Comments Add Comment
बाग्लुङ अस्पतालको कथा :

जब ‘फ्रन्ट लाइनर’ नर्समै कोरोना संक्रमण देखियो

संक्रमित नर्सले नै हेर्दै थिइन् अस्पतालका बिरामी

२८ साउन, काठमाडौंं । सोमबार धौलागिरि अञ्चल अस्पताल बागलुङका दुई स्वास्थ्यकर्मीमा सोमबार कोरोना संक्रमणको पुष्टि भएपछि उनीहरुलाई अस्पतालकै आइसोलेसनमा राखिएको छ ।

दुईमध्ये एकजना आइसोलेसनका संक्रमित र क्वारेन्टिनमा ड्युटी गरिरहेकी बागलुङ नगरपालिका-४, कुँडुलेकी स्टाफ नर्स हुन् । सो अस्पतालमा १४ जना कोरोना संक्रमित उपचाररत थिए । कोरोना परीक्षणको रिपोर्ट आउँदा यी नर्स भने बिहानको ड्युटी सकेर घरमा आमाबाबुसँगै बसिरहेकी थिइन् ।

एक हप्तादेखि धौलागिरि बहुमुखी क्याम्पसमा सञ्चालित प्रि-आइसोलेसनमा ड्युटी गरिरहेकी स्टार्फ नर्समा कोरोना संक्रमण देखिएको हो । उनको ड्युटी क्याम्पसमा भए पनि अस्पताल आउजाउ गर्नुपर्ने काम भने परिरहन्थ्यो ।

क्याम्पसमा खटिएकी नर्सलाई कोरोना पुष्टि भएपछि २४ साउनमा अस्पतालका सबै स्वास्थ्यकर्मीको नमूना संकलन गरी पीसीआर परीक्षणको प्रयोगशालामा पठाइयो । सो परीक्षणको रिपोर्ट सोमबार साँझ मात्र आइपुग्यो, जसमा दुईजना स्वास्थ्यकर्मीको रिपोर्ट पोजेटिभ थियो ।

सोमबार साँझबाट आइसोलेसनमा रहेकी संक्रमित नर्सले अनलाइनखबरसँग भनिन्, ‘आइसोलेसनमा संक्रमितको उपचारमा खटिएपछि अन्य वार्डको बिरामी हेरिरहेकी थिएँ ।’

यो जनस्वास्थ्य दृष्टिबाट हेर्दा अस्पताल प्रशासनको गम्भीर खेलवाड हो ।

****

संक्रमित नर्स विगत एक वर्षदेखि अञ्चल अस्पतालमा करार कर्मचारीका रुपमा काम गर्दै आइरहेकी छिन् । धौलागिरि अस्पताल आउनुअघि आफूले निजी अस्पतालमा काम गर्ने गरेको उनी बताउँछिन् ।

नेपालको तेस्रो संक्रमित अंशु सापकोटाको पनि धौलागिरि अञ्चल अस्पतालमै उपचार भएको थियो । अहिले संक्रमित भएकी नर्स त्यतिबेलादेखि नै संक्रमितको उपचारमा खटिएकी थिइन् ।

‘शुरुमा संक्रमितसँग जाने भन्ने कुराले निकै डर लागेको थियो’, उनी भन्छिन्, ‘पीपीईसहित संक्रमितको कोठामा प्रवेश गरेपछि भने सबै डरहरु हराए ।’

बिस्तारै कोरोना संक्रमको संख्या बढ्दै गयो । उनको जिम्मेवारी पनि बढ्न थाल्यो । संक्रमित नर्स भन्छिन्, ‘संक्रमितको उपचारमा काम गर्ने हाम्रो टिम नै बनेको थियो । पछिल्लो समय हामी तीनजना नर्स आइसोलेसनमा रहेका संक्रमितहरुको उपचारमा खटिएका थियौँ ।’

शुरुमा बिरामी आएपछि उनीहरुको टिमले रिसिभ गर्नुपर्‍थ्यो। बिरामीलाई नशाबाट औषधी दिनुपर्‍थ्यो । बेसलाइन इन्भेस्टिकेसनका लागि संक्रमितको रगत पनि लिनु पर्‍थ्यो । ज्वरोदेखि रक्तचापसम्म नियमित परीक्षण गर्नुपर्‍थ्यो । उनी भन्छिन्, ‘बिहान एकपटक र साँझ एकपटक संक्रमितकहाँ पुग्नै पर्‍थ्यो ।’

पछिल्लो समय त ज्वरो भएका संक्रमितहरुको पनि परीक्षण गर्नुपरेको बताउँदै उनले थपिन्, ‘सबै सावधानी अपनाएर संक्रमितसँग पुग्ने भएकाले पछि–पछि डर लाग्न छाडिसकेको थियो, अभ्यस्त नै भइयो ।’

पछिल्लो दुई हप्तादेखि भने उनी अस्पतालमै बस्दै आएकी थिइन् । संक्रमितको उपचारमा खटिन्थिन् अनि अस्पतालकै क्वारेन्टिनमा बस्थिन् । दुई हप्ता अस्पतालमै बसेर ड्युटी गरेपछि उनी घर पुगिन् । तर, एकहप्ता पनि घरमा नबसी उनलाई पुनः अन्य वार्डको ड्युटीमा फर्काइयो ।

अरुबेला छिमेकीले ‘कोरोना लिएर आइस् कि क्या हो, टाढै बस्’ भन्दै आत्मबल कमजोर बनाएको ती नर्सले सम्झिइन् । त्यसैले उनी अस्पतालमै फर्किइन्

क्याम्पसको प्रि–आइसोलेसनमा रहेका स्वास्थ्यकर्मीलाई कोरोना पोजेटिभ देखिएपछि भने उनको मनमा पनि चिसोे पसेको थियो । २४ साउनमा अस्पतालका सबै कर्मचारीको स्वाब पीसीआर परीक्षणका लागि पठाइयो । तर, संक्रमित नर्स भने अन्य वार्ड (इनडोर) का बिरामीको उपचारमा खटिइरहेकी थिइन् ।

दुर्भाग्य, सोमबार साँझ उनकै रिपोर्ट पोजेटिभ आइपुग्यो । त्यो दिन भने उनी बिहानको ड्युटी सकेर घरमा बेलुकीको खाना पकाउँदै थिइन् । घरमा उनीसँगै बाबा र आमा थिए ।

उनमा कोरोना पोजेटिभ रिपोर्ट आएको खबरले अस्पतालमा सनसनी मच्चायो । तर, उनको क्लोज कन्ट्याक्टमा आएका स्टाफ र बिरामीलाई कसरी व्यवस्थित गर्ने भन्ने कुरा अस्पताल प्रशासनले सोचेकै थिएन ।

संक्रमित नर्सकी साथीको तनाव

संक्रमितसँगै काम गरिरहेकी अर्की स्टाफ नर्सले भनिन्, ‘इभिनिङ ड्युटी सकेर साढे सात बजेतिर घर फर्कदै थिएँ । अस्पतालकी दिदीले फोन गरेर आइसोलेसनमा सँगै ड्युटी गरेको साथीलाई संक्रमण भएको खबर सुनाउनुभयो । म संक्रमित बिरामीहरुको त्यति क्लोज कन्ट्याक्टमा त थिइनँ । तर, निकै डर लाग्यो । आत्तिएर घर जानु कि अस्पताल फर्किनु भन्ने दोधारमा परेँ ।’

भलै उनको पीसीआर रिपोर्ट भने नेगेटिभ आयो । तर, साथीमा संक्रमण देखिएकाले उनलाई घर जान डर लाग्यो । घरमा वृद्ध हजुरबुवा पनि थिए ।

‘यसै पनि कोभिडपछि हामीलाई समाजले फरक ढंगको व्यवहार गर्ने गर्छ’, उनले भनिन्, ‘थाहा पाएपछि घर जानु र थाहा नपाउँदै जानुमा त धेरै फरक पर्छ नि !’

अरुबेला छिमेकीले ‘कोरोना लिएर आइस् कि क्या हो, टाढै बस्’ भन्दै आत्मबल कमजोर बनाएको ती नर्सले सम्झिइन् । त्यसैले उनी अस्पतालमै फर्किइन् ।

अस्पतालमा लठीभद्र !

तर, अस्पतालमा क्लोज कन्ट्याकमा आएका स्टाफहरुलाई व्यवस्थापन गर्नेबारे योजना नै बनेको थिएन । साढे १० बजेसम्म पनि यसको कुनै टुंगो लागेन । स्टाफहरु छट्पटिए । अनि चाउचाउ र फ्रुटी खाएर अस्पतालकै क्वारेन्टिनमा सबैजना बसे, सुते ।

अहिले क्वारेन्टिनमा करिव ९ जना स्वास्थ्यकर्मी छन् । उनीहरु दुरी त मेन्टेन गरेर बसेका छन्, तर, शौचालय भने साझा नै छ ।

मंगलबार बिहान अबेरसम्म उनीहरुलाई खानाको समेत व्यवस्था भएन । शारीरिक र मानसिक तनाबको चपेटामा परे उनीहरु । संक्रमित नर्सकी साथी भन्छिन्, ‘साढे १२ बजेतिर भने खाना लिएर आउनुभयो, अबचाहिँ राम्रै व्यवस्था हुन्छ होला ।’

अहिले अस्पतालको इमरजेन्सीबाहेक अरु सेवा बन्द छ । आइसोलेसनमा रहेकी संक्रमित नर्स भन्छिन्, ‘संक्रमण भए पनि त्यति ठूलो डरचाहिँ छैन । किनकि, कसै न कसैलई त यो रो लाग्छ नै । तर, मेरा कारणले अरु पनि धेरैलाई संक्रमण फैलिन्छ कि भन्ने डर भने लागेको छ ।’

रिपोर्ट आउनुअघि बिरामीको उपचारमा खटिएको भएकाले पनि उनलाई यस्तो डर हुनु स्वाभाविक हो । आफ्नै आमा–बाबाको चिन्ताले पनि सताएको छ उनलाई । आमा–बाबाको पीसीआर परीक्षण नहुँदासम्म उनीबाट यो डर हट्नेवाला छैन ।

संक्रमित नर्सका आमा–बाबा होम क्वारेन्टिनमै छन् । उनी भन्छिन्, ‘क्वारेन्टिनमा बसेको सात/आठ दिनपछि मात्र परीक्षण गरेपछि राम्रो हुन्छ भनेर अहिले उहाँहरुको नमूना संकलन गरिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment