । इगल समूहले भने प्रभाव जमाइसकेको अवस्था छैन । मुख्य गरी नन्दु सरकार र जयन्द्र शाहको समूहबीच टकराव चल्दै आएको प्रहरी अधिकारीहरू बताउँछन् ।
अनलाइनखबरको सम्पर्कमा आएका जयन्द्र शाह भने आफ्नो कुनै समूह नरहेको र आफू व्यवसाय गरेर बस्दै आएको दाबी गर्छन् ।
यी दुई समूहका साथै अन्य व्यक्तिले समेत कारागारभित्र आफ्नो प्रभुत्व जमाउन खोज्दा द्वन्द्व बढ्दै गएको र त्यसको परिणाम शुक्रबारको घटना रहेको स्रोत बताउँछ । यद्यपि, यो विषय छानबिनकै क्रममा रहेकाले अहिले नै घटनाको कारण किटान गर्न सक्ने अवस्था नरहेको छानबिन समितिका संयोजक तथा कैलालीका सहायक सीडीओ किरण जोशी बताउँछिन् ।
‘घटनाबारे बुझ्ने काम सुरु गरेका छौं । पहिल्यै निवेदन पनि आएकाले कहाँ सुरक्षा कमजोरी भएछ भन्ने हेर्छौं । तर अहिले नै यो कारणले घटना भयो भन्ने अवस्था छैन,’ जोशीले अनलाइनखबरसँग भनिन् ।
यसअघि २८ असारमा पनि यो कारागारमा झगडा भएको थियो । त्यसअघि नाइके खगेन्द्र बोगटी कारागारभित्रै कुटिएका थिए । प्रशासनले उनलाई कसले कुट्यो भनेर नबताए पनि जयन्द्र शाह समूहका कपिल श्रेष्ठले कुटेको आरोपमा नन्दु सरकार समूहका मान्छेले लगाएका छन् ।
कारागारभित्र मुख्यगरी यी दुई समूहबीच झगडा र टकराव हुन थालेपछि प्रशासनले धमाधम सरुवा गरेको थियो । त्यसपछि यी समूहहरू छिन्नभिन्न भएर कमजोर भएका थिए । यी समूह कमजोर भएपछि अन्य व्यक्तिले कारागारमा आफ्नो प्रभुत्व जमाउन खोजे । ‘प्रभुत्व जमाउन खोज्ने समूहबीचकै इगो र झगडाले अहिलेको अवस्था आएको हो,’ एक अधिकृतले अनलाइनखबरसँग भने ।
खुकुरी प्रहारमा जेल कनेक्सन देखिएपछि सरुवा गरिएको थियो नन्दु समूह
प्रहरीका अनुसार जयन्द्र शाह समूहका भनिएका व्यक्ति भुपेन्द्र बडुवालको २३ कात्तिक २०७८ मा हत्या भएपछि नवीन रावल नेतृत्वको नन्दु सरकार समूहका १९ जना कारागार चलान भएका थिए । जो अहिले पनि कारागारमै छन् ।
नन्दु सरकारका धेरै व्यक्ति कारागारमा रहे पनि बाहिर आक्रमण भने रोकिएन । त्यसको पछिल्लो उदाहरण गत १५ जेठमा टीकापुरमा कफी पिइरहेका एक व्यक्तिमाथि खुकुरी प्रहार भएको थियो ।
खुकुरी प्रहारमा संलग्न व्यक्ति र कारागारमा रहेका नन्दु सरकारका मान्छेसँग कनेक्सन देखिएको थियो । त्यसपछि कैलाली कारागारमा रहेका नन्दु सरकारका धेरै कैदीबन्दीको सरुवा गरिएको थियो ।
३ असारमा कैलाली कारागार प्रशासनले नन्दु सरकारका महेश रावल, रोशन शाही, रोहित आले, अशोक रावललाई दाङ कारागारमा सरुवा गरेको थियो ।
त्यतिबेलै कैलालीबाट बर्दिया कारागारमा सन्तोष भनिने सविनजंग शाही, प्रवीण रिमाल, सोहन शाह, विकास शेरचन, धिरज भनिने दीपेन्द्र शाही सरुवा भएका थिए ।
नवीन रावल, अनुज भनिने चिरञ्जीवीजंग शाही, हिमाल शाही र हेमन्तबहादुर शाही दैलेख कारागारमा सरुवा भएका थिए ।
आफ्नो समूहका व्यक्तिलाई सुटुक्क कारागार सरुवा गरिएको भन्दै यो समूह चिढिएको थियो । जुन कुरा कैदीहरूले मानव अधिकार आयोगलाई लेखेको पत्रबाट समेत थप प्रष्ट हुन्छ ।
‘कानुन र प्रक्रियाबमोजिम गरिने स्थानान्तरणको विषय परिवारका सदस्यलाई समेत जानकारी नदिई रातिराति स्थानान्तरण गरियो,’ कैदीबन्दीका तर्फबाट आयोगलाई लेखिएको पत्रमा उल्लेख छ ।
गोली हानेर समातिएका नन्दु सरकारका सदस्य पनि घाइते
घाइते हुनेहरूको सूचीमा प्रहरीले केही समयअघि गोली हानेर पक्राउ परेका व्यक्तिसमेत छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीको विशेष टोलीले २८ जेठमा गोली चलाएर रिदम ढुंगाना र मिलन चन्दलाई पक्राउ गरेको थियो । ज्यान मार्ने उद्योगको आरोपमा फरार रहेका उनीहरूलाई पक्राउ गरेर कार्यालय ल्याइँदै थियो ।
भजनी गाउँपालिका-७ मा आएपछि पिसाब फेर्ने निहुँ बनाएर भाग्न खोजेको भन्दै प्रहरीले गोली हान्यो । उनीहरू गत १५ जेठमा टीकापुर नगरपालिका-१ का एक व्यक्तिमाथि खुकुरी हानेको घटनामा पक्राउ परेका थिए । अदालतको आदेशपछि पुर्पक्षका लागि कारागार चलान भएका उनै मिलन अहिले घाइते भएका छन् ।
उनीहरू नन्दु सरकार समूहमा आबद्ध रहेको प्रहरीको भनाइ छ । विगतका घटनाहरूको दुश्मनी र त्यसको बदला लिन आक्रमणमा उत्रिने गरेको प्रहरीले बताउँदै आएको छ ।
त्यतिबेला खुकुरी खाने व्यक्ति कैलालीमै रहेको जयन्द्र शाह समूहमा आबद्ध रहेको प्रहरीको भनाइ छ । त्यसैको बदलामा नन्दु सरकार समूहका व्यक्तिले आक्रमण गरेको प्रहरी स्रोत बताउँछ ।
पछिल्लो समय कैलालीमा जयन्द्र शाह र नन्दु सरकार (नन्दु स्वाइड) समूह बनाएर गुण्डागर्दीमा संलग्न रहँदै आएका छन् । ठेक्कापट्टा र चन्दा असुलीबाट उदाएको यो समूह पहिले एउटै थियो । पछि फाटो आएपछि दुई समूहमा विभक्त भएको थियो । त्यसपछि सुरु हुन थालेको दुश्मनी अहिलेसम्म पनि निरन्तर रहेको एक प्रहरी अधिकारी बताउँछन् ।
डेढ महिना अघि अर्का कैदीको मृत्यु
कैलाली कारागारमा करिब डेढ महिनाअघि पनि एक व्यक्तिको पनि रहस्यमय मृत्यु भएको थियो । बैंकिङ कसुरको मुद्दामा दोषी ठहर भएका डडेल्धुरा भागेश्वर गाउँपालिका-५ का २८ वर्षीय हरिसिंह पालीको २ असारमा कैलाली कारागारमा मृत्यु भएको हो ।
२९ जेठमा पक्राउ परेर कारागार पठाइएका पाली मृत्यु घटनामा अहिले नेपाल प्रहरीका असई नै पुर्पक्षका लागि कारागारमा छन् । जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत असई हरिजित नाथलाई अदालतले पुर्पक्षका लागि कारागार चलानको आदेश दिएसँगै उनी कारागारमा छन् ।
राति एक्कासि बिरामी परेको भन्दै पालीलाई सेती प्रादेशिक अस्पताल धनगढी लगिएको थियो । अस्पताल पुर्याएको केही समयमै उनको ज्यान गयो । असई नाथबाटै हत्या भएको आरोप लगाउँदै परिवारले जाहेरी दिए ।
नाथविरुद्ध जाहेरी दिनुको पछाडि पालीलाई कारागार पुर्याउने पनि उनै थिए । उनैले दिएको जाहेरीको आधारमा पालीलाई २ लाख जरिवाना र १० कैदको सजाय सुनाइएको थियो ।
पालीको मृत्यु भएपछि पोष्टमार्टम रिपोर्टमा समेत शरीरमा चोटपटक रहेको भन्ने उल्लेख भएपछि असई नाथ कारागार चलान भए । यो घटनाको छानबिनका लागि पनि त्यतिबेला सहायक सीडीओ किरण जोशीकै नेतृत्वमा समिति बनाइएको थियो । उक्त समितिले समेत कुटपिट भएको देखिएको भन्ने रिपोर्ट दिएको थियो ।
डेढ महिनाको अवधिमा पाली र चौधरी गरी दुईजनाको कैलाली कारागारभित्रै ज्यान गएको छ । करिब ५० जना घाइते छन् । तीमध्ये २ जनाको अवस्था अहिले पनि गम्भीर रहेको बताइन्छ । पटकपटक कारागारभित्र झडप हुँदा त्यहाँ रहेका कैदीबन्दीहरू असुरक्षित हुँदै आएका छन् ।
३१ असार २०८० मा पनि कैलाली कारागारमा अनुगमन गर्न गएका प्रहरीमाथि कैदीबन्दीले आक्रमण गरेका थिए । त्यतिबेला कैदीबन्दीहरूले कारागारभित्रै मोबाइल चलाएको पाइएको थियो । १५ थान मोबाइल र ३३ थान चार्जर एक लाख ४ हजार भारु समेत बरामद भएको थियो ।
२२ जेठ २०८० मा कारागारभित्रै मदिरा र लागुऔषध बिक्री हुने गरेको पाइएको थियो । मदिरा पिएर झगडा गरेपछि यो विषय बाहिर आएको थियो ।
त्यसपछि १६ कैदीबन्दीको सरुवा गर्नुको साथै कारागार सुरक्षा प्रमुख पनि फेरिएका थिए । योभन्दा अघि जेलभित्रै लागुऔषध कारोबार भएको पाइएपछि १९ माघ २०७९ मा प्रहरी र जेलरको जिम्मेवारी खोस्दै अन्यत्र सरुवा गरिएको थियो ।
सुरक्षामा गम्भीर चुक
यो घटनाबारे कारागार प्रशासनदेखि त्यहाँको सुरक्षाका लागि खटिएको टोली, जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय, कारागार व्यवस्थापन विभाग, गृहमन्त्रालय, प्रधानमन्त्री कार्यालयसम्म जानकार थिए ।
कारागारभित्रै विभिन्न समूहका नाममा अवैध गतिविधि, धम्की, लागुऔषध कारोबारसम्मका हुने गरेको र आफूहरू असुरक्षित रहेको भन्दै ५९० कैदीबन्दीले १४ साउनमा राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन दिएका थिए ।
आयोगको सुदूरश्चिम प्रदेश कार्यालय धनगढीमा निवेदन आएपछि आयोगले १९ साउनमै आवश्यक पहल गर्न भन्दै जिल्ला कारागार कार्यालयलाई पत्र लेखेको थियो । पत्र प्रधानमन्त्री कार्यालयसम्मलाई समेत बोधार्थ दिइएको थियो ।
आयोगकी मानव अधिकार अधिकृत मन्दिरा श्रेष्ठको हस्ताक्षर गरेको उक्त पत्रमा भनिएको छ, ‘निवेदनमा जिकिर गरिएअनुसार आन्तरिक सुरक्षाका लागि त्यहाँ कार्यालय, मातहत निकाय, कर्मचारी तथा तालुक कार्यालय र सरोकारवाला निकायसँग के-कस्तो प्रशासनिक र समन्वयतात्मक कार्यहरू सम्पन्न भएका छन् ? पत्र प्राप्त भएको मितिले १५ दिनभित्र आयोगको यस कार्यालयमा उपलब्ध गराउनू र निर्देशनअनुसारको काम कारबाही गर्नू ।’
कारागारभित्र बेथिति र असुरक्षा बढेको पूर्वजानकारी हुँदासमेत प्रशासन निरीह देखिएको छ । जबकि, यस घटनामा गृहमन्त्रीदेखि प्रधानमन्त्रीसम्मलाई जानकारी गराइएको थियो ।
यति हुँदाहुँदै सुरक्षा संवेदनशिलतालाई ख्याल नराख्दा ठूलो दुर्घटना भएको देखिन्छ । प्रधानमन्त्री कार्यालयसम्म घटनाको पूर्वजानकारी गराए पनि समयमै इन्टरभेन्सन नहुनु ठूलो कमजोरी रहेको पूर्वडीआईजी हेमन्त मल्ल ठकुरीको बुझाइ छ ।
‘आयोगले पहिल्यै पत्रसमेत पठाएको रहेछ । तर प्रशासन चनाखो भएको देखिएन । यसमा राज्यको ठूलो कमजोरी देखिन्छ,’ उनले भने ।
प्रतिक्रिया 4