News Summary
Generated by OK AI. Editorially reviewed.- अमेरिकाको कोलोराडोमा सम्पन्न पहिलो हिमालयन ओपन गल्फमा रिजुल कार्की समग्र ग्रस च्याम्पियन र अभि झा समग्र नेट च्याम्पियन बनेका छन्।
- अगस्ट ८ र ९ मा भएको प्रतियोगितामा नेपाल र हिमालय क्षेत्रका प्रवासी समुदायका १०० भन्दा बढी गल्फर सहभागी भएका थिए।
- आयोजकले हिमालयन ओपनलाई वार्षिक प्रतियोगिता बनाउने र २०२८ संस्करण नेपालमै आयोजना गर्ने लक्ष्य राखेको छ।
६ भदौ, काठमाडौं । अमेरिकाको कोलोराडो राज्यस्थित रेड हक रिज गल्फ कोर्समा सम्पन्न पहिलो हिमालयन ओपन गल्फ प्रतियोगितामा रिजुल कार्की समग्र ग्रस च्याम्पियन र अभि झा समग्र नेट च्याम्पियन बनेका छन् ।
अगस्ट ८ र ९ मा आयोजित प्रतियोगितामा नेपाल र हिमालय क्षेत्रका प्रवासी समुदायका १०० भन्दा बढी गल्फर सहभागी भएका थिए । नेपाली तथा हिमालयन समुदायलाई गल्फमार्फत जोड्ने उद्देश्यसहित पहिलोपटक आयोजना गरिएको प्रतियोगितामा दर्ता एक महिनाअघि नै बन्द गर्नुपरेको आयोजकले जनाएको छ ।
डेनभरका नेपाली गल्फरहरूको पहलमा सुरु भएको हिमालयन ओपनले अनुभवी खेलाडीसँगै युवा पुस्तालाई पनि एउटै मञ्चमा ल्याएको थियो। प्रतियोगितामा रिजुल कार्की, कश्यप रायमाझी, जैवीर पाण्डे र सुचित शर्माजस्ता युवा खेलाडी सहभागी थिए ।
महिलातर्फ नेपालकी शीर्ष वरीयताप्राप्त एमेच्योर गल्फर प्रतिमा शेर्पा, रिहाना भण्डारी, समारा पाण्डे र श्रिया शर्माले पनि प्रतिस्पर्धा गरेका थिए ।
दुई दिने प्रतियोगितामा ग्रस र नेट दुवै विधामा प्रतिस्पर्धा भएको थियो । कुल ४१ हजार २०० अमेरिकी डलर पुरस्कार राशी रहेको प्रतियोगितामा कार्कीले उत्कृष्ट समग्र स्कोरसहित ग्रस उपाधि जिते भने ह्यान्डिक्यापअनुसार उत्कृष्ट प्रदर्शन गरेका झाले नेट च्याम्पियन बने ।
आयोजक समितिले हिमालयन ओपनलाई वार्षिक प्रतियोगिताका रूपमा अघि बढाउने लक्ष्य राखेको छ। आगामी संस्करणहरू विभिन्न अमेरिकी सहरमा आयोजना गर्दै अझ धेरै खेलाडीलाई सहभागी गराउने योजना रहेको छ ।
यस्तै, प्रतियोगिताको २०२८ संस्करण नेपालमै आयोजना गर्ने लक्ष्यसहित तयारी अघि बढाइने आयोजकले जनाएको छ । गल्फको विकाससँगै नेपालका युवा खेलाडीलाई अवसर सिर्जना गर्नु नै प्रतियोगिताको दीर्घकालीन उद्देश्य रहेको आयोजकको भनाइ छ।
प्रतिक्रिया 4