Comments Add Comment

बौद्ध दर्शन : आशक्ति त्याग्नु नै दु:खबाट मुक्त हुने उपाय

काठमाडौं । जीवनमा दुःख छ, दुःखको कारण छ, दुःखको निवारण हुन्छ र दुःखको निवारणको लागि आठवटा मार्ग छ । अर्थात् दुःख, समुदाय, निरोध र मार्गको संयोजन नै बौद्ध दर्शनको सार हो ।

पूर्वीय दर्शनको नास्तिक दर्शनको कोटिमा पर्ने बौद्ध दर्शन आफैँमा व्यवहारिक दर्शनको रूपमा मानिन्छ । समाजमा जातिप्रथा चलिरहेको र कर्मयोग, ज्ञानयोग र भक्तियोगलाई संयोजन गरेर तयार पारेको यो दर्शन गीता दर्शनसँग धेरैहदसम्म मिल्छ ।

बुद्धले ज्ञान प्राप्त गरिसकेपछि सबैभन्दा पहिले मान्छेको दुःखको बारेमा व्याख्या गर्दै दुःखबाट छुटकारा पाउने बाटोको बारेमा ज्ञान दिएका थिए । त्यो नै बौद्ध दर्शनको समेत मुख्य विषयवस्तु हो ।

हामी कुनै काममा दुःख भयो भने त्यसको दोष अरूलाई दिएर आफू निर्दाेष बन्ने कोसिस गर्छाैं । तर दुःख अरूले दिने हो या आफैँले बेसाउने हो ? भन्ने मतमा सामान्य बुझाइसँग बौद्ध दर्शनको मत मिल्दैन ।

कुनै पनि कामदार सधैंभरि रोजगारदाताको भयमा बाँचेको हुन्छ । रोजगारदाता आफ्नो व्यवसाय सञ्चालनको चिन्तामा डुबिरहेको हुन्छ । अति विपन्नहरूलाई भोकको चिन्ताले सताइरहेको हुन्छ भने अतिसम्पन्न वर्गलाई भोगको चिन्ताले सताइरहेको हुन्छ । यी सबै अरू कसैले दिएको दुःख नभइ आफैंले बेसाएको दुःख हो भन्ने मत बौद्ध दर्शनको छ ।

व्यापारीहरू आफ्नो दिन प्रतिदिन घटबढ हुने सम्पत्तिलाई लिएर चिन्ता लिन्छन् । व्यवसायमा सफलता प्राप्त गर्नु÷नगर्नुसँग होइन, त्यसमा कत्तिको सन्तुष्टि मिलेको छ त्यसलाई सुख मान्छ बौद्ध दर्शन ।

आशक्तिले पुनर्जन्मको बाध्यता निम्त्याउँछ भन्ने बौद्ध मतले भोग विलासभन्दा पनि कुनै काममा कत्तिको सन्तुष्टि मिलेको छ त्यसलाई सुख मान्छ । त्यसैले कुनै पनि आशक्तिविना नै जीवन बिताएको मान्छेले पुनः यो दुःखको दुनियाँमा पुनः आइरहनु नपर्ने सुझाव बौद्धको छ ।

ईश्वरलाई नमान्नु, आत्मालाई नित्य नमान्नु, कुनै पनि ग्रन्थलाई स्वतः प्रमाण नमान्नु र जीवनको प्रवाहलाई जीवनको पूर्व र पश्चात समेत मान्नु नै बौद्ध सम्प्रदायको मूल सिद्धान्त हो ।

चार आर्यसत्यमा बुद्धले दुःखलाई व्याख्या गर्ने प्रयास गरेका छन् । मानिसको जीवनमा दुःख हुन्छ भन्ने चार आर्यसत्यमध्येको पहिलो आर्यसत्यले चराचर जगतमा मान्छेले भोग्ने दुःखलाई चित्रण गरेको छ । थप प्राप्तिको अभिलाषा लिनु नै दुःखको मुख्य कारण हो ।

दुःखसम्बन्धी सत्यलाई व्याख्या गर्दै बुद्धले भनेका छन् ‘जन्म पनि दुःख हो, बुढापा पनि दुःख हो, मरण पनि दुःख नै हो । हामीले गर्ने इच्छा पनि दुःखकै स्रोत हो । तर इच्छाभित्र लुकेको दुःखबारे हामीलाई ज्ञान हुन्न ।

बौद्ध मतमा दुःखको कारण काम(भोग)को तृष्णा, भव (लोक)को तृष्णा र विभवको तृष्णा हो । राजा राजासँग लड्छन्, क्षत्रीय क्षत्रीयसँग लड्छन्, ब्राह्मण, ब्राह्मणसँग नै लड्छन् । यो नै भवको तृष्णा हो । यो नै दुःखको कारण हो ।

दुःख निवारण पनि हुन्छ भन्ने बौद्ध मत छ । संसारमा एउटै चिज लालसा छैन त दुःख नै छैन । त्यसैले लालसा नै दुःखको मुख्य कारण हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment