Comments Add Comment

आईपीएलको मुख्य प्रायोजकको लागि बोलपत्र आह्वान

२७ साउन, काठमाडौं । भारतको क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले इन्डियन प्रिमियर लिग (आईपीएल) टी२० क्रिकेट प्रतियोगिताको मुख्य प्रायोजक लागि बोलपत्र आह्वान गरेको छ ।

बीसीसीआईले सोमबार एक विज्ञापन जारी गर्दै यस सिजनको आईपीएलको मुख्य प्रायोजकका लागि बोलपत्र आह्वान गरेको हो ।

भारत-चीन सीमा विवादका कारण यसअघि मुख्य प्रायोजक रहेको चिनियाँ मोबाइल कम्पनी भिभोसँग सम्झौता रद्द गरेपछि बीसीसीआईले आईपीएलको लागि नयाँ प्रायोजक खोजिरहेको छ ।

बीसीसीआईले भिभोसँग २०२२ सम्मको लागि सम्झौता गरे पनि पछिल्लो समय उत्पन्न तनावले गर्दा सम्झौता तोडिएको हो । आईपीएलको मुख्य प्रायोजक वापत भिभोले वार्षिक ४ सय ४० करोड भारतीय रुपैयाँ बीसीसीआईलाई उपलब्ध गराउँदै आएको थियो ।

बीसीसीआईले अब नयाँ प्रायोजक अधिकारका लागि अगष्ट १४ सम्ममा इच्छुक कम्पनीले आवेदन दिनु पर्ने जनाएको छ । यस्तै आईपीएलको मुख्य प्रायोजक बन्न दावी गर्ने कम्पनीले कम्तिमा ३ सय करोड भारु भन्दा माथिको कारोबार हुनुपर्ने बीसीसीआईले जनाएको छ ।

बीसीसीआईले मुख्य प्रायोजक अधिकार यस वर्ष अगस्ट १८ देखि डिसेम्बर ३१ सम्म मात्र रहनेसमेत जनाएको छ ।

भिभोसँग सम्झौता तोडेपछि नै अन्य विभिन्न कम्पनीले आईपीएलको मुख्य प्रायोजक बन्न चासो देखाइरहेका छन् । कोकाकोला, जिओ, बाइजु, ड्रिम ११ जस्ता कम्पनीको नाम मुख्य प्रायोजकको लागि अघि छ । यस्तै पछिल्लो समय रामदेवको पतन्जलीले पनि आईपीएलको मुख्य प्रायोजक बन्ने चासो देखाएको छ ।

कोरोना भाइरस महामारीले गर्दा यस सिजन तोकिएको मितिमै आईपीएल हुन नसकेको हो । भारतमा अहिले कोरोना संक्रमण बढिरहेकाले १३औं सिजनको आईपीएल सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म युएईमा हुने तय भएको छ । भारत सरकारले पनि युएईमा आईपीएल गर्न अनुमति दिइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment