Comments Add Comment

फिलिपिन्सका राष्ट्रपतिद्वारा रुसले बनाएको कोरोनाविरुद्धको खोपप्रति विश्वास व्यक्त

२७ साउन, काठमाडौं । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले रुसले निर्माण गरेको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपमा आफूलाई विश्वास रहेको बताएका छन् । उनले यो खोपको परीक्षणको हिस्सा आफू पनि बन्ने बताएका छन् । साथै उनले रुसले खोप आपूर्तिको लागि गरेको प्रस्ताव पनि स्वीकार गरेका छन् । प्रस्तावअनुसार आउने खोप निःशुल्क हुन सक्ने अपेक्षा छ ।

रुसले यस महिना कोरोना भाइरसविरुद्धको खोपले नियामकबाट अनुमति पाउने अपेक्षा गरेको छ । साथै रुसले यो खोप फिलिपिन्सलाई प्रदान गर्न तयार रहेको बताइसकेको छ ।

फिलिपिन्समा अहिलेसम्म कोरोना भाइरसका एक लाख ३६ हजारभन्दा धेरै कोरोना भाइरसका संक्रमित फेला परिसकेका छन् । यस्तो अवस्थामा सोमबार टेलिभिजनमा सम्बोधन गर्दै रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई कोरोना भाइरस नियन्त्रणको लागि रुसले गरेको अनुसन्धानमा आफ्नो विश्वास रहेको बताएका हुन् । उनले रुसले बनाएको खोप समग्र मानव जातिको लागि वास्तवमा नै राम्रो कुरा रहेको उल्लेख गरेका छन् ।

यद्यपि रुसले निर्माण गरेको खोपको विषयमा विभिन्न किसिमको आशंका उत्पन्न भएको छ । अहिले कोरोना भाइरसविरुद्धको खोप निर्माणको लागि रस्साकस्सी चलिरहेको अवस्थामा रुसले आवश्यक परीक्षण नगरेको आशंका गरिएको छ । केही समयअघि विश्व स्वास्थ्य संगठनले पनि रुसले निर्माण गरेको खोपप्रति सतर्क रहनु आवश्यक रहेको बताएको थियो ।

यसैबीच रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सामाजिक सञ्जालमा अबको केही दिनमा रुसले बनाएको कोरोनाविरुद्धको खोप दर्ता हुन गइरहेको बताएका छन् । उनले रुसका वैज्ञानिकहरुले खोप परीक्षणको लागि आवश्यक चरण पार गरेको बताएका छन् । साथै यो खोप प्रभावकारी रहेको दाबीसमेत गरेका छन् । उनले कुनै समय सोभियतको स्याटेलाइटले विश्वलाई अन्तरिक्षमा पहुँच पु¥याएको भन्दै अब कोभिड–१९ नियन्त्रणको लागि पनि रुस खोपले सघाउने बताएका छन् ।

स्रोत : रोयटर्स

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment