Comments Add Comment

लकडाउनको असर : सिजनमै ‘ब्राण्डलेस’ पहिरन बजार

काठमाडौं । लकडाउनका कारण बन्द रहेको महाराजगञ्जस्थित सुबेग फेसन हाउस खुलेको दुई साता भयो । सरकारले लकडाउन पूर्ण रूपमा अन्त्य भएको घोषणा गरेसँगै बजारमा बाक्लै चहलपहल बढेको थियो ।

पूर्णतः भारतीय कपडा बिक्री गर्ने यो फेसन घरमा भारतबाट तीजको लागि ल्याउनुपर्ने सामान पनि यही मौकामा केही भित्र्याइएको थियो । तर केही दिनदेखि बिस्तारै ग्राहकको संख्या कम हुन थालेको सुबेग फेसनकी सञ्चालिका लीला केसी बताउँछिन् ।

उनी यसवर्ष बजारमा नयाँ ब्राण्डको कुर्ता आउने सम्भावना कम भएको बताउँछिन् । ‘दुई वटा नयाँ ब्रान्ड त आएको छ । तर हामीले भारतबाट सामान ल्याउने र लकडाउनका कारण भारतमा समेत नयाँ ब्राण्डको सामान बन्न छाडेकाले बजारमा नयाँ ब्राण्डको सामान पाउन मुस्किल छ ।’

अहिलेकै अवस्था लम्बिँदै जाने हो भने दशैंमा बिक्री गर्ने कपडा नै पाउन मुस्किल रहेको विक्रेताहरू बताउँछन् । पोहोर परार महिलाको लागि धेरै ब्राण्डका कपडा बजारमा पाउन सकिन्थ्यो । तर साउन सकिनै लाग्दा समेत सुस्ताएको बजार उक्सिन नसकेपछि फेसनको कपडा बेच्ने पसलहरू समस्यामा रहेको सञ्चालकहरू बताउँछन् ।

कोरोना भाइरस (कोभिड–१९) को असरले चाडपर्वको बेलैमा बजार ब्राण्डलेस बन्दै गएको छ । यो नयाँ ब्राण्ड बेचेर आम्दानी गर्ने सिजन भए पनि साउन सकिनै लाग्दा समेत फेसन बजारमा उत्साह देखिन सकेको छैन ।

न्युरोडको फेसन सदन विशेषतः भारतीय बजारबाट साडी किनेर नेपाली बजारमा बेच्ने पसल हो । सो कम्पनीकी सञ्चालिका बुद्धि नेपाल समग्र व्यापारमा ५० प्रतिशतभन्दा धेरैले गिरावट आएको बताउँछिन् ।

उनी पनि यसवर्ष बजार नयाँ ‘ब्राण्डलेस’ भएको कुरा स्वीकार्छिन् । नयाँ सिजनअनुसार यतिबेला बजारमा खरिदकर्ताको भिड हुनुपर्ने हो तर नेपाल सिजनमा नै बजारमा नयाँ ब्राण्ड देखिन नसकेको र कोरोनाका कारण साउनमा नै बजार सुनसान भएको उनी बताउँछिन् । उनी साबिकको तुलनामा अहिले ५० प्रतिशत पनि व्यापार नभएको बताउँछिन् ।

साउन लागेसँगै व्यापारमा भ्याइनभ्याइ हुने फेसन दुनियाँका विक्रेताहरूको दिन यतिबेला ग्राहक कुरेर नै बित्ने गरेको बताउँछिन् इगल आइज फेसन हाउसकी सञ्चालिका एवं फेसन डिजाइनर राधा सापकोटा ढकाल । उनी आवश्यक सामग्रीको अभावका कारण नेपालमै हुने डिजाइनबाट समेत पर्याप्त ब्राण्ड बजारमा ल्याउन नसकिएको बताउँछिन् ।

ढकालद्वारा सञ्चालित इगल आइज फेसन हाउसले नेपालमा नै नयाँ डिजाइन तयार पार्ने गर्छ । तर नेपाली फेसन तयार पार्ने समयमा जनशक्ति पनि लकडाउनका कारण उपत्यका बाहिर नै थुनिएको परेको र पर्याप्त सामग्री समेत आयात गर्न नसकिएको ढकाल बताउँछिन् । कोभिडकै कारण सिजनको समयमा समेत बजार ब्राण्डलेस भएको उनी बताउँछिन् ।

दशैंमा ब्राण्डेड सामानको अभाव हुन सक्छ

विक्रेताहरू यही अवस्था हुने हो भने दशैंमा ब्राण्डेड सामानको अभाव हुन सक्ने बताउँछन् । अहिले लकडाउन खुलेपछि केही सामग्री आयात गरिएको भए पनि त्यसले दशैंसम्म धान्न नसक्ने र कोरोनाका कारण फेरि लकडाउन हुने हो भने दशैंमा ब्राण्डेड सामानको बजारमा अभाव हुने फेसन सदनकी सञ्चालिका नेपाल अहिले त तीजमा समेत व्यापारमा कति प्रभाव पर्छ भनेर भन्न सक्ने अवस्था नरहेको बताउँछिन् ।

‘तीजमा पनि एक साता अघिमात्रै धेरै व्यापार हुने हो । त्यसैले तीजमा नै कति असर पर्छ भनेर भन्न सक्ने अवस्था छैन ।’ नेपालले भनिन् ‘यस्तै अवस्था हो भने त दशैंसम्म बजारमा ब्राण्डेड सामानको हाहाकार नै हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment