Comments Add Comment

विराटनगरको एउटै वडामा ४७ संक्रमित, गुद्रीबजार सिल

२६ साउन, विराटनगर । विराटनगर महानगरपालिका वडा नं ९ गुद्रीबजार क्षेत्रमा धेरै संक्रमित बढेपछि सिल गरिएको छ । महानगरको यो वडामा संक्रमितको संख्या ४७ पुगेको छ र ती अधिकांश गुद्रीबजारका भएको मेयर भीम पराजुलीले बताए ।

गुद्री क्षेत्रमा तरकारीको ठूलो बजार छ, यस क्षेत्रका अधिकांश घरका व्यक्ति बजारमा ब्यापार गर्छन् । यहाँका दुई जनाको मृत्यु भइसकेको छ । मेयर पराजुलीका अनुसार संक्रमितहरु एउटै परिवारका ११ जनासम्म छन् ।

अनिश्चिकालका लागि सिल

गुद्री बजार क्षेत्रका धेरैमा संक्रमण देखिएपछि सोमबारदेखि अनिश्चितकालका लागि त्यस क्षेत्र सिल गरिएको छ । ‘अवस्था नियन्त्रणका लागि सिल गरिएको हो’ मेयर पराजुलीले भने ‘परीक्षणको दायरा पनि बढाएका छौं ।’ बजार क्षेत्रबाट कोरोना भाइरस अन्यन्त्र पनि फैलिएको महानगरपालिकाले बताएको छ ।

मृतक परिवारका सदस्यमा कोरोना

१८ साउनमा कोरोना संक्रमणका कारण ज्यान गुमाएका ४५ वर्षका पुरुषको आफन्तमा संक्रमण पुष्टि भएको छ । विराटनगर महानगरपालिका वडा नं ९ का अध्यक्ष विश्वनाथप्रसाद भगतका अनुसार मृतकको परिवारका ५ जनामा संक्रमण पुष्टि भएको छ ।

बुढीगंगा र रंगेलीमापनि कडाइ

कोरोना संक्रमण तीब्र देखिएपछि विराटनगर महानगरको वडा नम्बर ९, बुढीगंगा गाउँपालिका–१ र रंगेली नगरपालिका– ७ मा कडाइ गरिएकोे मोरङका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुबबहादुर खड्काले बताए ।

विराटनगरको गुद्री बजार, बुढीगंगाको आरती स्ट्रीप उद्योग र रंगेली बजार क्षेत्रमा संक्रमण उच्च छ । कोरोनाको जोखिमलाई नियन्त्रणका लागि निषेधित क्षेत्र घोषण गरी आवागमन बन्द गरिएको उनले बताए ।

विराटनगर महानगरपालिकामा सोमबार ९ जनामा कोरोना संक्रमण पुष्टि भएपछि कुल संक्रमितको संख्या २९३ पुगेको छ । संक्रमितमध्ये चार जनाको मृत्यु भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment