Comments Add Comment

किन मिल्दैन ज्योतिषको भविष्यवाणी ?

१० हजार वर्षपछि पुषमा बर्खा र असारमा जाडो बढ्छ

काठमाडौं । धेरैलाई जिज्ञासा लाग्न सक्छ हजारौं वर्षदेखि मान्दै आइएको ज्योतिषीय विद्या हिजोआज ‘हावा’को विषय बनेको छ । वेदको अंगको रूपमा रहेको ज्योतिष विद्या आफैंमा वैज्ञानिक विधा हो । तर प्राविधिक समस्याका कारण हिजोआजको भविष्यवाणी सही किसिमले नमिल्ने गरेको ज्योतिषशास्त्रीहरू बताउँछन् ।

ज्योतिषले फलिफाप हुन्छ भनेको कुरा ठीक उल्टो हुने र ठूलाठूला भविष्यवाणी नमिलेर धेरै ज्योतिषहरूले कारबाही भोगेको समस्या समेत धेरै छ । यसको कारण के होला ? ज्योतिष विज्ञानका जानकारहरू यसको वैज्ञानिक कारणलाई आधार मान्छन् ।

एक वर्ष भनेको सूर्यलाई पृथ्वीले एक चक्कर मार्न लागेको समय हो । यसमा वर्ष पनि चान्द्रमास र सौर्यमासको गरी फरक फरक हुन्छ । हामीले मान्ने तिथिको परम्परा चान्द्रमास अनुसारको वर्ष हो भने वैशाख, जेठ जस्ता महिना अनुसार मान्ने वर्ष सौर्यमास अन्तर्गत् पर्छ ।

सौर्य वर्ष र चान्द्र वर्षको फरक एक वर्षमा ११ दिन हुन्छ । अर्थात् सौर्य वर्र्ष ३६५ दिनको हुन्छ भने एक चान्द्र वर्षमा ३५४ दिन हुन्छ । ज्योतिषशास्त्रमा सायन काल र निरयण कालको व्यवस्था हुन्छ । यही व्यवस्थाका कारण अहिले हामीले मानिरहेको दिन वास्तविक नभएर झण्डैै २४ दिन ढिलो हुने गरेको ज्योतिषशास्त्रीहरू बताउँछन् । त्यही भएकोले ज्योतिषको भविष्यवाणी धेरैहदसम्म मिल्ने गरेको हुँदैन ।

नेपाल संस्कृत विश्वविद्यालयका ज्योतिषका प्राध्यापक जयन्त आचार्य साउन १ गते सूर्य दक्षिणायन हुने भनेर हामीले मानिए पनि यस वर्ष पनि असारको ६-७ गते नै दक्षिणायन भइसकेको उनी मान्छन् ।

आचार्य यसरी नै हामीले अहिलेको अवस्थालाई नसुधार्दै लैजाने हो भने १० हजार वर्षपछि पौषमा बर्खा हुने र असार÷साउनमा जाडो हुने अवस्था समेत सिर्जना हुन सक्ने चेतावनी दिन्छन् ।

उनी ज्योतिष शास्त्रमात्रै नभएर दक्षिणायन र उत्तरायणको कुरा आधुनिक विज्ञानले समेत मानेको छ । तर यसलाई समयसमयमा परिवर्तन गर्ने कुरा भने अहिले आएर विवादमा परेको उनी बताउँछन् ।

आचार्यका अनुसार बराहमिहीरको समयमा आजभन्दा झण्डै १५ सय वर्ष पहिले पञ्चाङ्ग परिवर्तन गरेर सायन काल र निरयण कालको टाढिँदो दुरीलाई व्यवस्थापन गरिएको थियो ।

अहिले सायन काल र निरयण कालबीचको दुरी २४ दिन फरक छ । जबकि १५ दिन फरक परेपछि यसलाई मिलाइहाल्नुपर्छ भन्ने मान्यता हुन्छ । तर अहिले २४ दिन पुगेको दुई कालबीचको भिन्नताका कारण पनि ज्योतिषीय भविष्यवाणीहरू सही किसिमले नमिल्ने गरेको आचार्य बताउँछन् ।

उनी यसको समाधान पनि रहेको बताउँछन् । उनका अनुसार यस वर्ष परेको अधिकमासलाई शुद्धमास मानेर जाने हो भने सायन काल र निरयण कालबीचको दुरी ६ दिनमात्रै फरक हुने गर्छ । त्यसो गर्दा भविष्यवाणी मिल्ने सम्भावना धेरै हुन्छ । अन्यथा पूरै पञ्चाङ्ग नै संशोधन गर्ने कुरा पनि अहिलेलाई सम्भवको कुरा नभएको उनी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment