Comments Add Comment

नेकपामा ६३ सांसदको हस्ताक्षर : कसको हिसाब गडबड ?

कुरो पार्टी एकताको, लबिङ आ–आफ्नै गुटको !

२५ साउन, काठमाडौं । सत्तारुढ नेकपा कम्युनिस्ट पार्टी (नेकपा) को शीर्ष नेतृत्व दुई कित्तामा बाँडिएकै बेला सो पार्टीका ६३ जना सांसदले पार्टी एकताको पक्षमा हस्ताक्षर सार्वजनिक गरेका छन् ।

यो हस्ताक्षर अभियानले प्रधानमन्त्री केपी ओलीलाई फाइदा पुग्छ कि अर्को पक्षलाई भन्ने जोड घटाऊ पनि नेकपाभित्र सुरु भएको छ ।

आइतबार ६३ सांसदले पार्टी एकताको पक्षमा तीनबुँदे प्रतिवद्धता पत्रमा हस्ताक्षर गर्दै भनेका छन्, ‘पार्टीको उपल्लो नेतृत्व तहमा देखिएको ध्वंसात्मक प्रकृतिका अन्तरविरोधमा सहभागी हुने छैनौं । पार्टी एकताविरोधी क्रियाकलाप रोक्न प्रतिवद्ध छौं ।’

हस्ताक्षर गर्ने सांसदहरुमा नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली तथा पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहतिर नजिक रहेका सबै पक्षका सांसदहरु संलग्न छन् ।

पार्टीको शीर्षनेतृत्वमा देखिएको गम्भीर अन्तरविरोध पार्टी एकता प्रक्रिया पूरा नहुँदै विग्रहतिर जाने सम्भावना बढेर गएको हस्ताक्षरकर्ता सांसदहरुको चिन्ता छ ।

उनीहरुले भनेका छन्, ‘पार्टीको आगामी नीति, कार्यक्रम, सिद्धान्त, लक्ष्य, उद्देश्य, संगठनात्मक संरचनासम्बन्धी बहसभन्दा अन्य विषयमा केन्द्रित भई शीर्ष नेतृत्व तहमा देखा परेको अन्तरविरोध कुनै पनि अर्थमा ग्राह्य र उपयुक्त नभएकाले हामी कार्यकर्ताको तहबाट साथ र सहयोग हुन सक्दैन ।’

समानुपातिक, प्रत्यक्ष र राष्ट्रिय सभाकासहित गरी नेकपाका २२७ सांसद छन् । त्यसमध्ये ६३ जना यो अभियानमा समेटिएका छन् । बाँकी समेटिने क्रममा रहेको सांसद कृष्ण दाहाल बताउँछन् ।

उनका अनुसार ५०/६० जना जिल्ला बाहिर छन् । काठमाडौं उपत्यकामै भएका सांसदहरु सबैसँग पनि कुरा भएको छैन । भएकाहरुमध्ये केहीले पछि हस्ताक्षर गरौंला भनेका छन् ।

एक सय जना सांसदको हस्ताक्षर संकलन हुने अभियन्ताहरुको विश्वास छ । यसमार्फत नेताहरुलाई समस्या समाधान गर्न दबाव दिने यो अभियानको रणनीति छ ।

शीर्षनेताहरुले आफैँ समस्या समाधान नगरे विकल्पसहितको अभियान सुरु गर्ने चेतावनी पनि सांसदहरुले दिएका छन् ।

‘पहिलो चरणमा हामीले आफैँ विधि र प्रक्रियाद्वारा समस्या समाधान गर्नुस् भनेका छौं । दोस्रो चरणमा जानुपर्ने भयो भने हामी विकल्पसहित आउँछौं’ सांसद गणेश पहाडीले भने ।

६३ सांसदमध्ये को कताका ?

खासगरी नेकपामा मुख्य तीनवटा गुट देखिएका छन् । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली, अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल । यी तीन शीर्षनेताहरुका गुट सक्रिय छन् ।

उपाध्यक्ष बामदेव गौत्तम र वरिष्ठ नेता झलनाथ खनालको पनि गुट त छन् । तर, पछिल्लो विवादमा उनीहरुको भूमिका ‘ओली’ गुट र ‘प्रचण्ड’ गुटलाई सघाउनेमा सीमित छन् ।

मुख्य तीनवटा गुटमा रहेका र पार्टी फुटको विपक्षमा उभिएका ६३ सांसदहरुमा सबैभन्दा बढी केपी ओली पक्षधर भनिएका सांसदहरु छन् । त्यसपछि माधव नेपाल र प्रचण्ड गुटका सांसदहरु छन् । अभियानमा अन्य सांसदहरु पनि थपिँदै जाने र ९० जना पुग्ने नेताहरुले बताएका छन् ।

६३ सांसदमध्ये ओली पक्षका बढी छन् । हेर्नुहोस् सूची–

ओली पक्षधर (३० जना) : आशाकुमारी बिक, कृष्णप्रसाद दाहाल, कृष्ण लाल महर्जन, केदार सिग्देल, गणेश सिंह ठगुन्ना, गोमा देवकोटा, धनश्याम खतिवडा, जीवनराम श्रेष्ठ, तीर्था गौतम, थममाया थापा, दामोदर भण्डारी, नन्दलाल रोका क्षेत्री, नरबहादुर धामी, नवराज सिलवाल, नारदमुनि राना, पदम गिरी, प्रेम आले, विजय सुब्बा, भवानी खापुङ, भूपेन्द्र थापा, भैरवबहादुर सिंह, मनकुमारी जिसी, रबिन्द्र राज शर्मा, राजेन्द्र कुमार राई, राजेन्द्र प्रसाद गौतम, रामचन्द्र गौतम, लालप्रसाद साँवा लिम्बु, विशाल भट्टराई, शान्तिमाया तामाङ पाख्रिन, सरिता न्यौपाने ।

माधव नेपाल पक्षधर (२१ जना) : कलिला खातुन, कल्याणीकुमारी खड्का, कृष्णभक्त पोख्रेल, गणेशकुमार पहाडी, जयकुमार राई, झपट रावल, दीपकप्रकाश भट्ट, ध्रुवकुमार शाही, नारायणप्रसाद खतिवडा, पार्वतीकुमारी बिशुन्खे, पुष्पाकुमारी कर्ण कायस्त, मेटमणि चौधरी, यज्ञबहादुर बोगटी, यज्ञराज सुनुवार, राजबहादुर बुढा, रामकुमारी झाँक्री, लक्ष्मीकुमारी चौधरी, विना पोख्रेल, समिना हुसेन, सरिताकुमारी गिरी, सरला यादव ।

प्रचण्ड पक्षधर (१२ जना) : अञ्जना बिशंखे, अमनलाल मोदी, इन्दुकुमारी शर्मा, गंगाबहादुर तामाङ, गोपीबहादुर अछामी, गौरीशंकर चौधरी, चाँदतारा कुमारी, धर्मशीला चापागाई, श्यामकुमार श्रेष्ठ, सुदन किराती, सुरेशकुमार राई, हेमकुमार राई ।

कसको हिसाब बिग्रियो ?

हस्ताक्षर गरेका सांसदहरुले आइतबार सिंहदरबारमा पत्रकार सम्मेलन नै गरे, जहाँ हस्ताक्षर संकलनका लागि समन्वय गरेका सांसद कृष्णप्रसाद दाहालले भनेका छन्, ‘कसैले पनि हामीलाई यो कित्ता र उ कित्तामा राखेर गणना गर्ने गल्ती गर्नुपर्दैन ।’

नेकपा अध्यक्ष एवं प्रधानमन्त्री ओली पक्षले संसदीय दलमा आफ्नो बहुमत दाबी गर्दै आएको छ । पार्टीमा अल्पमतमा परेपछि ओलीले संसदीय दलमा फेस गर्ने बताउन थालेकै बेला यो हस्ताक्षर सार्वजनिक भएको हो ।

प्रतिनिधिसभामा रहेका नेकपाका १७४ सांसद मध्ये ६३ जनाले कतै नलाग्ने प्रतिवद्धतासहित हस्ताक्षर गरेका छन् । यो संख्या बढेर ९० पुग्ने उनीहरुको दाबी छ । त्यसो भएमा नेकपा संसदीय दलमा केपी शर्मा ओलीको होइन, एकता पक्षधरको बहुमत हुनेछ ।

उसो त प्रचण्ड–माधवकुमार नेपाल पक्षले संसदीय दलको नेताबाट हटाउन खोजे पनि बहुमत पुग्दैन । तर, प्रचण्ड–नेपाल समूह संसदीय दलबाट हटाउने तयारीमा छैनन् । उनीहरु स्थायी कमिटी र केन्द्रीय कमिटीबाटै निकास खोज्नुपर्ने अडानमा रहेकाले ६३ सांसदको हस्ताक्षरले ठूलो असर नगर्ने नेपाल पक्षका नेताहरु बताउँछन् ।

माधव नेपाल पक्षका एक नेताले अनलाइनखबरसँग भने, ‘संसदीय दलमा बहुमत पुर्‍याएर पार्टी फुटाउने धम्की प्रधानमन्त्रीले दिँदै आउनुभएको थियो, हामीले संसदीय दलमा बुहमत पुर्‍याएर पार्टी फुटाउन चाहेका होइनौं, त्यसर्थ यो हस्ताक्षरले प्रधानमन्त्री ओलीको योजनामाथि धक्का दिएको छ ।’

केपी ओली पक्षमै रहेका भनिएका सांसदहरु समेत पार्टी फटाउने योजनामा असहमत भएर हस्ताक्षर अभियानमा सहभागी भएको ती नेताले बताए ।

गुटको भाषा कायमै

आइतबार पत्रकार सम्मेलनमा सहभागी सांसदहरुको एउटै मत थियो– पार्टी विभाजन हुन हुन्न । तर, आफ्नो धारणा राख्ने क्रममा सांसदहरुले गुटको भाषा भने प्रयोग गर्न छाडेनन् ।

प्रचण्ड–माधव नेपाल पक्षका नेताहरुले यो अभियानले ओली पक्षको पार्टी फुटाउने डिजाइनलाई असफल बनाएको तर्क गरेका छन् भने ओली पक्षका हस्ताक्षरकर्ताहरुले चाहिँ संसदीय दलबाट प्रधानमन्त्रीलाई हटाउने योजना असफल भएको तर्क गरेका छन् ।

ओली पक्षधर मानिने विशाल भट्टराईले पार्टीमा भएको विवाद पदका लागि भएको बताए । प्रचण्ड–माधव पक्षतिर संकेत गर्दै उनले कसैले पनि प्रधानमन्त्री हुने हतारोका लागि विवाद गर्ने र आफूखुसी पत्रकार भेटघाट गर्न नहुने उनले बताए ।

पार्टीलाई एक राख्न केपी ओलीलाई प्रधानमन्त्री वा अध्यक्षबाट हटाउनुपर्ने माग राख्न नहुने सांसद विशाल भट्टराईले बताएका छन् । ‘केपी ओली अल्पमतमा रहेको भए उहिल्यै निकाल्थे, त्यसो होइन । पार्टीभित्रको लडाईंले जनमत बिग्रियो भन्ने हाम्रो मुख्य चिन्ता हो’ सांसद भट्टराईले अनलाइनखबरसँग भने ।

वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर मानिने रामकुमारी झाँक्रीले पार्टी विधि र पद्धतिका आधारमा चल्नुपर्ने बताइन् । पार्टीमा हुने विवाद सम्बन्धित कमिटीहरुमा छलफल गरेर हल गर्नुपर्नेमा जोड दिइन् । उनको संकेत पार्टी बैठक छल्दै आएका प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीतिर लक्षित देखिन्थ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment