+
+
Shares

चिनी र मधुमेहबीच के छ सम्बन्ध ?

मधुमेह भएका मात्र होइन, सामान्य व्यक्तिलाई पनि चिनी कम गर्न सल्लाह दिन्छौं, किनकि यो अन्य दीर्घरोगको पनि कारक बन्न सक्छ।

मनिषा थापा मनिषा थापा
२०८२ पुष १४ गते १६:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चिनी र मधुमेहको प्रत्यक्ष सम्बन्ध छैन, तर धेरै प्रशोधित चिनीले इन्सुलिन रेसिस्टेन्स बढाउँछ र टाइप २ मधुमेह निम्त्याउँछ।
  • मधुमेह नियन्त्रणका लागि चिनीजन्य खानेकुरा कम गर्नु आवश्यक छ, तर सम्पूर्ण आहार र जीवनशैली सुधार्नुपर्छ।
  • मधुमेह भएका व्यक्तिले नियन्त्रित रूपमा थोरै चिनी खान सक्नेछन्, तर जीवनशैली सुधार मुख्य उपाय हो।

मधुमेह भएको खबर सुनेपछि धेरैको दिमागमा सबैभन्दा पहिले एउटै प्रश्न आउँछ, ‘अब त चिनी चटक्क छोड्नपर्छ ?’

चिकित्सकले पनि दिने सल्लाह यस्तै हुन्छ, ‘चिनीजन्य खानेकुरा कम गर्नुहोस्।’

तर वास्तविकता के हो ? चिनी र मधुमेहको सम्बन्ध कति गहिरो छ ? चिनी पूरै छोड्नैपर्छ कि नियन्त्रित रूपमा खान मिल्छ ?

यो कुरा बुझ्न मधुमेह तथा हर्मोन रोग विशेषज्ञ डा. रुपक भारीसँग सोधिएका ६ सजिला प्रश्न र उनको विस्तृत जवाफ यस्तो छ :

१. मधुमेह भएकोले किन चिनी कम खानु भनिन्छ ? के छ चिनी र मधुमेहको सम्बन्ध ?

चिनी र मधुमेहको प्रत्यक्ष सम्बन्ध छैन । चिनी खानेबित्तिकै मधुमेह लागिहाल्ने वा शरीरको ग्लुकोजको स्तर अकाशिने होइन । तर लामो समयसम्म धेरै मात्रामा प्रशोधित चिनी खाँदा समस्या सुरु हुन्छ ।

चिनी हाम्रो शरीरका लागि ऊर्जाको स्रोत हो, आवश्यक छ । तर धेरै भएपछि यो समस्या बन्छ । यो खाए पछि ग्लुकोजमा परिणत हुन्छ र रगतमा मिसिन्छ । यो बढेको ग्लुकोजलाई नियन्त्रण गर्न प्याङ्क्रियाज ग्रन्थिले इन्सुलिन हर्मोन निकाल्छ।

चिनी हाम्रो शरीरका लागि ऊर्जाको स्रोत हो, आवश्यक छ । तर धेरै भएपछि यो समस्या बन्छ । यो खाए पछि ग्लुकोजमा परिणत हुन्छ र रगतमा मिसिन्छ । यो बढेको ग्लुकोजलाई नियन्त्रण गर्न प्याङ्क्रियाज ग्रन्थिले इन्सुलिन हर्मोन निकाल्छ।

लामो समयसम्म धेरै चिनी खाँदा शरीरका कोषहरू इन्सुलिनप्रति कम संवेदनशील बन्छन् । यसलाई चिकित्सकीय भाषामा ‘इन्सुलिन रेसिस्टेन्स’ भनिन्छ । इन्सुलिन रेसिस्टेन्स भनेको शरीरका कोषहरू (मांसपेशी, कलेजो र बोसोका कोष) ले इन्सुलिन हर्मोनप्रति राम्रोसँग प्रतिक्रिया नदिने अवस्था हो, जसले रगतमा चिनी (ग्लुकोज) कोषभित्र प्रवेश गर्न गाह्रो बनाउँछ ।

इन्सुलिनले ग्लुकोजलाई कोषभित्र पसाउन नसक्दा रगतमा ग्लुकोजको स्तर बढ्छ । यो नै टाइप २ मधुमेहको मुख्य कारण हो । चिनीले दोस्रो तरिकाले पनि असर गर्छ । चिनीमा कार्बोहाइड्रेटको मात्र बढी हुन्छ । जसकारण चिनी बढी खाँदा प्रशोधित कार्बोहाइड्रेटयुक्त पनि खाइने हुँदा विशेषगरी पेटको बोसोको मात्रा अनावश्यक बढ्छ । अनावश्यक रूपमा बोसो बढेर तौल, इन्सुलिन रेसिस्टेन्स अझ बढाउँछ र कलेजोमा बोसो जम्ने (फ्याटी लिभर) गराउँछ ।

यसरी बढेको ग्लुकोजले रक्तनलीको भित्री तहलाई क्षति पुर्‍याउँछ । यसलाई ‘एन्डोथेलियल डिस्फन्सन’ भनिन्छ । लामो समयसम्म यो प्रक्रिया चल्दा मुटुरोग, मिर्गौला बिग्रने, आँखाको समस्या, नसा बिग्रने र मस्तिष्कघात जस्ता गम्भीर जटिलता निम्त्याउँछ ।

विशेषगरी चिनीयुक्त कोल्ड ड्रिंक्स, प्याकेट बन्द जुस, केक, पेस्ट्री र प्रशोधित खानेकुरामा भएको फ्रुक्टोजले कलेजोमा सीधै असर गर्छ र इन्सुलिन रेसिस्टेन्स बढाउँछ । त्यसैले, मधुमेह नियन्त्रण गर्न चिकित्सकले चिनीजन्य खानेकुरा कम गर्न सल्लाह दिन्छन् ।

२. चिनीजन्य खानेकुरा र चिनी कम गरे मधुमेह नियन्त्रणमा रहन्छ, कि अरू पनि केही गर्नुपर्छ ?

मधुमेहबाट जोगिनकै लागि चिनी नखाने एउटा लर्को नै छ । यदि यस्तो अभ्यास मधुमेहबाट बच्नकै लागि हो भने यो गलत हो । मधुमेह अत्यधिक कार्बोहाइड्रेट, चिल्लोपन भएको खानेकुरा बढी खानु, निष्क्रिय जीवनशैली अपनाउनुको उपज हो ।

चिनीजन्य खानेकुरा कम गर्दा ग्लुकोज नियन्त्रणमा राख्न मद्दत हुनसक्छ, तर चिनी मात्र छाड्नु पर्याप्त छैन । शरीरलाई चिनी त आवश्यक पर्छ, त्यसका लागि लिने स्रोत सही हुनुपर्छ । प्राकृतिक रूपमा पाइने चिनी शरीरका लागि हानिकारक हुँदैन, तर अत्यधिक प्रशोधित चिनी (सोडा, पेस्ट्री, केक, गुलिया पेय पदार्थ) भने इन्सुलिन प्रतिरोध बढाउने कारण बन्न सक्छन्।

यदि कुनै व्यक्तिले चिनीजन्य खानेकुरा पूर्णरूपमा छोडे पनि प्रशोधित कार्बोहाइड्रेट, फास्ट फुड तथा चिल्लो खानेकुरा बढी खान्छ भने उसलाई मधुमेह लाग्ने सम्भावना रहन्छ । त्यसैले, चिनी मात्र होइन सम्पूर्ण आहारमा ध्यान दिन आवश्यक छ।

यदि कुनै व्यक्तिले चिनीजन्य खानेकुरा पूर्णरूपमा छोडे पनि प्रशोधित कार्बोहाइड्रेट, फास्ट फुड तथा चिल्लो खानेकुरा बढी खान्छ भने उसलाई मधुमेह लाग्ने सम्भावना रहन्छ । त्यसैले, चिनी मात्र होइन सम्पूर्ण आहारमा ध्यान दिन आवश्यक छ।

फाइबरयुक्त खानेकुरा बढाउनुहोस् । फाइबरले ग्लुकोजको अवशोषण ढिलो गर्छ र गुल्कोज स्थिर राख्छ । त्यसका साथै दिनमा ३०–४५ मिनेट हिँडाइ, योग वा जिम जस्ता व्यायामले इन्सुलिन संवेदनशीलता बढाउँछ र ग्लुकोजको मात्रा घटाउँछ ।

यदि मोटोपना छ भने ५–१० प्रतिशत तौल घटाउन जोड दिनुहोस् । तौल घट्दा इन्सुलिन प्रतिरोध कम हुन्छ । यी सबै सँगसँगै गर्दा चिनी कम गर्नुको प्रभाव अझ बलियो र दिगो हुन्छ ।

३. चिनी मधुमेह हुनेले मात्र कम गर्नुपर्छ कि सबैको हकमा लागू हुन्छ ?

हाम्रो दैनिक खानामा चिनीको प्रयोग अत्यधिक छ । कोल्ड ड्रिंक्स, मिठाइ, बिस्कुट, चकलेट, प्रशोधित खानेकुरा, चाउचाउ, केक सबैमा लुकेको वा देखिने चिनी हुन्छ । औसत नेपालीले दिनमा ५० देखि १०० ग्रामसम्म थपिएको चिनी खान्छन्, जुन विश्व स्वास्थ्य संगठनको सिफारिस (२५ ग्राम वा ६ चियाचम्चा) भन्दा दोब्बर–तीन गुणा बढी हो ।

त्यसैले, मधुमेह भएका मात्र होइन, सामान्य व्यक्तिलाई पनि चिनी कम गर्न सल्लाह दिन्छौं, किनकि यो अन्य दीर्घरोगको पनि कारक बन्न सक्छ।

४. सबैलाई चिनी घटाउँदा उस्तै फरक पर्छ त ?

हुँदैन। चिनी घटाउँदा रगतमा ग्लुकोज कति फरक पर्छ भन्ने व्यक्तिअनुसार फरक हुन्छ । यसलाई ‘ग्लाइसेमिक रेस्पोन्स भेरिएबिलिटी’ वा चिनी संवेदनशीलता भनिन्छ । केही व्यक्तिमा चिनीप्रति उच्च संवेदनशीलता हुन्छ । यिनीहरूमा थोरै चिनीले पनि रगतमा ग्लुकोज धेरै बढ्छ र कम गर्दा धेरै घट्छ । यस्तामा चिनी कम गर्नु औषधिजत्तिकै प्रभावकारी हुन्छ ।

अर्को समूहमा कम संवेदनशीलता हुन्छ । यिनीहरूमा चिनीको प्रभाव कम हुन्छ । यो मुख्यतः आनुवंशिक, तौल, उमेर र जातीय कारणले हुन्छ । दक्षिण एसियालीहरूमा चिनी संवेदनशीलता बढी हुने अध्ययनले देखाएका छन्।

नेपालमा धेरैजसोमा यो उपायले उल्लेखनीय सुधार ल्याउँछ, त्यसैले सबैलाई जोड दिइन्छ।

५. त्यसो भए मधुमेह भएको व्यक्तिले कति चिनी खान मिल्छ त ?

मधुमेह भएकोले चिनी खानै नमिल्ने होइन । मधुमेह नियन्त्रण छ भने दुई–तीन कप चिया-कफीमा १–१ चम्चा चिनी हालेर खान सकिन्छ । कहिलेकाहीँ मिठो खान मन लाग्यो भने ३–४ चम्चासम्म खाँदा पनि ठूलो समस्या हुँदैन । तर सकेसम्म कम गर्नु राम्रो हो ।

महत्वपूर्ण कुरा के छ भने यदि पार्टी वा भोजमा आइसक्रिम, जेरी वा लालमोहन खाने सोच बनाउनुभयो भने पहिलेकै खाना (भात, रोटी) कम गर्नुहोस् । शरीरमा कुल कार्बोहाइड्रेटको भार थप बढाउनु हुँदैन।

६. मधुमेह चिनी बढी खाएर हुन्छ कि हुँदैन ?

‘म त चिनी खाँदै खादिनँ, आलु पनि छोडेँ, भात कम गर्छु, तर सुगर किन बढ्यो ?’  भनेर धेरै बिरामी डाक्टरकहाँ आउँछन् । यो नेपाली समाजको सबैभन्दा ठूलो भ्रम हो। मधुमेह चिनी खाएरै भएको हुँदैन । त्यसका लागि समग्र जीवनशैली कारक हो ।

अहिलेको अनियमित र धेरै क्यालोरीयुक्त खाना, मोबाइल/टिभीमा घण्टौं बिताउने तर ३० मिनेट हिँड्न फुर्सद नहुने जमात बढ्दो छ । यसरी शारीरिक निस्क्रियता बढेर मोटोपन बढिरहेको छ । त्यो मात्र होइन, अधिकांशमा  अत्याधिक तनाव लिइरहने, भागदौड छ तर आराम छैन । यही अनियमित जीवनशैलीले मधुमेह बढाइरहेको छ । हो, वंशाणुगत कारण पनि एक ठाउँमा छ । वंशाणुगत जोखिम भए पनि हाम्रो हातमा धेरै कुरा हुन्छ। यस्तोमा स्वस्थ जीवनशैली अपनाउने हो भने यो मधुमेह नहुन पनि सक्छ।

मधुमेह नियन्त्रण गर्न चिनी कम गर्नु महत्वपूर्ण छ, तर यो एक्लो उपाय होइन । जीवनशैली सुधार्नु मुख्य कुरा हो । चिनी पूरै छोड्न नसके नियन्त्रित मात्रामा खान सकिन्छ । कुनै शंका भए आफ्नो डाक्टरसँग परामर्श लिनुहोस् ।

 

लेखक
मनिषा थापा

अनलाइनखबरकर्मी संवाददाता थापा स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?