Comments Add Comment

वीरगञ्जका बिरामी हेलिकप्टर चार्टर्ड गरेर धमाधम काठमाडौं

बुधबार उपचारका लागि काठमाडौं आउने क्रममा हेलिकप्टर प्रयोग गर्दै नेकपा पर्साका नेता अरबिन्द सिंह ।

२२ साउन, वीरगञ्ज । पछिल्लो समय वीरगञ्जमा हेलिकप्टर चार्टर गरेर उपचारका लागि काठमाडौं जाने क्रम बढेको छ । हेलिकप्टर चार्टर गर्नेहरु व्यापारी, चिकित्सकका परिवार र नेतासम्म छन् ।
साउन २० गते मंगलबार वीरगञ्जको आर्दशनगरबाट १ जना गर्भवती महिला हेलिकप्टरमार्फत काठमाण्डौ लगियो । वीरगञ्ज महानगरपालिका वडा न. ६ बस्ने गर्भवती रहेकी अनु क्याललाई काठमाण्डौ पठाइएको पर्सा प्रहरीले जनाएको छ ।

यसअघि बुधबार तीन जना हेलिकप्टरबाट उपचारका लागि काठमाडौं गएका छन् । मुटुरोगबाट ग्रसित वीरगञ्ज–१० आदर्शनगर निवासी ६५ वर्षीय घनश्याम चाचन र श्वास प्रश्वासमा समस्या देखिएपछि नेकपाका नेता वीरगञ्ज–४ विर्ताका ४३ वर्षीय अरविन्द सिंह हेलिकप्टर मार्फत थप उपचारका लागि काठमाडौं गएका हुन् । मेडिसीटी अस्पतालमा भर्ना भएका सिंहको स्वास्थ्यमा सुधार आएको उनीसँगै गएका राजन श्रीवास्तवले जानकारी दिए ।

यो पनि पढ्नुहोस वीरगञ्जका नेकपा नेता उपचार गर्न हेलिकप्टर चार्टर्ड गरेर काठमाडौंमा

यस्तै २२ गते बिहीबार वीरगञ्ज–६ निवासी डा. नविन चौधरीकी श्रीमती ३१ वर्षीय अल्काकुमारीलाई पनि उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं लगिएको छ ।

वीरगञ्जका प्रायः सबै अस्पतालमा भेटिएका छन् संक्रमित

वीरगञ्जको एक मात्र सरकारी अस्पताल नारायणी अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द छ । नारायणी अस्पतालमा कार्यरत चिकित्सक, नर्स, सफाइकर्मी गरी ३० भन्दा बढीमा कोरोना संक्रमण फेला परिसकेको छ । दुईवटा निजी अस्पताल कोभिड विशेष अस्पताल बनाइएका छन् भने बाँकी अन्य अस्पतालबाट पनि संक्रमित फेला परेका छन् । त्यसैले गर्दा पैसा र पहुँच भएका मानिसहरुले हेलिकप्टर चार्टर गरेर काठमाडौंका सुविधासम्पन्न अस्पतालमा उपचारका लागि गएको कतिपयको विश्लेषण छ ।

प्रभु अस्पतालका मेडिकल डाइरेक्टर डाक्टर अभिषेक आर्यालले बिरामी रिफर हुने कुनै एउटा निश्चित कारण नहुने बताउँछन् ।  ‘बिरामीको अवस्था गाह्रो छ भनेपछि त्यसका बारेमा परिवारलाई जानकारी गराउँछौं । उपचारका क्रममा बाँच्न पनि सक्छ वा मृत्यु पनि हुन सक्छ । भनेर जानकारी गराउँछौं,’ उनले भने, ‘ कतिपयले हैन ‘जसरी पनि ठिक नै हुनुपर्छ ’ भन्ने डिमान्ड गर्नुहुन्छ । कहिलेकाहीँ साधन सुविधा नभएपछि पनि रिफर गरिन्छ । जोसँग पैसा र पहुँच हुन्छ । एयर एम्बुलेन्स मगाएर सुविधासम्पन्न अस्पतालमा पनि लैजान्छन् । ’

कोरोना महामारीमा वीरगञ्जमा चिकित्सक, स्वास्थ्यकर्मीमा धामाधम संक्रमण देखिएकोले डराएर पनि बिरामीलाई बाहिर उपचारका लागि लगेको हुन सक्ने अनुमान डा. अर्यालको छ ।

जिल्ला प्रशासन कार्यालय पर्सामा हेलिकप्टर चार्टरका लागि सिफारिस गराउन आउने क्रम बढेको छ । दैनिक ३/४ जनाले हेलिकप्टरको व्यवस्था मिलाइदिन आग्रह गर्ने गरेको सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए । ‘हेलिकप्टर चार्टरको अनुमतिका लागि दैनिक औसत तीन वटा जति निवेदन आउँछ,’ उनले भने, ‘हेलिकप्टरको व्यवस्था सम्बन्धित व्यक्तिहरुले नै गर्दै आएका छन् । हामीले गृह मन्त्रालयलाई पत्र लेखेर जानकारी गराउँछौं । ’
केही कोभिड संक्रमितको अवस्था गम्भीर भएपछि हेलिकप्टरमार्फत थप उपचारका लागि काठमाडौं जान खोज्दा भने नपाइरहेको अवस्था छ । सुत्केरी र गम्भीर प्रकृतिका बिरामीलाई हेलिकप्टर मार्फत पठाईएको भएपनि कोभिड संक्रमितलाई लिन भने अहिलेसम्म कुनै हेलिकप्टर नआएको उनी बताउँछन् ।

‘केही कोभिड संक्रमितले पनि अवस्था जटिल छ भनेर काठमाडौ जान खोज्नुभएको थियो । तर कुनैपनि कम्पनीले कोभिड संक्रमितलाई लगेको छैन ।’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment