Comments Add Comment

सरकारले नखोल्नू भने पनि खुल्न थाले फुटसल र जिमखाना

२१ साउन, काठमाडौं । सरकारले चार महिना लामो लकडाउन अन्त्य गरे पनि केही क्षेत्रहरुलाई जोखिमको क्षेत्र भनेर खुला नगर्न भनेको छ । तर, सरकारले दिएको निर्देशन पालना भने भएको छैन ।

सरकारले नखोल्नु भनेका सैलुन, जिमखाना र फुटसलहरु सबै खुलिसकेका छन् । सरकारले भनेअनुसार शैक्षिक संस्थाहरू भने अहिलेसम्म बन्द नै छन् ।

सरकारले सभा समारोह, प्रदर्शन गर्न पाइने छैन भनेको छ । सिनेमा हल, डान्सबार, पुस्तकालय, संग्रहालय, समूहमा खेलिने खेल, स्वीमिङ पुलहरू पनि खुला नहुने भनिएको छ । सरकारले तोकेका २० क्षेत्र बाहेक अरू अन्तर्राष्ट्रिय सीमा नाका पनि बन्द नै छ ।

तर, सरकारले खोल्न नभनेका सैलुनहरुका साथै समुहमा खेल खेलिने फुटसलहरु पनि खुलेका छन् । नियमितरुपमा व्यायाममा रमाइरहेकाहरु जीमखानामा जान थालिसकेका छन् । फुटसल र जीमखानामा निकै भिडभाड देखिन थालेको छ ।

‘हामी चिनजानकै छौं, डर छैन’

मंगलबार बिहान बानेश्वरमा रहेको फुटसलमा पुग्दा २ वटा टिम भिडिरहेका थिए । खेलाडीको स्वर एउटै थियो ‘स्वस्थ रहनका लागि खेल्नै पर्‍यो !’

बानेश्वरमा रहेको ‘बानेश्वर फुटसल’ पनि अहिले सञ्चालनमा छ । विहानै खेलाडीहरु पुग्छन् । त्यहाँ प्रवेशका लागि फुटसल सञ्चालकले केहि सतर्कता भने अपनाएको छ । गेटमा समय-समयमा स्यानिटाइज गर्ने गरेको छ ।

मैदानभित्र पस्नु पूर्व खेलाडीहरुलाई स्यानिटाइजर पनि फुटसल सञ्चालकले नै उपलब्ध गराएको छ । आफ्नो समूह भन्दा बाहिरका अन्य समूहसँग नखेल्न आग्रह गरिएको छ । खेलाडीहरु संक्रमणको खतरा धेरै मानेका छैनन् ।

‘हामी ३ वर्षदेखि नियमित खेलिरहेका थियौं, बीचमा लकडाउन भएपछि ४ महिना बन्धक भयौं’ एक खेलाडीले भने, ‘सरकारले लकडाउन पनि खुलाएपछि हामीले खेलेको हो ।’

‘लकडाउन खुलाए पनि फुटसल त बन्दै राख्न भनेको छ नि ?’ भन्ने जिज्ञासामा उनी भन्छन्, ‘अब त्यो त सरकारले पनि सोच्नुपर्ने कुरा हो, सधै‌ं बन्द गरेर पनि त भएन नि ।’

हामीले उनलाई कोरोना संक्रमणको जोखिम कायमै रहेका बेला डर लागेको छैन भन्ने जिज्ञासा राख्यांै । उनले सबैजना चिनजानकै मान्छे भएका कारण पनि कसैलाई संक्रमण छ भन्ने डर नलागेको सुनाए ।

खेल्नुभन्दा अगाडि-पछाडि स्यानिटाइजर प्रयोग गर्ने भएका कारण पनि कोरोनाको त्यस्तो डर नभएको उनले बताए ।

‘खेल खेल्नु स्वास्थ्यका लागि पनि राम्रो हो, विहानै खेल हुन्छ भने पछि समयमा नै उठिन्छ’ खेलाडी सञ्चित भारती भन्छन्, ‘यो खेल नहुने भए त निकै अल्छे भइन्थ्यो, खेल भएर राम्रो भएको छ ।’

सञ्चालकको पीडा- भाडा तिर्न गहना बेच्नु परेको छ

सरकारले फुटसल बन्द नै राख्नु भने पनि सञ्चालकहरुले खुलाएका छन् । फुटसल खुलाउनु पनि बाध्यता भएको उनीहरु बताउँछन् । राष्ट्रिय फुटवल टिमका पूर्वखेलाडी मनसाजन राजभण्डारी पनि फुटसल सञ्चालक हुन् ।

उनले चार महिना अवधिभर फुटसल बन्द नै राखे । लकडाउन खुलेपछि भने उनले सञ्चालनमा ल्याएका छन् । फुटसल खोल्नु रहर नभई बाध्यता भएको बताउँछन् । लाखौँ भाडा तिर्न नै निकै समस्या पर्ने भएपछि बाध्य भएर खोल्नु परेको उनी बताउँछन् ।

उनले नियमित खेल्ने र चिनाजानकालाई मात्र खेल्न दिने गरेका छन् । सकेसम्म उच्च सुरक्षा सतर्कता अपनाएर खेल्न दिने गरेको गरेको उनी बताउँछन् ।

चार महिना लकडाउन हुँदा आफ्नो व्यवसाय चौपट भएको उनी बताउँछन् । फुटसलमा आम्दानी नहुँदा गहना बेचेर भाडा तिर्नु परेको अनुभव उनले सुनाए ।

बैंकको ऋण लिएर लगानी गरिएको तर आम्दानी नहुँदा ब्याज र किस्ता तिर्न पनि नसकिएको भन्दै उनले व्यवसाय ठप्प हुँदा साह्रै समस्या खेप्नुपरेको बताए । ‘हरेक महिना यर्हीँबाट कमाइ गरेर हामीले बैंकलाई ऋण तिर्ने हो’ उनले भने, ‘त्यो पैसा तिर्न नसकेपछि त गाह्रो पर्ने भयो, घरबेटीले पनि मान्नुभएन, वहाँहरुले पनि हाम्रो पनि समस्या छ भने पछि मैले गहना बेचेर भाडा तिरेको छु ।’

उनले स्वीमिङ, स्पा र रेष्टुरेन्ट खोल्न नपाउँदा साह्रै समस्यामा परेको बताए । अहिले कमाउने भन्दा पनि टिक्नमात्रै चाहेको उनको भनाइ छ ।

जिमखानाको कथा….

स्वस्थ रहनका लागि कसरत गर्ने अर्को ठाउँ भनेको जिमखाना हो । सरकारले जिमखानाहरुलाई पनि खोल्न अनुमति दिएको छैन । तर, धेरै जिमखानाहरु सञ्चालनमा आइसकेका छन् ।

हामी वर्ल्ड ट्रे सेन्टरको पाँचौ तल्लामा रहेको जेस्मिन फिटनेस क्लव एण्ड स्पामा पुग्यौं । बुधबार साझ त्यहाँ पुग्दा केही व्यक्तिहरु जिम सकेर बाहिरिरहेका थिए । कोही प्रवेश गर्दै थिए ।

हामीले एक व्यक्तिलाई सोध्यौँ । ‘कति भयो जिम आउनु थाल्नु भएको ?’ उनले करिब १० दिन जति भएको सुनाए ।

यो पनि पढ्नुहोस नखोल्नू भन्दाभन्दै खुले काठमाडौंका सैलुन

जिमखानामा एकजना सुरक्षा गार्ड र सोधपुछ कक्षमा एकजना कर्मचारी मात्र थिए । जिमखानाका विषयमा उनीहरु बोलेनन् । यद्यपि, सुरक्षा सतर्कता भने राम्रै अपनाइएको पाइयो । लिफ्टबाट झर्ने वित्तिकै स्यानिटाइज । पुनः गार्डले ढोकामा स्यानिटाइजर लगाउने, ज्वरो नाप्ने गरेपछि मात्रै भित्र प्रवेश ।

त्यहाँ रहेका कर्मचारीका अनुसार जिमखाना लकडाउन खुलेपछि सञ्चालनमा आएको हो ।

सीटीसी मलको आठौं तल्लामा फिटनेश सेन्टर नामको जिमखाना छ । मंगलबार साँझ हामी पुग्दा २ जना कर्मचारी र ६ जना अन्य व्यक्ति थिए ।

भित्र प्रवेश गर्ने वित्तिकै कुर्सीमा बसेका एक व्यक्ति डराएको शैलीमा हाम्रो छेउमा आइपुगे । ‘केका लागि होला ?’ उनले आत्तिँदै हामीलाई सोधे । क्यामेरा र माइक देखेकाले उनी थोरै हतास देखिए ।

हामीले अनलाइनखबरबाट आएको भनेपछि उनले शुरुमै भने, ‘हाम्रो बन्द नै छ, खुलेकै छैन ।’

उनले फोटो तथा भिडियो नखिचिदिन आग्रह गरे । काउन्टरमा एकजना महिला कर्मचारी थिइन् । नजिकै ५/७ जनाको समूह बसेको थियो । उनीहरु पनि हामी तिरै हेरिरहेका थिए ।

उत्तरढोकास्थित मेट्रोपार्कमा रहेको जिमखानामा पुग्दा त्यहाँ रेस्टुरेन्ट सञ्चालनमा रहेको तर जिमखाना र स्पा भने नखोलिएको त्यहाँ भेटिएका कर्मचारीले सुनाए । ‘सरकारले खोल्नु भनेको छैन, कर्मचारीहरु पनि गाउँ गएका कारण अहिले हामीले खोलेका छैनौँ,’ ती कर्मचारीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment