Comments Add Comment

प्युठानमा १४ सैनिकसहित २३ जनामा कोरोना संक्रमण

फाइल तस्वीर

२६ साउन, काठमाडौं । प्युठानमा नेपाली सेनामा कार्यरत १४ जनासहित थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय प्यूठानका प्रमुख विशाल सुवेदीका अनुसार सोमबार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा प्युठानमा थप २३ जनामा संक्रमण पुष्टि भएको हो ।

उनका अनुसार ईन्द्रध्वज गण प्युठानमा कार्यरत १४ जना, स्वर्गद्वारी नगरपालिकाका ६ जना, मल्लरानी गाउँपालिकाका २ जना र १ जना जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेको व्यक्तिमा संक्रमण पुष्टि भएको हो ।

स्वर्गद्वारी नगरपालिकाको क्वारेन्टिनमा बस्दै आएका ६ जनामा संक्रमण पुष्टि भएको नगरपालिकाका स्वास्थ्य सहायक चुडामणि पोखरेल बताए । पोखरेलले भने, ‘साउन २० मा १४ जनाको स्वाब संकलन गरेर परीक्षणका लागि प्रयोगशलामा पठाएका थियौं । जसमध्ये एक महिलासहित ६ जनाको रिपोर्ट पोजेटिभ आएको छ । उनीहरु सबै साउन १३ गते भारतबाट आएर क्वारेन्टिनमा बस्दै आइरहेका थिए ।’

सुवेदीले भने, ‘फ्रन्टलाइनको रुपमा काम गर्दै आइरहेका व्यक्तिहरुको कोरोना परीक्षण गर्दै आइरहेका छौं । यसैक्रममा ईन्द्रध्वज गण प्युठानमा कार्यरत १४ जना सैनिकमा पनि संक्रमण पुष्टि भएको छ । उनीहरु गणकै आन्तरिक क्वारेन्टिनमा बस्दै आइरहेका थिए ।’

मल्लरानी गाउँपालिका–५ की ३९ वर्षीया महिला र वडा नम्बर १ का २४ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य शाखाका अधिकृत पारस शाहीले बताए ।

शाहीले भने, ‘संक्रमण पुष्टि भएकी महिला केही दिनअघि उपचारकै लागि भैरहवाबाट फर्किएकी थिइन् भन्ने जानकारी पाएको छु । उनको अन्य कुनै ट्राभल हिस्ट्री छैन । सामान्य ज्वरो आएपछि उनी आफैं अस्पतालमा गएर स्वाब दिएकी रहेछिन् । सोमबारे उनको रिपोर्ट पोजेटिभ आएको छ । २४ वर्षीय युवक भने १८ दिनअघि भारतबाट आएर क्वारेनिटनमा बस्दै आइरहेका थिए ।’

जनस्वास्थ्य प्रमुख सुवेदीका अनुसार सोमबार २३ जनामा संक्रमण पुष्टि भएसँगै प्युठानमा कोरोना संक्रमितको संख्या ३६५ जना पुगेको छ । जसमध्ये ३३७ जना संक्रमित डिस्चार्ज भइसकेका छन् । आइसोलेसनमा २८ जना संक्रमित उपचाररत रहेको सुवेदीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment