Comments Add Comment

अविस्मरणीय पात्र : लुखुरे

गोर्कीकृत ‘आमा’को पावेल भ्लासोभजस्ता पात्र मैले नेपाली कथामै भेटें । नेपाल, चीन, भियतनाम, पेरु, भारतका ‘जनयुद्ध’मा आधारित थुप्रै कथा–उपन्यासमा पावेलजस्तै पात्र हुन्छन् । उनीहरूको संघर्ष र नियति मिल्दोजुल्दो हुन्छ ।

हिन्दु जात व्यवस्थामा आधारित नेपाली समाजमा हाम्रा लागि खास प्रिय हुनुपर्ने रामायण र महाभारतकै पात्र हुन् । जो पात्रका नाउँबाट नै हामीले आफ्ना धेरै प्रियजनका नाउँ राखेका छौं । उनीहरूको बहादुरी टोलगाउँमा सुनेका छौं ।

ठीक विपरीत मेरो दिलमा भने एउटा लुरे पात्र छ । जो, सायद दुनियाँ कै सर्वाधिक निरीह पात्र हो । ऊ श्रमप्रति आस्थावान् छ । दुब्लो छ, तर मेरा लागि प्रिय छ । नाउँ हो– लुखुरे । रमेश विकलको कथा ‘लाहुरी भैंसी’ को पात्र हो ऊ ।

नेपाली भुइँमान्छेको प्रतिनिधि लुखुरेले ऋण गरेर भैंसी किन्छ । तर, उसले भैंसी किनेको गाउँको शोषक द्वारेले देखी सहँदैन । उसले नानाथरी खोट देखाएर लुखुरेको भैंसी कौडीको मोलमा लगि छाड्छ ।

जुन ‘जग’ र ‘जुग’ मा विकलले लुखुरे पात्र खडा गरे, दुःखको कुरा हामी उही ठाउँमा छौं आज पनि । भलै, नाउँ दिइएको छ– लोकतान्त्रिक गणतन्त्र र डिजिटल युग ।

द्वारेले भैंसीको देखाएको नानाभाँती खोट सम्झेर लुखुरेको मुटु चाल बढ्छ । रातमा पनि निद्रा परे पो !

द्वारे ढाल्ने आन्दोलनका कमाण्डरहरू नै नयाँ द्वारे बनेपछि लुखुरेहरू कसरी नरहनु ? त्यसैले कथाकार विकलले काठमाडौं काँठको पात्र उभ्याए पनि आज लुखुरेहरु देशैभरि छन् ।

मेरो दिलमा लुखुरे बस्नुको खास कारण हो, उसको अनुहारमा मेरो गाउँठाउँका काकु, दाजुहरू भेटिनु । जो कालापार (भारत)बाट कमाइकाज गरी फर्कंदा तिनका टाउकोमा कनौरे टोपी, गलामा गलबन्दी, हातमा चिमचिमे घडी र काँधमा खासा टेप्रिकाट रहेछ भने द्वारेबाहरूले खोस्छन् । कतिलाई फकाएर, कतिलाई थर्काएर त कतिलाई फसाएर खोस्छन् ।

शासक र हुनेखानेहरु गरिखाने गरिबको ओठमा एक चिम्टी खुसीमुस्काएको समेत देखि सक्तैनन् ।

लुखुरेको दैलोमा भैसी बाँधिएको छ । लुखुरे ओठबाट छचल्किएको मधुर मुस्कान आँगनसम्म पोखिएको छ । लुखुरे घरिघरि भैंसीलाई हेर्छ । स्नेहले भैंसी सुम्सुम्याउँछ । चारवर्षे छोरा र पत्नीको अनुहारमा देखिएको उज्यालोले लुखुरेको तनमन लालुपाते भएर फुलेको छ । सिंगो संसार खुलेको छ ।

तर, लाहुरी भैंसीमा द्वारेबा’को आँखा लाग्छ ।

त्यसपछि ?

लुखुरेको स्वप्नील संसारमा भुइँचालो जान्छ ।

‘खोटी (?) भैंसी पुक्लुक्क ढल्यो भने ?’

द्वारेले भैंसीको देखाएको नानाभाँती खोट सम्झेर लुखुरे मुटु चाल बढ्छ । रातमा पनि निद्रा परे पो !

लुखुरे लुखुरलुखुर आएर मेरो मनमा बस्नुको अर्को खास कारण हो, नेपालको जात र वर्गमा आधारित समाज र राजनीतिक व्यवस्थाले थला पारेको भुइँमान्छे लुखुरेको ‘खास’ चित्रण । हुनेखानेले हुँदाखाने गरिबका सानो खुसी पनि कसरी खोस्छन् भन्ने लुखुरेमा झल्ल देखिनु ।

भोलिपल्ट लुखुरेको होइन, द्वारेको आगनमा लाहुरी भैंसी बाँधिन्छ । लुखुरे वरपर पनि द्वारेको दाउमा उकेरा लाउने चम्चाहरू मात्र छन् । लुखुरे खलकका गला गाँस्ने जति सुतेका हुन्छन् कि मरेका ? प्रश्न उठ्छ ।

लुखुरेकोमा हुँदा ‘खोटी भैसी’ भन्नेहरुले द्वारेकोमा भैंसी बाँधेपछि भन्छन्, ‘भैंसी हीरा छैन त ?’

‘लाखमा एक छ’, जवाफ आउँछ ।

द्वारेले बाँधेको आफ्नै भैंसी हेरिरहेको लुखुरेको अनुहार सम्झेर म घरि भावुक हुन्छु, घरि आक्रोशित बन्छु, घरि रन्थनिन्छु ।

अविष्मरणीय पात्र हुनुको अर्को खास कारण हो, लुखुरे जति निरीह देखिएको छ त्यति नै नेपालको जात र वर्गवाल सामाज संरचनाप्रति विद्रोह उर्लन्छ । मेरो दिलवाले लुखुरेको निरीहताले जन्माउने विद्रोह र आक्रोश साथ लिएरै लुखुरेसँग हिँड्छु । उसलाई सम्झिन्छु ।

थाहा छैन, कहिले द्वारेविरुद्ध लुखुरेहरू आफैले विद्रोह गर्छन् र जितेर दैलोमा लाहुरी भैंसी ढुक्कसाथ बाँध्छन् ।

रमेश विकलको यो कथा जति पढ्यो उति शोषणको सुक्ष्म मनोविज्ञानको पत्रपत्र देखिन थाल्छ ।

(विभासको ‘रोल्पा सुइना’ कथासंग्रह प्रकाशित छ ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment