+

फुटबल प्रशिक्षणको तयारीमा एन्फा, खेलाडीले आफ्ना लुगा आफैं धुनुपर्ने

२०७७ साउन  २३ गते ९:१८ २०७७ साउन २३ गते ९:१८
फुटबल प्रशिक्षणको तयारीमा एन्फा, खेलाडीले आफ्ना लुगा आफैं धुनुपर्ने

२३ साउन काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले फुटबल खेलाडीलाई अभ्यासमा फर्काउनका लागि यसअघिदेखि नै तयारी थालिसकेको छ ।

राष्ट्रिय टिमको क्याम्पमा रहेका ३४ मध्ये ३३ खेलाडी काठमाडौं आएर कोही होटलमा त कोही घरमै क्वारेन्टिनमा बसिरहेका छन् । केही दिनभित्र एन्फाले खेलाडीको पीसीआर पनि परीक्षण गरेर एन्फाको होस्टलमा राख्ने तयारी गरिरहेको छ ।

नेपाल सरकारले भदौ १ देखि जनस्वास्थ्य र सुरक्षाको मापदण्ड अपनाएर खेलकुदको प्रशिक्षण गर्नका लागि खुल्ला गरेपछि अहिले विभिन्न खेल संघ सुरक्षित रुपमा खेलाडीको प्रशिक्षण सुरु गर्ने तयारीमा छन् । त्यसैअनुसार एन्फा पनि विश्वकप छनोट खेल्ने टिमको प्रशिक्षण सुरु गर्न तीव्र रुपमा लागिरहेको छ ।

होस्टल सेनिटाइज हुँदै

एन्फाले बिहीवारबाट एन्फा मुख्यालयमा रहेको होस्टल सेनिटाइज गर्ने काम सुरु गरेको छ । यसअघि एन्फाले होस्टल ललितपुर महानगरपालिकालाई क्वारेन्टिनको रुपमा प्रयोग गर्न दिएको थियो ।

भदौ १ देखि प्रशिक्षण सुरु गर्ने गरी तयारी गरेपछि एन्फाले होस्टल खाली गराएर सेनिटाइज गरेको हो । अब खेलाडीहरुको पीसीआर प्रशिक्षणपछि एन्फाले खेलाडीलाई त्यही होस्टलमा राख्ने जनाएको छ ।

फुटबलको प्रशिक्षण सुरु गर्नका लागि विश्व फुटबलको सर्वोच्च निकाय फिफादेखि एएफसीले पनि गाइडलाइन्स बनाएर आफ्ना सदस्य राष्ट्रहरुलाई पठाइसकेका छन् । यस्तै विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओको निर्देशन पनि पालना गर्नुपर्ने हुन्छ ।

यसबाहेक एन्फाले सुरक्षित तरिकाले खेलाडीको प्रशिक्षण सुरु गर्नका लागि हेल्थ प्रोटोकल पनि तयार पारेको छ । एन्फाको मेडिकल टिमले प्रशिक्षण सुरु गर्दा थप सुरक्षित होस् भनेर उक्त प्रोटोकल तयार पारेको एन्फा स्रोतले जनाएको छ ।

यस्ता छन् गाइडलाइन्स

एन्फाले केही दिनअघि मेडिकल टिमसँग बसेर प्रशिक्षण कसरी सुरु गर्न सकिन्छ भनेर छलफलसमेत गरेको थियो । त्यसैअनुसार डब्ल्युएचओ र फिफाको गाइडलाइन्सअनुसार एन्फाको मेडिकल टिमले पनि प्रोटोकल तयार पारेको एन्फाले जनाएको छ ।

‘हामीले फिफा र एएफसीको गाइडलाइन्स फलो गर्ने हो । यदि कुनै अफ्ठ्यारो अवस्था छ भने सम्बन्धित देशको सरकारसँग सहकार्य गरेर प्रोटोकल तयार पार्न सक्ने व्यवस्था छ । त्यसैअनुसार तयार पारेका छौँ,’ स्रोतले भन्यो, ‘यो सबै गाइडलाइनअनुसार नै प्रशिक्षण गर्नेछौँ ।’

अब फेरि प्रशिक्षण सुरु भएपछि खेलाडी र स्टाफले प्रशिक्षणको दौरान पालना गर्नुपर्ने प्रोटोकल एन्फाले तयार पारेको हो । उक्त प्रोटोकलमा खेलाडीले प्रशिक्षण गर्दादेखि क्याम्पमा रहँदासम्म के–के नियम पालना गर्ने, के नगर्नेदेखि विनादर्शक प्रशिक्षण गर्नेसम्मका बुँदा उल्लेख छन् ।

अब प्रशिक्षण सुरु गर्दा धेरै शैली परिवर्तन भएको देखिनेछ । प्रशिक्षणअघि र प्रशिक्षणपछि ड्रेसिङ रुममा थोरै समय मात्र बिताउन पाइनेछ । यस्तै खेलाडीले दर्शकविना प्रशिक्षण गर्नेछन् । खेलाडी र कर्मचारीहरुलाई कोरोना संक्रमणबारे जानकारी गराउने प्रोटोकलमा उल्लेख छ ।

यस्तै प्रशिक्षणमा जानुअघि खेलाडीको तापक्रम नाप्ने सम्भव भएसम्म हरेक रुम वा त्यसअघि ह्याण्ड सेनिटाइजर राख्ने, प्रशिक्षण सकिएपछि हरेक दिन डिसइन्फेक्सन गर्ने, टिम मिटिङ फराकिलो ठाउँमा गर्ने, सँगै बसेर खाना नखाने, संयुक्त भान्छा प्रयोग नगर्ने पनि प्रोटोकलमा उल्लेख छ ।

खेलाडीले आफ्ना जुत्ता र कपडा आफैं धुनुपर्ने

यस्तै खेलाडीले व्यक्तिगत ड्रिङ्किङ बोतल प्रयोग गर्ने, चेन्जिङ रुपमा सावर गर्दा सानो समूहमा प्रयोग गराउने उल्लेख छ । यस्तै फिटनेस रुममा सानो संख्यामा खेलाडी राखिने र प्रयोगपश्चात सेनिटाइज गरिनेछ ।

यसैगरी मेडिकल टिमले पनि फेस मास्क र ग्लोभ्स प्रयोग गर्नुपर्ने छ । खेलाडीले जुत्ता र कपडा आफैं सफा गर्ने र आफैं वासिङ मेसिन प्रयोग गर्नुपर्ने छ । सामाग्री व्यवस्थापन गर्ने व्यक्तिले सुरक्षित सामाग्री प्रयोग गर्ने लगायत प्रोटोकलमा उल्लेख छ ।

यस्तै एन्फाले प्रशिक्षण सुरु गर्दा प्रयोग गरिने क्षेत्रलाई तीन भागमा बाँडेर रिस्क जोन छुट्याएको छ । जसमा कम रिस्क हुने क्षेत्रलाई ग्रिन जोन र बढी रिस्क हुने क्षेत्रलाई रेड जोनमा रखिएको छ । ग्रिन जोन होस्टल, मैदानको पिच, खेलाडीको टनेल, चेन्जिङ रुम, मेडिकल रुम, जिम हल छन् ।

यल्लो जोनमा स्टेडियम स्ट्यान्ड, मिडिया क्षेत्र, टेक्निकल डिपार्टमेन्ट र कन्ट्रोल रुम छन् । यस्तै रेड जोनमा प्रवेशद्वार, पार्किङ क्षेत्र, एन्फा कार्यालय, रंगशाला बाहिरको भाग रहेको छ ।

विश्वकप छनोटअन्तर्गत समूह ‘बी’मा बाँकी रहेको ३ खेलका लागि नेपाली टिमले भदौ १ देखि प्रशिक्षण सुरु गर्ने तयारी गरिरहेको छ । कोरोना भाइरस महामारीले गर्दा यसअघि नेपालमा खेल्ने तीन खेल स्थगित भएको थियो । एएफसीले बगामी अक्टोबर नोभेम्बरमा बाँकी रहेको सबै छनोट खेलहरु खेलाउने प्रस्ताव गरेको छ ।

नेपालले चाइनिच ताइपेई अष्ट्रेलिया र जोर्डनसँग घरेलु मैदानमा खेल्न बाँकी छ । नेपाली टिमका नम्बर वान गोलकिपर किरण चेम्जोङले केही समयअघि घरेलु मैदानमा घरेलु दर्शकअघि खेल्न प्रतिक्षारत रहेको बताएका छन् ।

एन्फा फुटबल खेलाडी

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय