+

२०औं एसियन गेम्स : खुम्चिएको तेक्वान्दो र अभिषेकको आशा

२०८३ साउन  ३० गते १८:५५ २०८३ साउन ३० गते १८:५५

पछिल्लो समयमा त्यही सफल खेल तेक्वान्दो खुम्चिएको छ । कतै हराएको जस्तो भएको छ । तेक्वान्दोका स्टार वा नाम चलेका खेलाडीहरू पनि छैनन् । अहिले पूरा नेपाली खेलकुदको चर्चा गर्दा पनि तेक्वान्दो कति नम्बरमा पुगेको छ भनेर हेर्नुपर्ने अवस्था छ ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जापानमा हुने २०औं एसियन गेम्सका लागि तेक्वान्दोबाट तीन नेपाली खेलाडी छनोट भएका छन् ।
  • छनोट प्रक्रिया र वरियताको कडाइका कारण तेक्वान्दोमा नेपालको सहभागिता संख्या अघिल्ला संस्करणको तुलनामा निकै घटेको छ ।
  • अभिषेक बराल, युवराज राना र स्वस्तिका तामाङले तेक्वान्दोको साख जोगाउँदै लामो समयदेखिको पदकको खडेरी तोड्ने लक्ष्यका साथ प्रशिक्षण गरिरहेका छन् ।

कुनै बेला तेक्वान्दो नेपाली खेलकुदको शान थियो । तेक्वान्दोका स्टार खेलाडी थिए । अन्तर्राष्ट्रिय स्तरमा ठूलो सफलता हात पार्ने खेलमा पनि तेक्वान्दोकै नाम अघि आउँथ्यो ।

छनोट भएर ओलम्पिक खेल्ने संगिना वैद्य र दीपक विष्टदेखि वर्ल्ड तेक्वान्दो च्याम्पियनसिपमा पहिलो पदक जित्ने विधान लामा, एसियन गेम्समा पहिलो रजत जित्ने सविता राजभण्डारीसम्म तेक्वान्दोका चर्चित खेलाडी हुन् ।

विधान लामाले सन् १९८८ को सोल ओलम्पिकमा डेमोस्ट्रेसन खेलको रुपमा तेक्वान्दोबाटै कांस्य पदक पनि जितेका थिए ।

विधान लामाले सन् १९८७ मा स्पेनको बार्सिलोनामा भएको आठौं वर्ल्ड तेक्वान्दो च्याम्पियनसिपमा पनि नेपालका लागि ऐतिहासिक कांस्य पदक जितेका थिए । उनी विश्वस्तरीय तेक्वान्दो प्रतियोगितामा नेपाललाई पदक दिलाउने पहिलो खेलाडी समेत बनेका थिए ।

यस्तै सन् सन् १९८८ मा दक्षिण कोरियाको सोलमा भएको ओलम्पिकमा प्रदर्शनी खेलको रुपमा समावेश तेक्वान्दोमा लामाले कांस्य जिते । तर त्यो प्रदर्शनी खेल भएकोले पदक भने गणना भएन ।

तेक्वान्दो भन्ने बित्तिकै नेपाली खेलकुदमा अन्तर्राष्ट्रिय स्तरमै सफल खेल र चर्चित खेलाडीहरूको नाम आइहाल्छ ।

संगिना वैद्यले सन् २००४ मा पहिलो पटक छनोट चरण पार गरेर ओलम्पिक खेलेकी थिइन् । दीपक विष्टले पनि छनोट भएर नै २००८ को ओलम्पिक खेले । संगिनाले सन् १९९६ मा मेलवर्नमा भएको एसियन तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी छिन् ।

संगिना वैद्य

तेक्वान्दोकै सविता राजभण्डारीले सन् १९९८ मा एसियन गेम्स रजत जित्दै इतिहास रचिन् ।

दिपक विष्टले एसियन गेम्समा एक पटक होइन लगातार दुई पटक नै पदक जिते । दिपक विष्टले नै दक्षिण एसियाली देलकुदमा लगातार चार संस्करणमा स्वर्ण जितेर अर्को इतिहास रचेका थिए । यस्ता उपलब्धीहरू अनगिन्ती छन् ।

तर पछिल्लो समयमा त्यही सफल खेल तेक्वान्दो खुम्चिएको छ । कतै हराएको जस्तो भएको छ । तेक्वान्दोका स्टार वा नाम चलेका खेलाडीहरू पनि छैनन् । अहिले पूरा नेपाली खेलकुदको चर्चा गर्दा पनि तेक्वान्दो कति नम्बरमा पुगेको छ भनेर हेर्नुपर्ने अवस्था छ । गर्विलो इतिहास बोकेको तेक्वान्दो अहिले संकटमा देखिएको छ ।

एसियन गेम्समा नेपालले हरेक संस्करणमा पदकको आशा गर्ने खेलमा सबैभन्दा अघि आउने खेल तेक्वान्दो नै हुन्थ्यो । तर अहिले समय फेरिएको छ । एसियन गेम्समा तेक्वान्दोको खेलाडी नै नहोला जस्तो अवस्था देखिएको थियो ।

तैपनि जापानमा हुने २०औं एसियन गेम्समा तेक्वान्दोबाट जम्मा ३ खेलाडीले नेपालको प्रतिनिधित्व गर्दैछन् । त्यो पनि सिधै छनोट नभई वरियता र वाइल्ड कार्डको आधारमा मात्र नेपालले अवसर पाएको हो । जसमा ग्योरोगी अर्थात फाइट विधामा एक मात्र खेलाडी अभिषेक बराल छन् भने पुम्सेमा पुरुषतर्फ युवराज राना र महिलातर्फ स्वस्तिका तामाङ छन् ।

८० केजीमुनि तौल समूहमा खेल्ने अभिषेक र पुम्सेकी स्वस्तिकाले १९औं एसियन गेम्स पनि खेलेका थिए र लगातार दोस्रो एसियन गेम्स खेल्ने तयारीमा छन् ।

२०औं एसियन गेम्सका लागि मंगोलियामा भएको छनोटबाट नेपालका कुनै पनि खेलाडी छनोट हुन सकेनन् । तर छनोट प्रतियोगितापछि शीर्ष १६ मा पर्दै अभिषेकले भने आइची नागोयाको टिकट पक्का गरे भने युवराजले पनि त्यसै गरी छानिए । बाँकी स्वस्तिकाले वाइल्ड कार्डको सहारा लिनुपर्‍यो ।

यस पटक एसियन गेम्सका लागि क्वालिफाइङ र वरियताको प्रावधान लागु हुँदा पनि तेक्वान्दो लगायत धेरै खेलमा नेपालको खेलाडी संख्या घटेको छ । जसले गर्दा तेक्वान्दोको खेलाडी झन् धेरै घटे । २०औं एसियन गेम्सका लागि तेक्वान्दोमा नेपालबाट फाइट विधामा ७ खेलाडीले छनोट खेलेका थिए । जसमा पुरुषतर्फ ३ र महिलातर्फ ४ खेलाडी थिए ।

तर त्यसबाट अन्तिममा अभिषेक मात्र एसियन गेम्सका लागि छानिए । यस्तै पुम्सेतर्फ युवराज र स्वस्तिका दुवैले छनोट प्रतियोगिता खेलेपनि स्वत छनोट हुन सकेनन् । पछि वाइल्ड कार्ड मार्फत दुवैले एसियन गेम्सका लागि मौका पाएका हुन् ।

यस पटक छनोटको मापदण्डले गर्दा तेक्वान्दोका खेलाडीहरू सुरुमै असफल भए । जसले गर्दा खेलाडी संख्या कम भयो ।

नेपाल तेक्वान्दो संघका उपाध्यक्ष तथा एसियन गेम्समा व्यवस्थापक हरेका भान बहादुर चन्दले छनोट चरण खेल्नुपर्दा खेलाडी घटेको बताए । ‘यस पटक तेक्वान्दोले छनोट खेल्नुपर्यो । आर्थिक कारणले गर्दा धेरै खेलाडी छनोटमा पठाउन सकिएन’ उनले भने, ‘सिधै खेल्न पाउने अवस्थामा जति धेरै खेलाडी सहभागी भयो उति पदकको सम्भावना धेरै हुन्थ्यो ।’

तेक्वान्दोको साख जोगाउने लक्ष्य

अहिले अभिषेकसँगै तीन खेलाडी २०औं एसियन गेम्सका लागि सातदोबाटोस्थित तेक्वान्दो एकेडेमीको हलमा तयारी गरिरहेको छ । अहिले उनीहरू सामु तेक्वान्दोको साग जोगाउने चुनौती पनि छ ।

अभिषेकलाई अफगानिस्तानी प्रशिक्षक सायद हसन रेजयले प्रशिक्षण दिइरहेका छन् । दुई पुम्से खेलाडीलाई भने नेपाली प्रशिक्षकले नै सिकाइरहेका छन् । उनीहरूका लागि अन्य नेपाली खेलाडीहरू स्पायरिङ पार्टनरको रुपमा छन् । यस्तै पारा तेक्वान्दोमा पनि दुई खेलाडीले पाँचौ एसियन पारा गेम्समा प्रतिस्पर्धा गर्नेछन् ।

सम्वृद्ध इतिहास बोकेको तेक्वान्दोबाट एसियन गेम्स र पारा एसियन गेम्स दुवैमा गरेर जम्मा ५ खेलाडी मात्र सहभागी हुँदैछन् ।

त्यसमध्ये फाइट विधामा एक्लो खेलाडीको रुपमा रहेको र इतिहास बोकेको तेक्वान्दोबाट एसियन गेम्समा राम्रो प्रदर्शन गर्नु आफ्नो जिम्मेवारी रहेको अभिषेक बताउँछन् । ‘यो मेरो लागि ठुलो जिम्मेवारी हो । फाइटमा एक जना मात्र भएकोले सबै जिम्मेवारी मै माथि छ । त्यही अनुसार तयारी गरिराछु र नतिजा पनि राम्रो आउँछ भन्ने म आशा गर्छु ।’ अभिषेकले अनलाइनखबरसँग भने ।

अभिषेकले अन्य अपोनेन्टहरूले पनि राम्रो तयारी गर्ने र चुनौती भने हुने बताए । ‘प्रदर्शन आफैँमाथि भर पर्छ । बेस्ट दिने आफैँले हो । अरुले पनि राम्रो तयारी गरिरहेको हुन्छ । आफूमा कन्फिडेन्स भयो भने अरु पनि आफू जस्तै लाग्छ र राम्रो दिन सकिन्छ ।’

अहिले अफगानिस्तानको प्रशिक्षक आएपछि त्यसले फरक पारेको अभिषेकको अनुभव छ ।

‘विदेशी प्रशिक्षक आएपछि लेभल चेन्ज भइसक्यो पहिलाको भन्दा । सुधार भइरहेको छ । अझै छिटो सुधार गर्नुपर्‍यो भन्ने मलाई लागेको छ र त्यसका लागि हामी लागिरहेका छौं ।’

तेक्वान्दो संघका उपाध्यक्ष चन्दका अनुसार अफगानिस्तानी प्रशिक्षकले विगत डेढ वर्षदेखि नेपाली टिमलाई प्रशिक्षण दिइरहेका छन् । खेलाडीमा पनि सुधार आइरहेको र यसको प्रभाव केही समयपछि देखिने चन्दले बताए ।

अभिषेके अहिले आफ्नो बलियो पक्षलाई अझ बलियो बनाउँदैछन् भने कमजोर पक्षहरूलाई केलाएर त्यसमा सुधार गर्ने प्रयास गरिरहेका छन् । ‘अलीकति गेम म्यानेजमेन्टमा कमजोरी छ । त्यसमा कोचले काम गरिरहनुभएको छ र सुधार पनि आएको छ ।’

हाल नेपाल पुलिस क्लबमा आबद्ध रहेका उनले एसियन गेम्समा पदक नै जित्ने लक्ष्य राखेका छन् । ‘मेरो लक्ष्य त मेडल नै हो । अझै केही कमजोरी आफूमा छ त्यसमा सुधार गर्न सक्यो भने झन् राम्रो हुन्छ’ उनले भने, ‘पदककै टार्गेट राखेर दिनरात तयारी गर्‍यो भने झन् कन्फिडेन्स आउँछ र कमजोरी सुधार गरे राम्रो हुन्छ ।’

रुपन्देही भैरहवाका अभिषेक अहिले नेपाल पुलिस क्लबसँग आबद्ध छन् । उनले सानोमा ब्रुस लि ज्याकी च्यानको मुभीहरू हेरेर मार्सल आर्ट्स सिकेका थिए । घर नजिकै तेक्वान्दो खेलहरू हुने भएकोले उनले पनि त्यही खेल रोजे । रुपन्देहीमा प्लस टु सकाएपछि काठमाडौं आएका उनी विभागीय टोली नेपाल पुलिस क्लबमा अनुबन्ध भए ।

२०७९ सालमा गण्डकी प्रदेशमा भएको नवौँ राष्ट्रिय खेलकुदमा स्वर्ण जितेपछि अभिषेकले राष्ट्रिय टिममा स्थान बनाए । त्यसयपछि उनले २०२३ मा चीनको हान्झाउमा भएको १९औं एसियन गेम्स खेले । अन्य र्‍याङ्किङ गेमहरू पनि खेले । उनले सन् २०२४ मा इन्डोनेसियामा भएको कासाद छैटौं एसियन तेक्वान्दो ओपन च्याम्पियनसिपमा रजत जितेका थिए ।

यस्तै २०२५ मा उनले चार अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाए । उनले वर्ल्ड तेक्वान्दोमा हान्मादाङ, जर्मनीमा भएको फिसु वर्ल्ड युनिभर्सिटी गेम्स, चीनको उक्सीमा भएको वर्ल्ड तेक्वान्दो ग्रान्डस्लाम च्याम्पियनसिप र वक्सीमै भएको वर्ल्ड तेक्वान्दो च्याम्पियनसिप खेलेका थिए ।

अभिषेकसँगै पुम्सेका दुई खेलाडी पनि राम्रो रहेकोले पदकको सम्भावना रहेको संघका उपाध्यक्ष चन्दले बताए । ‘अभिषेकसहित पुम्सेका खेलाडीबाट पनि पदकको सम्भावना छ’ उनले भने ।

युवराज र स्वस्तिकाले इन्डोनेसियामा गेम खेलेर आएको र तयारी पनि भएको चन्दले बताए ।

समृद्ध विगत खुम्चिएको वर्तमान

एसियन गेम्सको इतिहासमै सबैभन्दा धेरै पदक जित्ने र सफल खेल नै तेक्वान्दो हो । एसियन गेम्समा नेपालले अहिलेसम्म जितेको कूल २६ पदक मध्ये आधा भन्दा धेरै पदक तेक्वान्दोले नै जितेको छ भने ३ रजत मध्ये एक रजत पनि तेक्वान्दोको नाममा छ ।

नेपालले एसियन गेम्समा जितेको पहिलो रजत पनि तेक्वान्दोकै सविता राजभण्डारीले जितेकी थिइन् । त्यसबाहेक तेक्वान्दोले १३ कांस्य जितेको छ ।

अर्को रमाइलो प्रसंग नेपालले एसियन गेम्समा जितेको पहिलो पदक नै तेक्वान्दोबाटै थियो । सन् १९८६ को सोल एसियन गेम्समा विधान लामाले नेपाललाई कांस्य पदक दिलाएका थिए । त्यस संस्करणमा नेपालले तेक्वान्दो र बक्सिङबाट ४-४ कांस्य जितेको थियो ।

सन् १९८६ मा पदक जितेको तेक्वान्दोले १९९० मा भने पदक जित्न सकेन । तर १९९४ देखि २००६ सम्म लगातार चार संस्करणमा तेक्वान्दो छाएको थियो । सन् ८० र ९० को दशकसँगै सन् २००० को दशमा पनि तेक्वान्दोमा नेपालले राम्रो उपलब्धी हासिल गरेको थियो ।

सन् १९९५ मा तेक्वान्दोका मान बहादुर शाहीले कांस्य जितेका थिए । यस्तै सन् १९९८ मा तेक्वान्दोबाट सविताले रजत जित्दा रजत किशोर श्रेष्ठ र सपना मल्लले कांस्य जिते । त्यसपछि दिपक विष्टको उदय भयो । दिपक विष्टसँगै रेनुका मगर र ऋतु जिमी राईले सन् २००२ को बुसा एसियन गेम्समा कांस्य जिते ।

त्यस संस्करणमा तेक्वान्दोले मात्रै पदक जितेको थियो । सन् २००६ को दोहो एसियाडमा पनि त्यस्तै भयो । दिपक विष्टले लगातार कांस्य जिते भने मनिता शाही र आयशा शाक्यले पनि कांस्य जिते । विष्ट एसियन गेम्समा दुई फरक संस्करणमा पदक जित्ने एक्लो नेपाली खेलाडी समेत हुन् ।

दीपक विष्ट

त्यसयता नेपालले चार संस्करण एसियन गेम्स खेलिसकेको छ तर तेक्वान्दो पदक विहिन छ ।

२०१०, २०१४, २०१८ र २०२२ मा तेक्वान्दोबाट कुनै पनि खेलाडीले पदक दिलाउन सकेनन् ।

पछिल्लो पटक नेपालले सन् २००६ मा दोहामा भएको एसियन गेम्समा तेक्वान्दोबाट ३ पदक जितेको थियो । दिपक विष्टसँगै आयशा शाक्य र मनिता शाहीले त्यसबेला कांस्य पदक जितेका थिए । त्यसपछि भने तेक्वान्दोले एसियन गेम्समा पदक जित्न सकेको छैन । दिपक विष्ट तेक्वान्दो संघको पदाधिकारी प्रशिक्षक हुँदै अहिले राष्ट्रिय टिम तयारीको संयोजक नै बनिसकेका छन् । तर एसियन गेम्समा पदक जित्ने अर्को दीपक भनेन कोही जन्मन सकेको छैन ।

यस पटक त्यो पदकको खडेरी तोड्ने अभियानमा अभिषेक छन् । उनले यसलाई दबाब भन्दा पनि अवसरको रुपमा लिने बताउँछन् । ‘अवसरको रुपमा लिनुपर्छ । १६ वर्ष भइसक्यो पदक नआएको । मेडल ल्यायो भने त्यो खडेरी पुरा हुन्छ । त्यो एक्साइटमेन्टको रुपमा लिन्छु’ अभिषेकले सकरात्मक हुँदै भने, ‘चुनौती त धेरै छ । तर त्यसलाई आफूले प्रेसर लिए प्रदर्शना राम्रो हुँदैन । त्यसलाई अवसरको रुपमा लिएर बेस्ट दिन्छु भनेर गयो भने पक्कै राम्रो हुन्छ ।’

उपाध्यक्ष भान बहादुर चन्दले तेक्वान्दोले पछिल्लो समय राम्रो नतिजा नआउँदा आफूहरू पनि निराश रहेको र यसबाट सचेत भएको बताए । ‘हामी पनि निराश छौं । सचेत भएका छौं । आउने दिनमा कसरी मेडल ल्याउने ? कसरी राम्रो गर्न सकिन्छ भनेर हामी पनि लागिपरेका छौं’ उनले भने ।

अहिले अभिषेक लगायत नयाँ पुस्ताका खेलाडीहरू राम्रो रहेकोले केही समयपछि पदक आउने चन्दले विश्वास राखे । ‘नयाँ पुस्ताका खेलाडीहरू छन् । जुनियर टिमले राम्रो गरिरहेको छ । मेडल नआएपनि विदेशमा हेने गेममा राम्रो प्रदर्शन भइरहेको छ । आउने दिनमा नतिजा देखिन्छ भन्ने आशा छ’ उनले भने ।

२०औं एसियन गेम्स तेक्वान्दो टोली
लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय