
२५ साउन, पोखरा । कोरोना संक्रमणबाट पोखरामा एक जनाको मृत्यु भएको छ । साउन १७ मा कोरोना संक्रमण देखिएपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसीयुमा उपचाररत ६२ वर्षीय एक पुरुषको ज्यान गएको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको हो ।
साउन १६ गते रुघाखोकी लागेपछि पोखरा–१९ घर भएका उनी सुरुमा ओम अस्पताल पुगेका थिए । उपचारकै क्रममा उनी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगे र त्यहाँबाट फेरि उनी ओम अस्पतालमै फर्किएका थिए ।
त्यही बीचमा कोरोना संक्रमणको आशंकामा उनको स्वाब परीक्षणका लागि पठाइयो । साउन १७ गते उनमा कोरोना पुष्टि भयो । स्वाब परीक्षणका लागि दिएर उनी घरसमेत पुगेका थिए । उनले आफन्तलाई समेत भेटेका थिए ।
‘उनमा सुगरको समस्या थियो । त्यसमाथि कोभिडले ग्रस्त पारिसकेको थियो,’ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा। अर्जुन आचार्यले भने, ‘उनी आउँदा नै कमजोर भइसकेका थिए । रुघाखोकीले समेत ग्रस्त थिए ।’
संक्रमणको स्रोत पत्ता लागेन
उनको सम्पर्कमा आएका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरु पोखरा स्वास्थ्य प्रतिष्ठानको आइसोलेसनमा छन् ।
संक्रमित मृतकको कोरोनाको स्रोत भने पत्ता लाग्न सकेको छैन । ‘उनको वाह्य ट्राभल हिस्ट्री थिएन । विरामी भएर अस्पताल पुगेपछि स्वाब परीक्षणमा कोरोना भेटिएको हो,’ पोखरा महानगरका स्वास्थ्य महाशाखा प्रमुख हेमन्द्र पौडेलले भने ।
आइतबार मृत्यु भएका ६२ वर्षीय पुरुष घरमा एक्लै थिए । उनको परिवार हङकङ बस्दै आएको पोखरा–१९ का वडाध्यक्ष शोभामोहन पौडेलले जानकारी दिए ।
‘स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसीयुमा उपचाररत ६२ वर्षीय पुरुषको ज्यान गएको खबर पायौं । अब उनको आफन्तको खोजी र परिवारमा सम्पर्क गर्दैछौं,’ वडाध्यक्ष पौडेलले भने, ‘उनको अन्त्येष्टिका लागि पोखरा महानगर, नेपाली सेना, प्रदेश स्वास्थ्य निर्देशनालयलगायतले छलफल गर्दैछन् ।’
शव व्यवस्थापनको तयारी
उनको पोखरा–३२ मा शव व्यवस्थापनको तयारी भइरहेको छ । उपचारका क्रममा ज्यान गएर असार ११ गते शव व्यवस्थापन गरिएकै ठाउँमा आज पनि व्यवस्थापन गरिने भएको छ ।
‘पोखरा–३२ को यसअघिकै ठाउँमा शव व्यवस्थापन गर्ने तयारी भइरहेको छ । सबैले आ–आफ्नो तयारी थालिसेकेका छन्,’ कास्कीका प्रमुख जिल्ला अधिकारी ९सीडीओ० ज्ञानप्रसाद ढकालले भने ।
पोखरा–३२ मा असार ११ गते पोखरामा कोरोना संक्रमणबाट ज्यान गएका दोस्रो व्यक्तिको शव व्यवस्थापनको क्रममा स्थानीयले अवरोध गरेका थिए ।
शव व्यवस्थापनका लागि लैजाँदै गर्दा स्थानीयले अवरोध गरेपछि प्रहरीबीच झडप नै भएको थियो । झडपमा एक जना प्रहरीसहित केही स्थानीय घाइते भएका थिए ।
जेठ २५ गते कोरोनाका कारण मृत्यु भएका स्याङजाका ६० वर्षीय एक पुरुषको शव व्यवस्थापनमा पनि स्थानीयले विरोध गरेका थिए । पोखरा ११ र २० को सिमानामा शव व्यवस्थापन गर्न लागिएपछि स्थानीयले अवरोध गरेका थिए ।
बस्ती नजिक भएको र विश्व स्वास्थ्य संगठनको मापदण्डविपरीत शव व्यवस्थापन गर्न लागिएको भन्दै जनप्रतिनिधिसमेत विरोधमा उत्रिएपछि प्रहरीले लाठीचार्ज गरेको थियो । त्यो बेला पनि झडप हुँदा वडाध्यक्षसहित केही प्रहरीसमेत घाइते भएका थिए ।
पोखरामा कोरोना संक्रमणका कारण ३ जनाको ज्यान गएको छ भने गण्डकी प्रदेशमा मृत्यु हुनेको संख्या ५ जना पुगेको छ ।
प्रतिक्रिया 4