२३ साउन, काठमाडौं । स्पानिस क्लब सेभिया, जर्मन क्लब बायर लेभरकुजन, इंग्लिस क्लब वल्भ्स र स्वीस क्लब बासेल युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । यससँगै क्वाटरफाइनल पुग्ने ८ टोलीको टुङ्गो लागेको छ ।
सेभियाले इटालियन क्लबल रोमालाई २-० ले पराजित गर्दै अन्तिम आठमा स्थान पक्का गरेको हो । सेभियाको जितमा सर्जियो रेगुइलिनले २२औं र योसेफ एन नेस्रीले ४४औं मिनेटमा गोल गरे । रोमाका जियानलुका मान्सिनी खेलको अन्तिम समयमा रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए ।
कोरोना भाइरस महामारीका कारण पहिलो लेगको खेल हुन नपाएपछि सिंगल लेगकै नतिजाले विजेताको छिनोफानो गरिएको हो ।
यस्तै जर्मन क्लब लेभरकुजनले स्कटिस क्लब रेन्जर्सलाई समग्रमा ४-१ ले पराजित गर्यो । पहिलो लेग ३-१ ले जितेको लेभरकुजनले दोस्रो लेगमा रेन्जर्सलाई १-० ले पराजित गरेको हो । लेभरकुजनका लागि माउसा डियाबीले ५१औ मिनेटमा गोल गरे ।
यसैगरी वल्भ्सले ग्रीक क्लब ओलम्पियाकोसलाई दोस्रो लेगमा १-० ले पराजित गर्दै समग्रमा २-१ को जित हात पारेको छ । पहिलो लेग १-१ को बराबरीमा सकिएको थियो । वल्भ्सका लागि राउल जिमिनेजले खेलको नवौँ मिनेटमा पेनाल्टीबाट गोल गरेका थिए ।
अर्को खेलमा बासेलले जर्मन क्लब एनट्राट फ्राङ्कफुर्टलाई समग्रमा ४-० ले हरायो । पहिलो लेग ३-० ले जितेको बासेलले दोस्रो लेगमा १-० को जित हात पारेको हो । बासेलका लागि फाबियन फेरीले ८८औं मिनेटमा गोल गरे ।
यी चार खेलको नतिजापछि क्वाटरफाइनलमा भिड्ने प्रतिद्वन्द्वीको पनि टुङ्गो लागेको छ । अब सेभियाले वल्भ्ससँग खेल्नेछ भने लेभरकुजनले इटालियन क्लब इन्टर मिलानसँग खेल्नेछ ।
यस्तै बासेलले युक्रेनी क्लब साख्तर डोनेस्कसँग खेल्नेछ । अर्को खेलमा म्यानचेष्टर युनाइटेडले नेडिस क्लब कोभनहेगनसँग खेल्नेछ ।
प्रतिक्रिया 4