Comments Add Comment

‘यो जुँगाको लडाइँ होइन, ओली गुट र पार्टीवीचको अन्तरविरोध हो’

'कमिसनखोरहरुको घेराऊमा बसेर अग्रगमनको यात्रा सम्भव छैन'

यतिबेला हाम्रो पार्टी नेकपा एउटा विशिष्ट अवस्थाबाट, एउटा विशेष कालखण्डबाट गुजि्ररहेको छ । हामी बेलाबखतमा कहिले प्रतिक्रियावादी तानाशाही व्यवस्थाका विरुद्धमा जुध्छौं, कहिले नयाँ परिस्थिति आउँछ, निर्माणका काममा अगाडि बढ्छौं । र, कहिले आफैंभित्र पनि चुनौतीहरु पैदा हुन्छन् र ती चुनौतीहरुका विरुद्ध जुध्नुपर्ने हुन्छ । अहिले हामी नेकपाको आन्तरिक चुनौतीका विरुद्धमा जुधिरहेका छौं । विशेष गरेर यतिबेला अन्तरपार्टी संघर्ष बडो जटिल ढंगले अगाडि बढ्दैछ ।

यो अन्तरसंघर्षका सन्दर्भमा अहिले मिडियामा जुन ढंगले कुराहरु आइरहेका छन्, जुन ढंगले सम्प्रेषणहरु भइरहेका छन्, त्यो नितान्त केपी ओली र प्रचण्डका वीचमा यो पदको लडाइँ हो भन्ने ढंगले आइरहेको छ । केपी ओलीले जुन ढंगले काम गर्न सकेका छन्, उनले नै राम्ररी काम गर्न सकेका छैनन्, प्रचण्ड आए भने के काम हुन्छ ? त्योभन्दा पनि राम्रो हुँदैन भन्ने ढंगले प्रचारबाजी भइरहेको छ । यो नितान्त व्यक्तिहरुको लडाइँ हो, यो जुँगाको लडाइँ हो, पदको लडाइँ हो, यो आफ्नैखालको लाभ प्राप्तिको लडाइँ हो भन्ने ढंगले अहिले एकथरि मिडियाले प्रचारबाजी गरिरहेका छन् ।

आखिर के हो त यो ? हामी केको लडाइँ गरिराखेका छौं ? यो लडाइँको उद्देश्य के हो ? यी उद्देश्यहरुका बारेमा स्पष्ट हुन र नेपाली जनतालाई स्पष्ट पार्न अहिलेको अत्यावश्यक कुरा हो ।

नेपाली जनता र आम कार्यकर्तामा धेरैखालका भ्रमहरु छन् । हामीले अहिले यसलाई आन्तरिकरुपमा मात्रै लिने गरेका छौं । आन्तरिकरुपमा पनि हामी कमिटीगत लडाइँ लडिरहेका छौं । कामरेड केपी ओलीलाई रुपान्तरण गर्न सकिन्छ कि, सम्झाउन सकिन्छ कि, समझदारीमा रुपान्तरिक गर्न सकिन्छ कि ? यस कुरामा हाम्रा प्रयत्नहरु बढी केन्दि्रत रहिरहेको अवस्था छ ।

तर, बाहिर जुन ढंगले प्रचार गरिएको छ, एकथरिले राष्ट्रव्यापीरुपमा एउटा गुटबन्दी चलाइरहेको छ । कमरेड केपी ओलीको नेतृत्वमा एउटा मदन भण्डारी फाउन्डेसन निर्माण भएको छ । त्यो मदन भण्डारी फाउन्डेसनले अहिले राष्ट्रव्यापीरुपमा, जिल्ला-जिल्लामा मात्र होइन, पालिका र वडा-वडासम्म पनि कमिटीहरु निर्माण गरेको छ । ती कमिटीहरुले पार्टीको एक पक्षलाई, अथवा हामीलाई विभिन्न ढंगले खण्डन गर्ने, आलोचना गर्ने कामहरु गरिरहेको छ । र, यो -फाउन्डेसन) नै पार्टी हो, हामीले आवश्यक पर्दा यही पार्टी घोषणा गर्छौं भन्ने ढंगबाट प्रचार चलाइरहेको अवस्था छ । यसरी पार्टीमा व्यापकरुपले गुटबन्दी भइरहेको छ । यो गुटबन्दीका विरुद्ध हामी जुध्दैछौं ।

यो गुटबन्दी अहिलेमात्र होइन, अलि अगाडिदेखि नै सुरु भएको हो । हामी पूर्वएमाले, पूर्वमाओवादी हुँदादेखि नै पनि हाम्रो पार्टीभित्र केही समस्याहरु थिए । पूर्वएमालेभित्रै पनि केही समस्याहरु थिए । त्यतिबेला पनि कमरेड केपी ओली विभिन्न ढंगका गुटबन्दी गर्ने गर्नुहुन्थ्यो । त्यो गुट अब एकता भइसकेपछि समाप्त हुन्छ र सबै गुटहरु समाप्त हुन्छन् भन्ने हाम्रो आशा थियो । तर, गुटहरु समाप्त भएका छैनन् । त्यसमाथि सबभन्दा प्रवल गुटचाहिँ केपी ओलीकै गुट छ ।

केपी ओलीको गुट र पार्टीवीचको अन्तरविरोध निरन्तर चर्को हुँदै आइरहेको छ । अब अहिले करिब-करिब यो बिस्फोटनको अवस्थामा आइपुगेको छ ।

कसरी यस्तो हुन गयो ?

तपाई हामीलाई थाहा छ, कमरेड पुष्पलालले यो देशमा कम्युनिस्ट पार्टीको स्थापना गर्नुभयो र नयाँ जनवादी क्रान्तिको थालनी गर्नुभयो । त्यो क्रान्तिको क्रममा अनेकन चरणहरु, अनेकन घुम्तीहरु र अनेकन मोडहरु पार गर्दै अगाडि बढेर आयो । २०६२/०६३ मा आएपछि हामीले यो देशमा सुरुवात भएको नयाँ जनवादी क्रान्ति सम्पन्न गर्‍यौं । सफलतापूर्वक सम्पन्न गर्‍यौं । हाम्रो आफ्नै देशको विशिष्ठता अनुरुप सम्पन्न गर्‍यौं ।

जनवादी क्रान्ति सम्पन्न भइसकेको छ । यसलाई पुँजीवादी-जनवादी क्रान्ति भन्नोस्, वा कसैले त्यसलाई जनताको बहुदलीय जनवादी क्रान्ति पनि भन्ने गरेका छन् । कसैले त्यसलाई राष्ट्रिय जनवादी क्रान्ति पनि भन्ने गरेका छन् । कसैले जनताको जनवादी क्रान्ति पनि भन्ने गरे । तर, जसले जे भने पनि यथार्थमा, सारमा हामीले ०६२/०६३ को क्रान्तिको दौरान यो देशमा पुँजीवादी-जनवादी क्रान्ति सम्पन्न गयौं ।

यो क्रान्ति सम्पन्न भइसकेपछि हामी स्वाभाविकरुपमा समाजवादी क्रान्ति र निर्माणको युगमा प्रवेश गर्‍यौं ।

ऐतिहासिक भौतिकवादलाई ध्यानमा राख्ने हो भने एउटा सामाजिक- आर्थिक संरचना समाप्त हुनेवित्तिकै अर्को सामाजिक आर्थिक संरचना सुरु हुन्छ । एउटा क्रान्तिको प्रक्रिया समाप्त हुनेवित्तिकै अर्को क्रान्तिको प्रक्रिया सुरुवात हुन्छ ।

आमरुपमा क्रान्तिहरु दुईवटा धारमा विभाजित हुने गरे ः एउटा जनवादी क्रान्ति र अर्को समाजवादी क्रान्ति । विकसित देशहरुमा समाजवादी क्रान्ति मात्रै भयो । तर, विकासोन्मुख मुलुकहरुका क्रान्तिहरु दुईवटा भागमा विभाजित हुन्छन् भनेर माओत्सेतुङले भन्नुभो । त्यसअनुरुप नै हाम्रो क्रान्ति दुईवटा भागमा विभाजित भयो । यसअनुरुप पहिलो चरण हामीले समाप्त गर्‍यौं । अब हामी दोस्रो चरणमा प्रवेश गरेका छौं ।

दोस्रो चरणमा प्रवेश गर्नु भनेको एउटा ऐतिहासिक उपलब्धी हो । यो उपलब्धी प्राप्त भइसकेपछि हामीले दुईवटै पार्टीहरु एकतावद्ध पनि गर्‍यौं । नयाँ संविधान पनि निर्माण गर्‍यौं । नयाँ निर्वाचन गर्‍यौं र निर्वाचनबाट असाधारण उपलब्धी हासिल गर्‍यौं । हामीले केन्द्रमा दुईतिहाई बहुमतको सरकार बनाएका छौं । ६ वटा प्रदेशहरुमा हाम्रै सरकार छन् । स्थानीय तहमा ६० प्रतिशत भन्दा बढी हामीले जितेका छौं । यो असाधारण अवसर र अत्यन्त ठूलो उपलब्धि हो ।

यस्ता उपलब्धीहरु प्राप्त गरिसकेपछि हामी अब समाजवादतर्फ कसरी जाने ? संविधानले समाजवादको आधार पनि तयार गरेको छ, अब हामीले अघि बढ्ने बाटो के हो ? अब यसबारे छलफल गर्ने, विचार गर्ने, विश्लेषण गर्ने र एउटा संश्लेषण गरेर नेपालको आफ्नै मौलिकतासहितको समाजवाद यस्तो हुन्छ भनेर समाजवादी कार्यदिशा निर्माण गरेर अगाडि बढ्नुपर्ने आवश्यकता छ ।

सरकार बन्यो । यो सरकार एउटा पुँजीवादी ढाँचा र ढर्राको सरकार होइन । एउटा पुँजीवादी पार्टीले बनाएको सरकार होइन, कम्युनिस्ट पार्टीले बनाएको सरकार हो । अहिले हामीले अपनाएको व्यवस्था संसदीय नै भएता पनि यो परम्परागतखालको संसदीय व्यवस्था होइन, परम्परागतभन्दा केही भिन्न विशेषतासहितको संसदीय व्यवस्था हो । यसलाई हामीले संविधानमा उल्लेख गरेका छौं ।

यो व्यवस्थाभित्र अब सरकार कसरी सञ्चालन गर्ने ? पुरानो संसदीय व्यवस्थामा प्रधानमन्त्री बनेपछि ऊ ‘अल इन अल’ हुन्छ । उसैले क्याबिनेट निर्माण गर्छ, नीति निर्माणहरु सारा उसैले गर्छ । सम्पूर्ण कुरा उसैले सञ्चालन गर्छ । तर, हामी त्योभन्दा भिन्न अवस्थामा छौं । समाजवादको दिशातर्फ जाने कम्युनिष्ट पार्टीको नेतृत्वमा यो सरकार बन्यो । यो सरकार स्वाभाविकरुपले प्रधानमन्त्री ‘अल इन अल’ हुने सरकार होइन । सुरुदेखि नै हामीले नयाँ अवधारणाका आधारमा अगाडि जानुपर्ने आवश्यकता थियो । तर, त्यही पुँजीवादी ढाँचा र ढर्रामा यो सरकारको सञ्चालन हुन थाल्यो ।

पार्टीले उहाँ -ओली) लाई प्रधानमन्त्री बनायो । पार्टीले निर्वाचन लड्यो । संसदीय दलले निर्वाचन गर्‍यो । तर, त्यो संसदीय दल र पार्टीलाई उहाँले आफ्नो उचाइमा पुग्ने भर्‍याङ बनाइदिनुभयो । न संसदीय दलसँग मतलब छ । न पार्टीसँग मतलव छ । न पार्टीका नीतिसँग मतलव छ । न घोषणापत्रसँग मतलव छ । न हाम्रा उद्देश्यसँग मतलव छ । कुनै पनि कुराहरुसँग मतलव नराखिकन उहाँले क्याबिनेट फर्मेसन गर्नुभयो ।

केही कुराहरुमा अर्का अध्यक्षसँग शायद अर्को समूह पनि एकतावद्ध भएको हुनाले सल्लाह लिनुभयो होला, तर पार्टी कमिटीसँग उहाँले कहिल्यै पनि सल्लाह गर्नुभएन । पार्टी कमिटीसँग सल्लाह गरेर उहाँले क्याबिनेट बनाउनुभएन । उहाँले आफ्नो क्याबिनेटमा पूर्वएमाले पनि आफ्नो गुटका मान्छेहरु राख्नुभो । त्यो ढंगले क्याबिनेट बन्यो ।

त्यही ढंगले राष्ट्रिय योजना आयोग बन्यो । अब समाजवादतर्फ जाने हो भने नयाँ प्लानिङ कमिसनले कसरी काम गर्ने ? योजना आयोगको संरचना कस्तो बनाउने ? त्यहाँ कस्ता मान्छेहरुलाई राख्ने । यो कुरामा गम्भीरतापूर्वक सोच्नुपथ्र्यो, यसबारे सोचिएन । ज-जसलाई मन लाग्यो, त्यसलाई उहाँले प्लानिङ कमिसनमा लानुभयो । त्यो प्लानिङ कमिसनका एउटा सदस्य सुशील भट्ट हुन् । उनी आफैंमा कांग्रेस हुन् । उनी विभिन्न एजेन्ट हुन् । त्यस्ता मान्छेलाई लिएर प्लानिङ कमिसन बनाइयो । त्यस्तो प्लानिङ कमिसनले के गर्ने ?

नियुक्तिका कुराहरुमा पार्टी कमिटीमा कहिल्यै सल्लाह भएन । पार्टीसँग नसोधिकन, पार्टीको सल्लाह नलिइकन, विचार-विमर्श नगरिकन एकलौटी ढंगबाट नियुक्तिका कामहरु गर्नुभएको छ । सुशील भट्टसम्म आइपुग्दाखेरि यही देखिएको छ । यसरी मनपरि ढंगबाट चल्ने काम भएको छ ।

राजदूत नियुक्तिमा त्यस्तै छ । राजदूत नियुक्तिमा पनि उहाँले आफ्नो गुटमा मात्रै होइन,आफ्नो इन्ट्रेस्ट ग्रुप -स्वार्थ समूह)का मान्छेहरुलाई पनि नियुक्ति दिने कामहरु गर्नुभयो ।

अरु कम से कम नीति कार्यक्रमहरुमा, मुलुकको सामाजिक-आर्थिक संरचनाहरु निर्माण गर्ने कुराहरुमा, यसमा चाहिँ केही बुद्धि पुग्छ कि भनेर हामीले हेर्‍यौं । तीन-तीनवटा नीति कार्यक्रमहरु आए । यी नीति कार्यक्रमहरु सम्पूर्णरुपले पुँजीवादी नीति कार्यक्रमहरु हुन् । टेक्निकल काममा, सडक निर्माणको काम पुँजीवादी हो कि समाजवादी भनेर चिन्न सकिँदैन, तर जुन ढंगले नयाँ सामाजिक- आर्थिक संरचना निर्माण गर्नुपर्ने थियो, समाजवादको संचरना निर्माण गर्ने हिसाबले नीति कार्यक्रमहरु आएनन् । उदार पुँजीवादी प्रणाली अन्तरगतका नै कार्यक्रमहरु आए ।

त्यसैगरी बजेट आयो । तीनवटा बजेट आए । तर, बजेटलाई जुन प्राथमिकताका साथ ल्याइनुपथ्र्यो, जस्ता आर्थिक र मौदि्रक नीतिहरुलाई अगाडि सारिनुपथ्र्यो, त्यो भएन । बजेट पनि उदार पुँजीवादी दृष्टिकोणबाट नै ल्याउने काम भयो । बजेटमा समाजवादको ‘स’ पनि छैन । एउटा शब्द छ समाजवाद उन्मुख भन्ने । यसले गर्दाखेरि यो सरकार अग्रगतिमा जान सकेन ।

अनेकन दुर्गन्धित मान्छेहरुलाई नियुक्त गर्ने काम गरियो । सुशील भट्टजस्ता मान्छेहरु, कमिसन एजेन्टहरु उहाँका बासस्थानमा जुनसुकै बेलामा पनि पुग्न सक्ने ।

मनमोहन अधिकारीका पालामा विकासको दृष्टिकोणले हामीले ‘९ स’ का कार्यक्रमहरु ल्याएका थियौं । कुनै पनि क्षेत्रमा विवाद भएन । हामीले अरु पनि सरकार सञ्चालन गर्‍यौं, तर विवाद भएन । तर, यो सरकार सञ्चालन भएको अढाइ वर्ष भयो । अढाई वर्षमा त विकास- निर्माण गर्ने हो भने एउटा दिशा दिन सकिन्थ्यो । दुई-चार महिना, एक वर्षमै धेरै कुरा गर्न सकिँदैन । तर, तीन-तीनवटा बजेट आइसके ।

लेनिनले के भन्नुहुन्छ भने कुनै पनि घटना एकपटक घट्यो भने त्यो आकस्मिक हुन्छ । तर, एकचोटि घट्यो, दुईचोटि घट्यो, तीनचोटि घट्यो भने त्यो ठाउँमा कुनै न कुनै नियमले काम गरेको हुन्छ भन्नुहुन्थ्यो । अहिले हामीले तीनवटा बजेट ल्यायौं । एउटा बजेटमा राम्रो तयारी भएन कि भनेर हामीले शंकाको लाभ लिन सकिन्छ । तर, दोस्रो बजेट आयो त्यही लिक, तेस्रो बजेट आयो त्यही लिकको, खोई त अग्रगमन ? खोई समाजवाद ? समाजवादको के नीति आयो ?

हामीले ०६२/०६३ को जनआन्दोलन घोषणा गर्दा त्योबेलादेखि नै भन्दै आएका छौं, हामीले अब नयाँ अर्थतन्त्र निर्माण गर्नुपर्छ । तीनखम्बे अर्थतन्त्र निर्माण गर्नुपर्छ भन्दै आयौं । त्यो तीनखम्बे अर्थतन्त्रको खम्बा खै ? अहिले कुनै खम्बाहरु हामीले बनाउन सकेका छैनौं ।

त्यसो हुनाले हामी अहिले यो खालको राजनीतिक प्रवृत्तिका विरुद्ध लड्दै छौं, यो खालको वैचारिक प्रवृत्तिका विरुद्ध लड्दैछौं ।

अब हामी समाजवाद स्थापनाको बाटोमा अगाडि बढ्नुपर्ने आवश्यकता छ । अबको समाजवाद विश्व सर्वहारा वर्गको अग्रदूत कम्युनिष्ट पार्टीको नेतृत्वमा मात्र सम्भव हुन्छ । उसको सचेत प्रयत्नद्वारा मात्र निर्माण हुन्छ, स्वतस्फूर्त रुपमा निर्माण हुँदैन । मार्क्सवादले यो घोषणा गरेको छ ।

तर, खै ? आज कम्युनिस्ट पार्टीलाई यो मतलबै छैन । कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्यहरुलाई हाम्रा सम्माननीय प्रधानमन्त्री, आरदणीय अध्यक्ष हुल्लडबाजहरु हुन् भन्नुहुन्छ । हुल्लडबाज Û अनि केन्द्रीय कमिटीको बैठक बोलाऔं न भन्दाखेरि केन्द्रीय कमिटीका सदस्यहरुलाई सडकछापहरु भन्नुहुन्छ ।

समाजवाद भनेको हाम्रो देशको विल्कुल नयाँ यात्रा हो । त्यो नयाँ यात्रामा जाने कार्यदिशा के हुन्छ ? सिद्धान्त के हुन्छ ? लक्ष के हुन्छ ? नीति के हुन्छ ? कार्यक्रम के हुन्छ ? यी कुराहरु हामीले निर्धारण गर्नुपर्ने हुन्छ । र, पार्टी संगठन सम्पूर्णरुपमा परिचालित हुनुपर्छ । संगठनात्मक सिद्धान्त के हो, विधि के हो, पद्दति के हो, यसलाई पालना गरेर अगाडि जानुपर्ने हुन्छ । यसमा नीति र विधि पालना नगरिकन हामी कहिल्यै अग्रगमनतर्फ जान सक्दैनौं ।

अहिले वैचारिकरुपले हेर्दाखेरि अलपत्र अवस्था देखिन्छ । राजनीतिक रुपले दिशाहीनताको अवस्था देखिन्छ ।  सैद्धान्तिकरुपले पनि अलपत्र अवस्था देखिन्छ । कहाँसम्म जाने हो ? कमिसनखोरहरुको घेराऊमा बसेर हामी अग्रगमनको यात्रा गर्न सक्छौं ? यो सम्भव छैन ।

त्यसोभएको हुनाले हामीले पार्टीभित्रका यी प्रवृत्तिहरुका विरुद्ध संघर्ष गर्नुपर्ने आवश्यकता छ । यी प्रवृत्तिहरुलाई हामीले व्यवस्थित रुपले अगाडि ल्याएका छौं । यसलाई डकुमेन्टेसन गर्नुपर्ने आवश्यकता छ । आवश्यकता अनुरुप पार्टीले यसलाई डकुमेन्टेसन गर्छ ।

(नेकपाका बरिष्ठ नेता खनालद्वारा बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा व्यक्त विचारको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको हो । पार्टी निकटका पत्रकारसँगको सो भेलामा प्रचण्ड, झलनाथ खनाल, माधव नेपाल नारायणकाजी श्रेष्ठसहित चारजना नेताहरुले बोलेका थिए ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment