Comments Add Comment

रुपन्देहीमा दैनिक ८ घण्टा मात्र पसल खोल्न पाइने

२५ साउन, बुटवल । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जिल्लाभर बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म मात्रै पसल खोल्न तथा व्यवसाय सञ्चालन गर्न पाउने निर्णय गरेको छ ।

कोरोना संक्रमणको जोखिमलाई मध्यनजर राखेर जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को आइतबार बसेको बैठकले सोमबारदेखि अर्को निर्णय नहुँदासम्म जिल्लाभरका पसल तथा व्यवसाय बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म मात्र सञ्चालन गर्ने र भारतसँग सिमाना जोडिएको बेलहिया नाका बाहेकका सबै नाकाहरुबाट आउजाउमा पूर्णरुपमा रोक लगाउने निर्णय गरेको हो ।

यस्तै बढी भिडभाड हुने भेला सम्मेलन, भोजभतेर आदि कार्य बन्द गराउने निर्णय भएको केन्द्रका संयोजक प्रमुख जिल्ला अधिकारी महादेव पन्थले जानकारी दिए ।

जिल्लाका १६ वटै पालिकामा एक–एक क्वारेन्टाइन व्यवस्था गर्न र हाटबजारहरु सञ्चालन नगर्न पालिकाहरुलाई अनुरोध गर्ने निर्णय पनि बैठकले गरेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी जनक थापाले बताए ।  निर्णय उल्लंघन गर्नेलाई कानुन अनुसार कारबाही गरिने उनले बताए । बैठकले बढी भिडभाड हुने सरकारी तथा गैर सरकारी कार्यालयहरु र भारतसँग सीमा जोडिएका क्षेत्रमा कोरोना संक्रमणको आशंका भएका व्यक्तिको पीसीआर परीक्षणका लागि आवश्यक सामग्री उपलब्ध गराउन केन्द्रीय संकट व्यवस्थापन केन्द्र सँग अनुरोध गर्ने जस्ता निर्णय समेत गरेको छ ।

बैठकमा जिल्लाका सुरक्षा निकायका प्रमुख, जिल्ला समन्व्य समिति, पालिका प्रमुखहरु र उद्योगी व्यवसायीका प्रतिनिधिको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment