+

मेचीनगरलाई दोस्रो झापा १–काठमाडौं कप फुटसलको उपाधि

२०८३ साउन  ३१ गते ८:०१ २०८३ साउन ३१ गते ८:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दोस्रो झापा १–काठमाडौं कप फुटसलको उपाधि साविक विजेता मेचीनगरले शान्तिनगरलाई ३–० गोल अन्तरले पराजित गर्दै रक्षा गरेको छ ।
  • प्रतियोगितामा मेचीनगरका राजदीप अधिकारी उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताको उपाधि ज्यामिरगढीका अनमोल राउतले जितेका छन् ।
  • आयोजित मैत्रीपूर्ण खेलमा राजनीतिकर्मीको टोलीलाई ८–१ गोल अन्तरले पराजित गर्दै कलाकारको टोली विजयी भएको छ ।

३१ साउन, काठमाडौं । दोस्रो झापा १–काठमाडौं कप फुटसलको उपाधि डिफेन्डिङ च्याम्पियन साविक विजेता मेचीनगरले जितेको छ ।

फाइनलमा मेचीनगरले शान्तिनगरलाई ३–० गोल अन्तरले पराजित गर्दै उपाधि रक्षा गरेको हो । मेचीनगरका लागि पात्थुङ्ग नेम्बाङ्ग, राजदीप अधिकारी र प्रतिक सुवेदीले समान एक–एक गोल गरे ।

सेमिफाइनलमा शान्तिनगरले ज्यामिरगढीलाई पेनाल्टी सुटआउटमा १०–९ गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो। अर्को सेमिफाइनलमा मेचीनगरले बाहुनडाँगीलाई २–० गोलले पराजित गरेको थियो।

प्रतियोगितामा झापाका साविक सात गाविस मेचीनगर, दुवागडी, शान्तिनगर, चन्द्रगढी, ज्यामिरगढी, धाइजन र बाहुनडाँगीका टोली सहभागी थिए। पहिलो खेलमा ज्यामिरगढीले चन्द्रगढीलाई ५–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको थियो ।

दोस्रो खेलमा मेचीनगरले धाइजनलाई ७–० गोलले पराजित गरेको थियो भने तेस्रो खेलमा शान्तिनगरले दुवागडीलाई ७–३ गोल अन्तरले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको थियो। सात टोली मात्र सहभागी भएकाले बाहुनडाँगीले वाकओभर पाउँदै सेमिफाइनलमा स्थान बनाएको थियो।

प्रतियोगितामा मेचीनगरका राजदीप अधिकारी उत्कृष्ट खेलाडी घोषित भए। मेचीनगरकै सोनिश श्रेष्ठ उत्कृष्ट गोलकिपर, शान्तिनगरका विमल तोलाङ्गी उत्कृष्ट स्ट्राइकर, मेचीनगरका सागर थापा उत्कृष्ट डिफेन्डर तथा ज्यामिरगढीका अनमोल राउत सर्वाधिक गोलकर्ता बने।

प्रतियोगिताअन्तर्गत कलाकार र राजनीतिकर्मीबीच मैत्रीपूर्ण फुटसल खेलसमेत भएको थियो। उक्त खेलमा कलाकारको टोली ८–१ गोलले विजयी भयो। कलाकारका लागि मिलन खड्काले तीन तथा योगेन्द्र उपाध्याय र प्रशान्त शिवाकोटीले समान दुई–दुई गोल गरे।

कलाकारको टोलीमा चर्चित हास्य कलाकार मनोज गजुरेल, हेमन्त बुढाथोकी, कृष्ण शिवाकोटी, टिका भण्डारी, भानु ढकाल लगायत सहभागी थिए। राजनीतिकर्मीको टोलीमा नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा, नेकपाका रञ्जित तामाङ, नेकपा एमालेएलपी साँवा, राप्रपाका भक्ति सिटौला लगायत सहभागी थिए।

प्रतियोगिताको विजेताले नगद २१ हजार रुपैयाँसहित ट्रफी र मेडल तथा उपविजेताले नगद ११ हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गरे।

काठमाडौं मेडिकल कलेजले प्रतियोगितामा स्वास्थ्यसम्बन्धी सहयोग गरेको थियो। प्रतियोगिताको उद्घाटन नेपाली कांग्रेसका सभापति गगन थापाले गरेका थिए भने विजेता टोलीलाई कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पुरस्कार वितरण गरेका थिए।

झापा १–काठमाडौं फुटसल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय