Comments Add Comment

आख्यान जन्माउने बोसन डाँडा

‘तपाईं त्यहाँ एकचोटि जानू । निकै मीठो कविता फुर्न सक्छ ।’

शुभचिन्तकहरूको सल्लाह स्वीकार्दै अन्ततः म समुद्री सतहबाट १६ सय मिटर उचाइमा रहेको बोसन डाँडा पुगेँ ।

दक्षिणकाली नगरपालिकामा पर्ने बोसन डाँडाबाट पूर्वतिर काठमाडौं खाल्डो र पश्चिमपट्टि घना जङ्गल पर्दछ । ठ्याक्कै मेरै जन्मगाउँजस्तो ठाउँमा पुग्न पाएर म नोस्टाल्जिक भइहालें । एउटा कविताका लागि पुगेकी म पटक–पटक गएर हप्तौं त्यहीँ बिताउन लागें ।

उपन्यास ‘थाङ्ग्रा’को अधिकांश परिच्छेद त्यहीँ बसेर लेखेँ ।

पहिलोचोटि भाइ भुषण राईको सहयोगमा म त्यहाँ पुगेकी थिएँ । पहाडी बाटो भएकाले यी ‘पर्फेक्ट राइडर’ भाइलाई नै चुनें । लकडाउन सुरू भएयता म बस्ने कोलोनीमा बाहिरका मान्छेलाई निषेध छ । मलाई लिन आएका भाइलाई गेटमै कुराएर आफूले खाना खाइरहें । त्यही दिनदेखि आगन्तुकलाई पनि एकैछिन प्रवेश खुलाएको रहेछ, मलाई के थाहा !

कोलोनी समितिका अध्यक्षको मानोमानी नियमले हैरान पारेको छ । ‘एकछिन त छिर्दा हुन्छ’ गार्डले भाइलाई भनेछन् । मैलेचाहिँ ‘पस्न दिँदैन है’ भनेको थिएँ । गालमा परें । विचरा भाइलाई भोकै कुदाएँ ।

लकडाउनका बेला सडक खाली । भाइले नब्बेको स्पिडमा ‘क्रसमेक्स २५०’ हाँके । ललितपुरबाट सातदोबाटो, एकान्तकुना, बल्खु हुँदै चोभार कटेपछि टौदहबाट दाहिने लाग्नू भनिएको थियो । अहो ! उकालो, भुषणलाई गाह्रो भएको म सहजै बुझ्दैछु । अघिल्लो दिन परेको दर्के झरीले माटोजति बगाएर ढुङ्गामात्रै बाँकी छाडेको रहेछ । म आफैंलाई बाइकमा अडिन गाह्रो पर्न थाल्यो । चक्काले लोहोरो ढुङ्गा घुँयत्रो हान्न थालेपछि म बाइकबाट ओर्लेर अर्कै बाटो उकालो लागेँ ।

त्यस्तो ज्यादै अप्ठेरो बाटोचाहिँ एक किलोमिटर जति रहेछ । अन्ततः हामी पुग्यौं ।

उद्यमी तेजबहादुर राई यो ठाउँको मालिक । फेसबुकमा मात्र चिनजान भएको मानिससँग पहिलो भेटको सामना कसरी गर्ने होला ? मलाई अप्ठेरो लागिरहेको थियो । तर, उहाँले पहिलो भेटलाई बडा सहज र हार्दिक बनाइदिनुभयो ।

मध्यरातमा सिसाको झ्यालबाट काठमाडौंलाई नियाल्दा मनमा अनेकौं प्रश्नहरू उब्जिए । अनावश्यक काम र वाइहात मानिससँगका सम्बन्धले बर्वाद गरेको समय, अनावश्यक तनाव दिने ठाउँहरूको बसाइ/डुलाइजस्ता पश्चातापहरूले दिमाग हल्लायो

दाजुबहिनीको साइनोमा पहिलो भेट त चिनापर्ची, गाउँठाउँको विवरण सुन्दैमा बित्यो । हामी बस्दाबस्दै मौसम तीन अनुहारमा बदलियो । पहिले, एकैछिनमा हुस्सुले हामी एकअर्का मात्रै देखिने बनायो । तातो कफी नसेलाइकनै फेरि सफा काठमाडौं देखियो । बाक्लो कुहिरो पहाडको फेदमा बस्यो । भुषणले क्यामेरा झिक्दै गर्दा उता कुहिरोले काठमाडौं लुकाइसकेको थियो ।

यसरी क्षणक्षणमा मौसम बदलिरहने ठाउँमा बसेर म कस्तो कविता लेखौंला ! मनमा यस्तै कुरा खेल्न थाले ।

चोयाको डल्ले च्याउजस्ता कुर्सीमा कफीको चुस्की लिँदै तेज दाइले भन्नुभो– ‘राम्रो समय छान्नु भयो बैनी । लकडाउनले म यहाँ फुर्सदमा बसेको छु । विभिन्न ठाउँमा मिटिङ परिरहन्छ । एकै ठाउँमा बस्ने समय कहाँ पाउनु र !’

उसो त यो लकडाउन मेरा लागि अवसर नै बनेर आएको छ । विना अवरोध उपन्यास सक्न पाएको छु । दाइलाई पनि भेट्न पाएँ । यत्तिकैमा उहाँले त्यो ठाउँबारे बताउन थाल्नुभयो–

धेरैवर्ष पहिले नेपाली नागरिकसँग विवाह गरेर आएकी एक विदेशी महिलाले त्यो ठाउँ किनेर भीर माहुरीले पहरामा चाका लगाए जसरी एकतले घर बनाएकी रहिछन् । पछि तेजबहादुर दाइले किन्नुभएको यो घरको बरण्डाबाट जमिन देखिँदैन, तल टौदह देखिन्छ । यो घरलाई ‘ह्वाइट हाउस’ नाम दिइएको रहेछ ।

****

‘हर्टिकल्चर मेरो सपना हो ।’

दाइको अङ्ग्रेजी सपना के रहेछ त्यस्तो ? सोधें । खाद्यान्न र सागसब्जीको खेतीलाई एग्रीकल्चर भनिएजस्तै फलफूल खेतीलाई हर्टिकल्चर नामले चिनिँदोरहेछ । दाइले सय रोपनीभन्दा बेसी जमिनमा सयौं जातका देशी–विदेशी फलहरूको विरूवा लगाउनुभएको रहेछ ।

सहरको तनावबाट छुटकारा पाउन यहाँ आउने मानिसहरूलाई विभिन्न जातका फलले स्वागत गर्ने दाइको सपना रहेछ । जमिन थपेर डेढसय रोपनी पुर्‍याएपछि व्यवस्थित रिसोर्ट खोल्ने योजना रहेछ । तर अहिल्यै आन्तरिक पर्यटकले कटेजहरू भरिभराऊ थिए ।

आँगनमा झसङ्ग पार्ने बडेमाको घोडाको टाउको राखिएको छ । जो दुबोमा चरिरहेझैं लाग्छ । भ्रमणमा आएका स्कूले नानीबाबुहरू त्यहाँ फोटो खिचिरहेका थिए । त्यही छेउमा चित्र सङ्ग्राहलय पनि बन्दैरहेछ ।

यो ठाउँमा समूहमा भन्दा एक्लै जानु लाभदायक हुँदोरहेछ । घुम्न होइन, ध्यान गर्न गएको महसुस हुने रहेछ । डाँडामा उभिएर कफी खाँदै आफूलाई विश्लेषण गर्नुको आनन्द यहाँ पाईन्छ ।

वोसन डाँडामा तेजबहादुर राईसँग लेखिका

‘देशमै केही गर्छु भन्नेलाई सरकारले किन सघाउँदैन ?’ यो सबैको उत्तरविहीन प्रश्न हो । हामीले पनि एकचोटि यही प्रश्न गरेर उच्छवास छाड्यौं । पनि, हामी विल्कुलै गजबको ठाउँमा गफिइरहेका थियौं, नाम नै ‘ब्लू माउण्टेन रिसोर्ट’ । मैले परिवार र साथीहरूलाई पनि एकदिन यहाँ लिएर आउँछु भनी झुलुक्क सपना पनि देखिहालें । अनि सोधें– ‘नामअनुसार नीलो केही छैन त ?’

‘आकाश छ नि’ दाइले मुस्कुराउँदै भन्नुभयो । मंगोल अनुहारमा त्यो मुस्कान खुब खुलेको थियो । हो त नि, धुलोधुँवाले आच्छादित काठमाडौंबाट नीलो नभ देख्न कहाँ पाउनु ?

साँच्चै, हरियो जङ्गलबीच उभिएर औंलाले टुच्च छुन सकिन्छजस्तो नजिक लाग्ने नीलो आकाश छ यहा । कोलाहलमय काठमाडौं सहरचाहिँ नाङ्लाको बिस्कुनजस्तो देखिदो रहेछ यहाँबाट । मैले पनि हेरेर एकछिन हेपेँ काठमाडौंलाई– आच्या ! यस्तो पो रहेछ काठमाडौं त !

म यहाँ आउनुको तात्पर्य सुनाएँ दाइलाई । उहाँले भन्नु’भो, ‘यहाँ बस्न थालेपछि त मै पनि कवि हुन लागिसकेँ… ।’

दुःखको होस् कि आनन्दको, चरम संवेगको अवस्थामा आउने भावना रहेछ कविता । सायद म पनि कुनै दिन कुनै चरम अनुभूतिले यो ठाउँमा केही थान कविता लेखूँला ।

त्यसपछिका दिनमा भने कहिले ‘पठाओ’ त, कहिले दाइकै गाडिमा बरोबर यो ठाउँ आउन थालें । दाइको निवास र मेरो बसाइ नजिक रहेछ । मलाई खुब सजिलो भयो । उपन्यास ‘थाङ्ग्रा’का रोमाञ्चक अध्यायहरू त्यहीँ लेखें । तर, सुशान्त नामको पात्र जति तनावमा हुनुपर्ने हो, त्यति देखाउन सकिनँ । किनकि, लेखिरहेको पल म रोमाञ्चक मुडमा हुन्थें ।

लेखनलाई बसाइ र वातावरणले निक्कै प्रभाव पार्दोरहेछ भन्ने यहीँ आएर बुझियो । सायालाई बढी नै रोमान्समा लगें कि भन्ने शंका पनि लागिरहेछ । किनकि त्यो पल म सबै किसिमका तनावबाट मुक्त थिएँ ।

मध्यरातमा सिसाको झ्यालबाट काठमाडौंलाई नियाल्दा मनमा अनेकौं प्रश्नहरू उब्जिए । अनावश्यक काम र वाइहात मानिससँगका सम्बन्धले बर्वाद गरेको समय, अनावश्यक तनाव दिने ठाउँहरूको बसाइ/डुलाइजस्ता पश्चातापहरूले दिमाग हल्लायो । जसरी दिमागमा प्रश्नहरू उब्जिन्छन्, त्यसैगरी मनमा उत्तरहरू पनि भेटिँदोरहेछ ।

मलाई थाहा भयो, हरेक समस्याको बीउ आफैंले रोपिँदोरहेछ । त्यसरी उम्रिएको समस्यालाई विपक्षीले, असहयोगीले मलजल गर्दा रहेछन् । बेकारमा हामी अरूसँग चित्त दुखाउँदा रहेछौं, झगडा गर्दारहेछौं ।

यहाँ बस्दाबस्दै मेरो लेखनको शैली पनि बदलियो । त्यसपछि उपन्यासका पात्रहरूले कसैलाई दोष दिँदैनन्, दोषको बीउ छर्नबाट जोगिन्छन् । आफ्नो दोष आफूले स्वीकार्छन् ।

यस्तो मानवीय गुण मैले आफ्नै पात्रबाट सिक्नुपर्ने भयो । यो कारणले पनि बोसन डाँडाको एकान्तमा अझ सोचमग्न भएँ म ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment