Comments Add Comment
गोंगबु प्रकरणको नालीबेली :

अवैध सम्बन्धले निम्त्याएको फिल्मी शैलीको हत्या !

२७ साउन, काठमाडौं । आइतबार विहानै गोंगबुको नवज्योति मार्गमा फालिएको सुटकेसमा टाउको र खुट्टा नभएको शव भेटियो । त्यसको करिव ३०० मिटर पर टाउको र खुट्टा भएको जेब्रा झोला प्रहरीको तालिम प्राप्त कुकुर जोजोले भेट्टायो ।

मृतकको पहिचान त भएको थिएन, तर शवको प्रकृति हेर्दा निरन्तर हतियार चलाएका व्यक्ति हत्यामा संलग्न हुनसक्ने प्रहरीको अनुमान थियो ।

जब मृतकको पहिचान भयो, चितवनबाट कल्पना मुडवरी पौडेल पक्राउ परिन् । प्रहरीले उनको विवरण तत्काल सार्वजनिक गरेन, किनकी हत्यामा अरु पनि संलग्न हुनसक्छन् र पौडेलबाट सूचना लिएर उनलाई पक्राउ गर्न सकियोस् भन्ने प्रहरीको अपेक्षा थियो ।

तर पौडेलसँगै उनका छोराछोरीको बयान, घटना भएको कोठाबाट बरामद भएका दसी प्रमाण, कल डिटेल रेकर्ड (सीडीआर) लगायत सबैले घटनामा उनको मात्र संलग्नता देखिएको छ ।

घटनाको अनुसन्धानमा संलग्न एक अधिकृत भन्छन्, ‘जुन प्रकृतिले हत्या भएको छ, त्यसमा उनको मात्र संलग्नता विश्वास गर्न गाह्रो थियो । तर पौडेलको बयानले हामीलाई नै चकित बनाइदियो ।’

काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवाली भन्छन्, ‘यो अपराधको कथा भारतीय सिरियल क्राइम पट्रोल, डायल १०० हरुमा देखाइने घटना जस्तै छ ।’

अपराधस्थलमा पौडेल र दुई छोराछोरीबाहेक अरुको उपस्थिति हुनसक्ने आधार नभेटेपछि प्रहरीले मंगलबार अभियुक्तलाई सार्वजनिक गरेको छ ।

उनीसँगै १५ वर्षीया छोरी पनि पक्राउ परेकी छन् । तर नाबालिका भएकाले उनलाई सार्वजनिक गरिएको छैन । एसएसपी ज्ञवालीका अनुसार उनले शव व्यवस्थापनमा आमालाई सघाएकी छन् । सँगै रहेको छोरा उनीभन्दा कम उमेरका छन् भने घटनाबारे कुनै जानकारी छैन ।

हत्या भएको गोंगबुस्थित घर ।

खानपिन गर्न बोलाएर हत्या

अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी दीपक थापाकाअनुसार ज्यान गुमाउने बोहरा गत मंसिर महिनादेखि मित्रनगरस्थित नर्सिङधाम गेस्ट हाउसमा बस्दै आएका थिए ।

होटलका सञ्चालक दीपेन्द्र छत्कुलीका अनुसार बोहरा शनिबार अपरान्ह त्यहाँबाट निस्किएका थिए । ‘बल्ल एक जना मान्छे भेटेको छु, एक/दुई दिन नआउन पनि सक्छु भन्दै निस्किनु भएको थियो’, उनले अनलाइनखबरसँग भने, ‘मोबाइल स्वीच अफ पनि हुनसक्छ भनेकाले मैले पनि फोन गरेको थिइन ।’

मृतकको तस्वीर सार्वजनिक गरिएपछि उनैले प्रहरीलाई फोन गरेर बोहरा आफ्नो होटलमा बस्ने गरेको बताएका थिए । कोठामा खनतलासी लिँदा नागरिकता लगायतका कागजात बरामद भएकाले मृतकको सनाखत भएको थियो ।

प्रहरी स्रोतका अनुसार होटलबाट निस्किएका उनी गोंगबुको नवज्योति मार्गस्थित पौडेलको कोठामा साँझ ५ बजेतिर पुगेका थिए । क्लोज सर्किट (सीसी) क्यामरामा उनी पौडेलको कोठा भएको घरमा छिरेको समय र दृश्य कैद भएको छ ।

एसएसपी थापाका अनुसार उनलाई पौडेलले खानपिनका लागि भनेर बोलाएकी थिइन् । पौडेलले तीन वटा कोठा भाडा लिएर बसेकी थिइन्, जसमध्ये एउटा कोठामा बोहरा र पौडेल थिए भने अर्कोतिर छोरी र छोरा टिभी हेरेर बसेका थिए ।

शनिबार दुबैले भोड्का रक्सी, दही, च्यूरा लगायत खाए । खानपिनका क्रमा बोहरालाई दिएको दहीमा भने पौडेलले ५ वटा स्लीपिङ ट्याब्लेट हालिदिएकी थिइन् । पौडेल आफैं डिप्रेसनको रोगी भएकाले दैनिक एउटा ट्याब्लेट खाएर सुत्ने गरेकी थिइन् । त्यही उनले बोहरालाई दहीमा मिसाएर दिइन् ।

अपराधमा प्रयोग भएका हतियार र अन्य प्रमाण ।

अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार केही समयपछि स्लीपिङ ट्याब्लेटको असर देखिन थाल्यो । जब बोहरा लठ्ठिएर लडे, पौडेलले अण्डकोषमा हम्मरले प्रहार गरिन् । त्यसपछि आफ्नो सलले घाँटी थिचेर हत्या गरेको पाइएको अनुसन्धान अधिकृतहरु बताउँछन् । बोहराको मृत्यु भएको यकीन भएपछि पौडेल शव व्यवस्थापनतिर लागिन् । शवलाई शौचालयमा लगेर दाउले टाउको र दुवै खुट्टा पनि काटेको उनले बयान दिएकी छन् ।

एसएसपी ज्ञवालीका अनुसार यतिञ्जेल छेऊमा रहेका छोराछोरीलाई केही पनि थाहा छैन । प्रहरीका अनुसार पौडेलले टाउको र खुट्टाविनाको शव सुटकेसमा राखेर राति ११ बजेतिर घरबाट करिब ५० मिटर अगाडि सडकको बायाँ किनारमा फ्यालिन् । बोहराको टाउको र खुट्टा भएको जेब्रा झोला फाल्न लैजाने क्रममा पानी पर्‍यो । त्यसबेला भने उनले छोरीको सहयोग लिएको पाइएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी सोमेन्द्रसिंह राठौरले बताए ।

घटनाबारे जानकारी पाएर पनि प्रहरीलाई खबर नगरेको अभियोग छोरीमाथि छ । अनुसन्धान अधिकृतका अनुसार आमाछोरी घरबाट निस्किँदा राति १ बजिसकेको थियो । झोला फालेर फर्किएका उनीहरु कोठामा सुतेको पाइएको छ ।

भाग्नलाई पहिल्यै तयार थियो एम्बुलेन्स

अनुसन्धानमा संलग्न अधिकृतका अनुसार आइतबार बिहान ७ बजे प्रहरीले शव बरामद गरेको पौडेलले थाहा पाइसकेकी थिइन् । घरको छतबाट शव बरामद स्थल देखिने भएकाले प्रहरीको बाक्लो परिचालन देख्न उनलाई गाह्रो थिएन ।

प्रहरीले केन्द्रीय कुकुर तालिम केन्द्रबाट विशेष तालिम प्राप्त कुकुर जोजोलाई ल्याएपछि भने उनी डराएकी थिइन् । उनले बयानमा भने अनुसार कुकुर घरै अगाडिबाट हिँडेपछि आमाछोरी दुवै अताल्लिएका थिए । तर कुकुर घरभित्र प्रवेश गरेन । अर्को झोला भएको स्थानतिर गयो । एक अनुसन्धान अधिकृत भन्छन्, ‘पानी परेकाले घरमा ट्याक बिग्रिएकाले कुकुर त्यता नगएको हुनसक्छ ।’

कुकर घरमा नआएपछि पौडेलले राहतको सास फेरिन् । रातभर अनिँदो भएकाले दिनभर कोठामै सुतिन् ।

घरवेटीलाई शुक्रबारै माइत जाने भनेर खबर गरेकी थिइन्, चितवनबाट आउँदा प्रयोग गरेको एम्बुलेन्सलाई पनि बोलाइसकेकी थिइन् । प्रहरी स्रोतका अनुसार एम्बुलेन्स विरामी लिएर काठमाडौं आएको थियो । उनी र छोरी त्यसैमा छढेर चितवन गएकी थिइन् । एम्बुलेन्स चालकलाई पक्राउ गरेर सोधपुछ गरेपनि उनको संलग्नता नदेखिएपछि कागज गराएर छोडिएको प्रहरी स्रोत बताउँछ ।

यो पनि पढ्नुहोस ‘जोजो’ले भेट्यो गोंगबुमा बरामद शवको टाउको

अवैध सम्बन्धपछि ब्ल्याकमेलिङ

अनुसन्धानमा संलग्न अधिकृतले बताए अनुसार पौडेलसँग मृतकको अवैध सम्बन्ध थियो । पौडेलका श्रीमान विदेशमा छन् र, पछिल्लो समय राम्रो सम्बन्ध छैन ।

मृतक बोहरा विदेशबाट फर्किएका व्यक्ति हुन् । दुई जनासँग विवाह गरे पनि डिभोर्स भइसकेको थियो । करिब दुई/तीन वर्षअघि फेसबुकमार्फत चिनजान भएका दुबै नजिकिए ।

तर पछिल्लो समय बोहराले फेसबुकमा आफ्नो फेक प्रोफाइल बनाएर विभिन्न पुरुषसँग कुराकानी गर्ने, गोप्य तस्वीरहरु पठाइदिने गरेको पौडेलले बयानमा बताएकी छन् । ‘पछिल्लो समय फोटो सार्वजनिक गरिदिन्छु भनेर ब्ल्याकमेल गर्ने र सम्बन्ध राख्ने गरेको पाइएको छ’, अनुसन्धानमा संलग्न एक अधिकृतले अनलाइनखबरसँग भने, ‘बोहराको क्रियाकलापबाट आजित भएको उनको बयान छ ।’

बोहराले छोरीलाई पनि राम्रो नजरले नहेरेका कारण शव व्यवस्थापनमा आमालाई सहयोग गरेकी हुनसक्ने अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरुले बताएका छन् ।

तस्वीरहरुः आर्यन धिमाल/चन्द्रबहादुर आले-अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment