१३ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच ७ बुँदे सहमति भयो ।
आइतबार बिहान भएको सहमतिमा लामिछाने पार्टी सभापति रहने र प्रतिनिधिसभा निर्वाचनपछि बालेन शाह संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बन्ने उल्लेख छ ।
तर, पुरानै दलको शैलीअनुसार नै भागबन्डा भएको भन्दै जेनजी घाइतेले भने असन्तुष्टि जनाएका छन् ।
ट्रमा सेन्टरमा उपचाररत प्रकाश बोहोरा भन्छन्, ‘एकता भएकोमा खुसी छौं । तर भागबन्डाको विषयले पुरानै दलको कुर्सी केन्द्रित जस्तो देखियो ।’

प्रकाशले पदको भागबण्डालाई गोप्य राखेर बाहिर एकताको सन्देश दिनेको भए अझ राम्रो हुने सुझाव दिए ।
प्रकाशले सहमतिलाई युवा पुस्ताको आकाङ्क्षा पूरा गर्ने उत्कृष्ट कदम रूपमा हेरेका छन् ।
‘रवि र बालेन दुवै नयाँ पुस्ताका प्रतिनिधि नेता हुनुहुन्छ । उहाँहरूको मिलन एकदम राम्रो कुरा हो । युवाहरू अगाडि आउनुपर्छ भन्ने मान्यता यस सहमतिले पूरा गरेको छ,’ उनले अनलाइनखबरसँग भने ।
प्रकाशका अनुसार देश अहिले निर्णायक मोडमा छ र बुढा नेताहरूलाई पाखा लगाएर भिजन भएका युवाहरूले नेतृत्व लिनुपर्ने बेला आएको छ । उनले कुलमान घिसिङसहित रवि र बालेनलाई युवाहरूले खोजेको विकल्पको रूपमा हेरेको बताए ।
सहमतिमा जेनजी आन्दोलनका मागहरूलाई प्राथमिकता दिने उल्लेख भएकोमा प्रकाश खुसी छन् ।

‘सहमतिपत्रको पहिलो बुँदामा जेनजीका मागलाई प्राथमिकता दिने भनिएको छ । यो हाम्रा लागि ठूलो उपलब्धि हो,’ प्रकाश भन्छन् ।
उक्त सहमतिले शहीद र घाइतेहरूको बलिदान खेर जाँदैन कि भन्ने आसा रहेको घाइते प्रकाशको भनाइ छ ।
त्यसैगरी राकेश महतो पनि अहिले अस्पतालमा उपचाररत छन् । उनको ढाडमुनिको भाग पूर्ण रूपमा चल्दैन । यस सहमतिलाई पदको भागबन्डा गर्ने शैलीप्रति महतोले कडा असन्तुष्टि व्यक्त गरे ।
‘परिस्थिति निरुपण त राम्रो भयो, तर भागबन्डाको पक्ष मलाई मन परेन,’ महतोले अनलाइनखबरसँग भने, ‘म प्रधानमन्त्री, तिमी सभापति भन्ने हिसाबले भागबन्डा गरेको जस्तो देखियो । यो गलत हो ।’

उनले अहिलेको अवस्थामा सबै मिलेर एक ठाउँमा उभिनुपर्ने बताउँदै पुराना नेताहरूलाई हराएर आएका नयाँ पुस्ताले पनि पहिलेकै शैलीमा पद बाँडफाँट गर्नु राम्रो नभएको टिप्पणी गरे ।
‘पहिला शेरबहादुर देउवा, प्रचण्ड र केपी ओलीले पनि यस्तै गरेका थिए । म प्रधानमन्त्री, तिमी राष्ट्रपति । अहिले नयाँ पुस्ताले पनि त्यही गर्यो । यो मलाई पटक्कै मन परेन,’ महतोले भने, ‘भागबन्डा गर्नुभन्दा सबै मिलेर भ्रष्टाचारविरुद्ध लड्नुपर्थ्यो ।’
महतोले मिलेर जानु राम्रो भएको तर पदको लोभले भागबन्डा गर्नु गलत भएको दोहोर्याए ।
आन्दोलनका क्रममा एक खुट्टा गुमाएका घाइते राजेश पटेलले सातबुँदे सहमतिलाई व्यक्तिगत रूपमा सकारात्मक रूपमा लिन्छन् । उनले यो सहमतिलाई सकारात्मक नै माने पनि यसमा पुरानै दलहरूको जस्तो भागबण्डाको संकेत देखिएको बताए ।

‘व्यक्तिगत रूपमा यो सहमतिबाट खुसी नै छु । हाम्रो पनि चाहना यस्तै एकता हो । यदि कुलमान घिसिङ पनि जोडिनुभयो भने अझ राम्रो हुन्छ । तर यो सहमतिमा पुरानै जस्तो भागबण्डा देखियो,’ पट्टेलले अनलाइनखबरसँग भने ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक सूचीमा बालेन शाहको भागमा ४० जना पर्ने सहमति भएको सन्दर्भलाई जोड्दै पटेल भन्छन्, ‘यसले पुरानै दलहरूको कुर्सी तानातान र पदको लोभ जस्तै देखाएको नि !’
पटेलले अगाडि थपे, ‘उहाँहरू नयाँ परिवर्तनको आसा जगाउन आउनुभएको हो । तर सहमति हुन धेरै समय लाग्नु र पदहरूको बाँडफाँट हेर्दा कतै स्वार्थ त छैन भन्ने प्रश्न उठ्को छ ।’
यद्यपि, यो प्रश्न उठे पनि मिलेर अघि बढ्नु विकल्प नरहेको भन्दै एकै ठाउँमा आउनुलाई सकारात्मक हिसाबले हेर्नपर्ने पटेलले धारणा राखे ।
जेनजी आन्दोलनले उठाएका मुख्य मुद्दाहरू- प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री, संघीय प्रणाली खारेज र संविधान संशोधन लगायतका विषय भने सम्बोधन नभएको उनको भनाइ छ ।
‘आन्दोलनको एजेन्डा नै पूर्ण रूपमा सम्बोधन भएको छैन । भागबण्डा मन मिलेसम्म राम्रो हुन्छ, तर पुरानै विकल्पभन्दा नयाँ कामहरू हेर्ने मन छ,’ पटेलले भने ।
जेनजी आन्दोलन भ्रष्टाचार, बेरोजगारी र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध सुरु भएको थियो । आन्दोलनका क्रममा राज्य दमनबाट ७६ ज्यान गएको थियो भने पटेल जस्ता २ हजार ५०० भन्दा बढी घाइते भएका थिए ।
आन्दोलनपछि राजनीतिक परिवर्तन आए पनि जेनजीका मुख्य मुद्दा सम्बोधन नभएको घाइते नेत्रबहादुर थापाको गुनासो छ ।

आन्दोलनका क्रममा छातीमा ९ वटा गोली लागेको थापा भन्छन्, ‘जेनजी आन्दोलनबाट उठाएका मुद्दा सम्बोधन भएनन् । प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री, संघीय प्रणाली खारेज गर्नुपर्ने जस्ता कुरा भएनन् ।’
थापाले चुनावको प्रक्रियालाई पनि पुरानै निरन्तरताको रूपमा हेरे ।
‘यो नहुनुपर्थ्यो । प्रत्यक्ष तरिकाले प्रधानमन्त्रीको निर्वाचन हुनुपर्थ्यो । संविधान संशोधन पनि भएन,’ थापाले भने ।
थापा अहिले घरमै आराम गरिहेका छन् । शरीरमा अझै एक गोली बाँकी नै छ ।
थापाले भने, ‘आउँदा दिनहरूमा रवि र बालेनको कार्यशैली हेर्न बाँकी छ । जे होस्, राम्रो होस् भन्ने मात्र हो ।’
प्रतिक्रिया 4